११ स्थानमा सडक अवरुद्ध, क्षतिग्रस्त पुल निर्माणका लागि विकास समितिको निर्देशन

११ स्थानमा सडक अवरुद्ध, क्षतिग्रस्त पुल निर्माणका लागि विकास समितिको निर्देशन


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हालसम्म १५३ स्थानमा सडक अवरुद्ध भएको, त्यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको बताएका छन् । त्यस्तै, ९३ वटा एकतर्फी चालु अवस्थामा रहेको जानकारी दिएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा उनले सो जानकारी दिएका हुन् । अविरल वर्षाका कारण विभिन्न सडक र पुल क्षतिग्रस्त भएकोले क्षतिको कारण पत्ता लगाउन समितिले निर्देशन दिएको छ ।
 
आइतबार बसेको समितिको बैठकले पुल क्षतिग्रस्त हुनुका कारण पत्ता लगाई यथाशीघ्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले भनिन्, ‘हालै अविरल वर्षाका कारण सिरहा, धनुषा जोड्ने हुलाकी सडकअन्र्तगत कमला नदीमा निर्माणाधीन पुल भासिएको, गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गतको त्रियुगा नदीको पुल जग भासिएर स्ल्याब खसेको छ । ती लगायत पुलको अवस्थाबारे एक साता भित्र छानविन गरेर समितिलाई जानकारी दिन मन्त्रालयलाई निर्देशन दिइएको छ ।’

अरनिको राजमार्ग अन्र्तगत पर्ने विभिन्न सडकखण्ड, नारायणघाट–मुग्लिन सडक खण्डको दीर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी चौबीसै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाई सो क्षेत्रमा बिना अवरोध यातायात सुचारु हुने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

समितिले सरकारलाई बाढी, पहिरोबाट सिर्जित समस्याको समाधान गर्न पूर्व सचेतना कार्यक्रम लगायत बाढी, पहिरो नियन्त्रणसम्बन्धी दीर्घकालीन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । तिनै तहको सरकारसँग समन्वय गरी तत्काल उद्धार, राहत र पुनर्स्थापनाको प्रवन्ध मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समेत समितिको निर्देशन छ ।

Logo