- सरिता अधिकारी
विश्वभर कोरोनाको माहामारी भयो हरेक देशले आफ्नो राष्ट्रको आवश्यकता र परिस्थितिका आधारमा लकडाउन गरे । नेपालले देश भित्र एउटा पनि कोरोना संक्रमित नभेटिकन लकडाउन ग¥यो । विदेशबाट आउनेलाई स्वागत गरियो, नाकामा कडाइ होइन खुकुलो गरियो, कोरोनाको परीक्षण के कसरी गर्ने कहाँ गर्ने भन्ने सम्म पनि वास्ता गरिएन । अनायसैे हचुवा भरमा अन्य राष्ट्रले लकडाउन गरेकै भरमा लकडाउन घोषणा भयो । विना तयारी विना जानकारी । अकस्मात तरिकाले सरकारले लकडाउन घोषणा गरे पछि नेपाली जनताले आफ्नो लागि सामान्य तयारी सम्म पनि गर्न पाएनन् ।
जो जहाँ थिए त्यहिं बस्न बाध्य भए, बाटोमा हिँडेका यात्री त्यहीँ रहन पुगे । उपचारमा गएको मान्छे घर फर्कन पाएनन् जसका कारण धेरै मान्छेहरु बाटोमा बस्न र अन्त्यमा नचाहँदा नचाहँदै सरकारको विरोध गर्दै सडकमा निस्कन वाध्य भए । गन्तव्यसम्म पुुग्नका लागि ऋण गरेरै भए पनि नचाहिंदो भाडा तिरेर हिड्न बाध्य भए । सरकारले यसै बेला सरकारी गाडी, रातो नम्बर प्लेट भएका प्राइभेट गाडी चल्न पाउने बनायो । यसको भरपुर फाईदा हुने खानेले नै लिएका छन् किनकी नेपालमा सामान्य मानिसको साथमा गाडी त के एउटा साइकल सम्म पनि छैन । धनी मानिसले नै गाडी लिएका थिए उक्त गाडी यहि बेलामा दाउ पारी रिजर्भमा लिएर हिंडे मनलाग्दो भाडा उठाए, सायदै गाडी किनेको पैसा उठाए ।
उता एक जिल्लाबाट अर्को जिल्लामा जानलाई पास चाहिने नियम बनायो सरकारले । अनि उक्त पास लिन पनि नेताको या कसै न कसैको माध्यमबाट जानुपर्ने नत्र सामान्य मान्छे आफैं गएर एक्लै पास लिनु त कता हो कता पास पाउने तरिका सम्म कसैले बताई दिएनन् । प्राईभेट गाडीवालाहरुले यात्रुको पास वनाई दिए भाडा धेरै लाग्ने र यात्रुु आफैंले पास बनाएमा भाडा कम लाग्ने भनेर सम्म गाडीवालाहरुले पैसा कमाए । यसरी पास बनाउने पनि विचौलियाहरु निस्किए । कर्मचारीलाई खुवाउनु पदर्छ नखाई काम हुँदैन सरकारी कार्यालयमा भनि हरेक बहानामा सर्वसाधारणबाट पैसा लिए ।
यता जो पास बनाउने फाँटमा छ उसलाई केहि थाहा छैन । चिनजानको मान्छे आउँछ यता माथिल्लो नेता, मन्त्रीको फोन आउँछ नचाहेर पनि कर्मचारी पास दिन वाध्य हुुन्छ । कर्मचारीहरु पनि जानेर, नजानेर, चाहेर नचाहेर फसिरहेका छन् । त्यसैले अवका नयाँ युवा कर्मचारीहरुले यो सरकारी पुरानो प्रवृत्ति वेथितिलाई सुधार्नु पर्छ, यसको लागि ठूलै चुनौती आई पर्न सक्छ । तर देशको प्रशासनिक वेथितिलाई सुधार्नका खातिर जस्तो सुकै अप्ठेरो परिस्थिति आई परे पनि सामना गर्ने ठूलै आँट, त्याग र साहसको खाँचो भने छ ।
के धन सम्पति भएका मान्छेसँग मन हुन्न ? यिनका लागि जहिलै सहजता किन ? हुन त हाम्रो देशको राजनीति पैसाले नै चलेको छ । हिजो निर्वाचनमा कुन धनपतिले आफूलाई सहयोग गरेको छ त्यसको मूल्य उसले यहि बेलामा माग्छ । राजनितिक दलको शक्ति र आडमा आफूलाई सहज हुने खालका निर्णयहरु गराउन लागि पर्दछ । चाहेर पनि त्यो हिजोको हिसाबको मूल्यको कारणले एउटा मन्त्री तथा राजनीतिक दलको नेताले उसको विरुद्धमा गएर काम गर्न सक्दैन र नचाहँदा नचाहँदै मन खुम्च्याउदै भए पनि उसलाई सहयोग पुग्ने निर्णय हुन पुुग्दछ । जनतालाई परेको असर, प्रभाव र समस्याको कुरा यो परिस्थितिमा गौण हुन्छ र सम्भ्रान्त भनिएका पूँजिपतिहरुकै पक्षमा निर्णयहरु हुने गर्दछन् ।
अरु त के कुरा गर्नु कोरोनाको शंका लाग्यो कोरोना छ छैन चेक जाँच गर्न समेत पाईएन । सरकारले जसलाई जाँच गर्ने भन्यो त्यसलाई मात्र जाँच हुन्छ । त्यती मात्र कहाँ हो र अचानक मान्छे वेहोस भएर ढल्छ अस्पताल लैजाँदा मस्तिकमा असर छ । तुरुन्तै जटिल अप्रेशन गर्नु पर्दछ बाँच्ने सम्भावना छ, विरामीको आफन्तले अप्रेशन खर्च सहित अस्पतालमा लाग्ने सम्पुर्ण खर्च डिपोजिट गर्दछन् तर पनि अप्रेशन हुदैन किनकि अस्पतालमा आउने विरामीको कोरोना जाँच गरेर मात्र अप्रेशन गर्नु भन्ने निर्देशन छ । अव कोरोना परिक्षण गर्ने अधिकार उक्त अस्पताललाई छैन । पिसिआर चेक गर्न सरकारले गर्नु भनेको अस्पताल जान प¥यो । सो अस्पतालमा पनि त्यसै चेकजाँच हुन्न त्यसको लागि मेरो मान्छे हो गरिदिनु भन्ने फोन गराउनु प¥यो । कि त माथिल्लो तहको कर्मचारी कि त डाक्टर कि त नेता मन्त्री अनि बल्ल ल्यावले विरामीको ¥याल लिदिन्छ । बिरामीको अप्रेशन तत्काल गर्नुपर्ने अवस्था छ, पिसिआरको रिर्पोट आउन ३ दिन लाग्छ । पिसिआर रिपोर्टको लागि पनि कतै न कतैबाट फोन गराएर रिपोर्ट लिनु प¥यो बल्ल एउटा विरामीले उपचार पाउँदछ, त्यो समय सम्म विरामी अवस्था के होला ? के यो प्रक्रिया पूरा गर्न सवै सामान्य जनमानसलाई सम्भव होला त ? के यो प्रक्रिया सवैको पहुुँचमा छ ? के यस्तो हुनु राम्रो हो ? किन यस्तो भईरहेछ ? कसका कारणले ? त्यसो भए यस्तो कुरितीलाई अव कसैले कुनै संयन्त्रले सुधार्न सक्दैन त ?
यी र यस्ता थुप्रै प्रश्नहरुको उत्तर जिम्मेवार निकायले दिनुपर्दछ । सरकारले हरेक निकायबाट हुने काम कारवाहिको विषयमा जानकारी राख्दै नियमन तथा नियन्त्रणको काम गर्नु पर्दछ । कर्मचारीले आफ्नो कर्तव्य पूरा गर्न चुक्नु हुन्न । साथै सरकारले कर्मचारी प्रति गर्ने हरेक व्यवहारहरु सकारात्मक हुनुपर्दछ । कर्मचारीहरुलाई काम गर्ने उत्साह जाग्ने खालका कार्यक्रमहरु ल्याउनु पर्दछ । कर्मचारीलाई काम गर्ने वातावरण वनाउने साथै पारिश्रमिक तथा अन्य सेवा सुविधाको उचित व्यवस्थापन गर्ने जिम्मेवारि सरकारको हो । जसले गर्दा कर्मचारीले सामान्य जीवन चलाउन अन्यन्त्र मन डुलाउन नपरोस् । कर्मचारीले पनि आफ्नो कामप्रति सदा कर्तव्य ठानि लगावका साथ काम गर्नु पर्दछ । कर्मचारी भनेको देशको कार्यकारी वर्ग हो, यसले जे गर्न सक्ने तागत राख्दछ । त्यसैले हाम्रो देशका नेता नसुध्रिए कर्मचारी मात्र सुध्रिए पनि ठूलै सकारात्मक परिवर्तन हुनेछ ।
आउनुहोस जुटौं हामीले नगरे कसले गर्छ, अहिले नगरे कहिले गर्ने, अरुलाई दोष लगाएर हुन्न अव आफैंबाट सकारात्मक काम गर्न थालौं । सहज छैन तर असम्भव पनि त छैन । कोरोनाको माहामारिको समयमा स्वास्थ्यकर्मीहरुले आफ्नो पेशालाई सम्मान र कदर गर्दै कर्तव्यबाट विमुख नभईकन, कसैको डर, धम्की, त्रासमा र भनसुनमा नपरिकन काम गर्नुहोस् । सुरक्षाकर्मी साथिहरु माथिबाट फोन आए जे पनि हुन्छ भन्दै आधा बाटोमा यात्रीलाई रोकेर शास्ती नदिनुहोस । रातो नम्बर प्लेट भएका गाडीधनी मानिसहरु यहि हो मौका भनेर नचाहिंदो भाडा असुलेर गरिव र सर्बसाधारण जनतालाई नलुटनुहोस् ।
सरकारी कर्मचारी साथिहरु आफ्नो कर्तव्यलाई नडराई नहडबडाई कुनै लोभलालचमा नपरिकन आफ्नो काम गर्नुहोस् । नेता ज्युहरु यो वेला अन्य कुरा सोच्ने होइन तपाईंका भोर्टस यिनै सर्वसाधारण जनता, तपाईका भविष्य निर्माण गर्ने आधार स्तम्भ हुन यिनका लागि जे सकिन्छ त्यो गर्नुहोस् यिनलाई आपत परेका वेला राजनितिक रडाको झिकेर नअलमलिनुहोस् । संकटको वेला रमिता हेरेर भोलि अर्को अमुक वर्ग, व्यक्तिलाई दोष दिदै चुनावको समयमा घरदैलो गर्दा जनताले तपाईलाई छुट दिने छैन्न् । वेलैमा विचार पु¥याउनु होस् ।





























प्रतिक्रिया