ओलीलाई हटाउने होइन सच्याउने (भिडियाेसहित)

ओलीलाई हटाउने होइन सच्याउने (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालयका बहुमत सदस्यले दुबै पदबाट राजीनामा मागे ।

उनले काम गर्न नसक्ने भन्दै नेताहरुले एकै स्वरमा राजीनामा मागेपछि ओली अप्ठेरोमा परेका छन् । तर जब राजीनामाको औपचारिक कुरा बैठकमा प्रवेश गर्यो त्यसपछि नेकपाभित्र ओलीलाई हटाइहाल्ने कि उनलाई सच्चाएर अघि बढाउने भन्ने साईडलाइनमा छलफल चलिरहेको छ ।

यस्ता छलफलमा अहिले मध्यमार्गी नेताहरु सक्रिय भएका छन् । यो भूमिकामा अहिले रामबहादुर थापा, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली जस्ता मन्त्रीहरु सक्रिय छन् ।

भुसाल र भट्टराई नेपाल समूहका नेता हुन् तर उनीहरु अहिले नै प्रधानमन्त्री ओलीलाई हटाईहाल्नु भन्दा उनलाई सच्चाएर जानुपर्ने पक्षमा छन् । उता ओली पक्षमा रहेका ज्ञवाली जस्ता नेताहरु ओलीबाट पनि केही त्रुटी छन् त्यसलाई सच्चाएर दाहाल र नेपाल समूहले राखेका जायज चासोलाई सम्बोधन गर्नुपर्ने निष्कर्षमा छन् ।

त्यसैले अहिले सकेसम्म पार्टीभित्रको विवाद साम्य पार्नका लागि दुईटा कुरामा मध्यमार्गीहरुले चासो दिएका छन् । उनीहरुले ओलीकहा“ गएर ‘पार्टीको विधि मान्छु भन्नुहोस् त्यसअनुसारको व्यवहार गर्नुहोस्, जसले गर्दा राजीनामा दिन पर्दैन’ भन्दै कन्भिन्स गरिरहेका छन् ।
यीनै नेताहरु दाहाल नेपाल समुहमा गएर ‘ओलीलाई विधि अनुसार चल्ने प्रतिबद्धता गराऔं त्यसपछि राजिनामा लगायतका कुराहरु आउदै गर्छन्’ भन्दै छन् ।

मन्त्री थापा र भुसाल बुधबार बिहान ओलीले बोलाएको भेलामा बालुवाटार गएका थिए । त्यहाँ भुसालले त्यही कुरा राखे । साँझ दाहाल–नेपाल समुहको झम्सिखेल भेलामा पनि थापा र भुसाल गए । त्यहा भुसालले सकेसम्म मिलेर जानुपर्ने, विधि मार्फत् पार्टी चलाउनुपर्ने र त्यसका लागि प्रधानमन्त्रीसहित सबै नेताहरु तयार हुनुपर्ने धारणा राखेका थिए ।

भुसालले त्यसो भनेपछि अध्यक्ष पुष्पकमल दाहाल पनि यो कुरामा केही कन्भिन्स भए । उनले बैठकको अन्त्यमा ‘मुख्य कुरा पार्टीको विधि अनुसार चल्ने’ भन्ने नै हो भन्दै अरु नेताहरुको भन्दा केही लचक कुरा गरे । उक्त बैठकमा नेपाल, खनाल लगायतका नेताहरु भने ओली सच्चिदैनन् भन्ने अडान राखिरहेका थिए ।

सकेसम्म मिलाएर लैजाने भन्ने टोनबाट नै छलफल गर्न दाहालले बिहीबार बिहान आफ्नै निवासमा ओली समूहका नेताहरुलाई बोलाएर छलफल गरे । ओली समूहका नेताहरु पनि मिलेर जानुपर्ने प्रस्ताव बोकेर दाहाल र नेपालकहाँ पुग्न थालेका छन् ।

दुबै पक्षको अन्तरसंघर्ष चल्न थालेपछि पार्टीभित्र तीनवटा धार जस्तो देखिएको छ : एउटा, जसरी पनि ओलीलाई हटाउनुपर्छ भन्ने । दोस्रो ओलीलाई हटाउनै हुन्न भन्ने र तेस्रो, ओली पनि पार्टीको एउटा शक्ति हुन् त्यसैले सबै मिलेर सम्मानजनक र ‘वीन–वीन’ को अवस्थाको उपाय खोज्नुपर्ने ।

पहिलो दुई धार अलिक अतिवादी खालको छ । जुन धारबाट नेकपा अघि बढे दुर्घटनाको जोखिम ज्यादा छ । तर तेस्रो विकल्पबाट अघि बढे अहिले पनि नेकपा भित्रको कलह मिल्न सक्छ र पार्टी, सरकार सहजरुपमा सञ्चालन हुनसक्ने अवस्था रहन्छ ।

त्यसैले यो तेस्रो विकल्पमाथि मध्यमार्गी धारका नेताहरु दुबै पक्षलाई मनाउने कोशिस गरिरहेका छन् । अहिलेको अवस्थामा सरकार परिवर्तन, ओलीको फेरबदल मात्रैले पनि सबै समस्या समाधान गरिहाल्छ भन्नेमा नेकपाको ठूलो पंक्ति विश्वस्त चाही छैन । किन भने ओलीको विकल्पमा अब आउने नेताहरु भनेका या त दाहाल हुन् या नेपाल ।

यी दुबै नेताहरुका पनि आफ्ना पदीय आकांक्षा, राजनीतिक कौशलका सीमा छन् । उनीहरु आफै पनि विगतमा टेस्टेड पात्र हुन् । अहिले ओलीले गर्न सकेनन् भनेर भन्न जति सजिलो छ आपूm पदमा आएपछि त्यति काम पनि गर्न सक्ने हुने कि होइनन् भन्ने आशंका उत्ति नै छ ।
फेरि अर्को यथार्थ के हो भने ओली पदमा बस्दा भन्दा पदमा नरहँदा अरुका लागि बढ्ता खतरा हुन सक्छ । अहिले आफ्नो भइरहेको सरकार ढालेर अर्को कोही व्यक्ति नेतृत्व गर्न आए उसलाई ओलीले खुरुखुरु सहयोग गर्छन् भन्ने भ्रम मात्र हन् ।

त्यसैले ओली अहिले पदमा रहदा भन्दा नरहेको बेलामा अन्य नेताहरुका लागि बढ्ता चुनौतिपूर्ण हुन सक्छन् । स्थायी कमिटी र सचिवालयको संख्याको भरमा मात्र ओलीलाई कमजोर भएको रुपमा ठाने भने दाहाल र नेपालले पछि पछुताउनु पर्नेछ । किनकी ओलीको शक्ति भनेको पार्टीभित्रको संख्या मात्रै चाही होइन । अझै पनि बाह्य जनमतको ठूलो हिस्सा ओलीको पक्षमा छ । त्यसैले अहिले ओलीको विकल्प खोज्नेहरुले यो पनि हेक्का राख्नुपर्नेछ ।

त्यस्तै जुन पृष्ठभूमिमा पार्टी एकता भएर यो शक्ति आर्जन गरेको छ, त्यो शक्ति ओलीको अनुपस्थितिमा क्षीण हुनसक्छ । त्यसैले नेकपाभित्रको साइडलाइन छलफलमा ओलीलाई हटाउने भन्दा पार्टीको फ्रेमबाट चल्ने गरी सच्याएर लैजाने प्रयत्न जारी छ ।

जुन प्रयत्नले परिणामको रुपमा आकार ग्रहण गर्न केही दिन भने लाग्न सक्छ ।

Logo