सामान्य बोलीचालीको भाषामा अन्तरजातीय विवाहको बारेमा वकालत गर्न धेरै सजिलो छ । मान्छेका केवल दुई जात छन् एउटा प्रकृति र अर्को पुरुष भनेर आदर्शका कुरा गर्न पनि धेरै सजिलो छ । छुवाछुतको विरुद्दमा बोल्न लेख्न त झन् सजिलो छ । छुवाछुतको कारण अन्यायमा परेकाहरूको समर्थन र विभेद गर्नेका विरुद्द बोलेर या लेखेर जनमानसको रगत उमाल्ने अभिव्यक्ति दिन पनि सजिलै छ । तर अन्तरजातीय विवाह पछिका अप्ठ्यारा कुराहरू मनन गर्दै जाने हो भने यो समाज यस्ता विषयमा कति निर्मम छ भन्ने कुरा बुझ्न सकिन्छ ।
जतिसुकै आदर्शका कुरा गरे पनि हिन्दु समाजमा अन्तरजातीय विवाह सफल हुने भनेको आपसमा बिहे गरेका ‘दुईजनाको सोचमा’ मात्र हो । हुन त बिहे दुईजना व्यक्तिको बीचमा हुने नितान्त निजी कुरा भएकै कारण अन्य व्यक्तिहरू के सोच्छन् त्यता ध्यान दिनु आवश्यक नै छैन । फेरी पनि दलित जातिमा बिहे गरिसकेपछि एक जना ब्राह्मण व्यक्ति समाजबाट कसरी त्यागिन्छ त्यो हेरौँ ।
सबै भन्दा पहिला त त्यसरी बिहे गर्नेहरूको बिहेमा आफन्तहरू उपस्थित नै हुँदैनन् । अपवादको रूपमा आफूलाई आधुनिक चेत भएको देखाउन कुनै साथीभाइ आइहाल्यो भने पनि ऊ एक्लै आउँछ । अपवादको रूपमा कसैले श्रीमतीलाई सँगै ल्याएर त्यस्तो बिहेमा सहभागी गराएर अत्यन्तै क्रान्तिकारी काम गरेको देखाए पनि उसले आफ्ना धार्मिक आस्थामा कट्टर रहेका बाउ आमालाई कर गरेर मनाएर त्यस्तो बिहेमा उपस्थित गराउन सक्दैन ।
त्यसपछि त्यो ब्राह्मणको छोराको यो समाजले जनै खोस्छ । जतिसुकै क्रान्तिकारी ब्राह्मण भए पनि आफूखुसी जनै धारण गर्नु या नगर्नु बेग्लै कुरा हो । अरू कसैले जनै लगाउने अधिकार खोस्नु ठूलो अपमानको कुरा हुन आउँछ । नजानिँदो तरिकाबाट खोसिन्छ जनै । हुन त अचेल बजारमा बग्रेल्ती धागो बेरिएका जनै पसलमै किन्न पाइन्छ तर ती जनै भनेका धारण गर्ने धागो मात्र हुन् । असलमा जनै भनेको यौटा संस्कार हो जुन जनै पूर्णिमाको दिन यज्ञ स्थापना गरेर जनैलाई मन्त्रोच्चारणद्वारा ब्राह्मणले धारण गर्न हुने बनाइन्छ र यो काम सामुहिकरुपमा गर्ने चलन छ । त्यो दिन अन्तरजातीय विवाह गरेको ब्राह्मणको जनै त्यो समूहमा मिसाउन समाजले अस्वीकार गरिदिन्छ । आफूले गरेको विवाह मात्रको कारणले आफूले लगाउने जनै आफू मात्रले एक्लै मन्त्रनु पर्दा कति अपमान महसुस हुन्छ होला ? तर समाज निर्मम छ । यो सबै एक जना अन्तरजातीय विवाह गरेको मान्छेले सहनै पर्छ ।
यो सिलसिला यहीँ रोकिँदैन । छिमेकमा यज्ञ हुन्छन् । विवाह व्रतबन्ध हुन्छन् । दसैँ आउँछ, भागवत पाठ हुन्छ त्यस्ता ठाउँमा अन्तरजातीय विवाह गरेकाहरू नजानिँदो तरिकाबाट अपमानित भइरहेका हुन्छन् । त्यहाँ त्यहाँ नजिकै जानबाट रोकिनु, फूल अक्षता मिसाउन नपाउनु या अन्तरजातीय बिहे गरेकै कारण फूल अक्षता नचल्नु र त्यो चलाउन कसैलाई बाध्य पार्न नसक्नु पनि चरम अपमानहरू हुन् । छिमेकीको मृत्यु हुँदा लास बोक्न पाइँदैन । हुन त किन बोक्नुपर्यो लास किन चढाउनु पर्यो फूल अक्षता भन्ने प्रश्न आउला तर बिहेकै कारण सामूहिकताबाट अलग्गिनु या त्यो अवस्थाबाट गुज्रनु परेको हरेक मान्छेले अपमानित भएको महसुस गर्दछ ।
अन्तरजातीय श्रीमती भित्र्याएका पुरुषहरू को भन्दा त्यसरी विहे गरेर गएकी ब्राह्मण की छोरीले बेहोर्नु पर्ने अपमान अझ भयावह हुन्छन् । प्रायजसो अन्तरजातीय विवाह भागेर नै हुने गरेको छ त्यसैले अहिले सेड्युल कास्टमा बिहे गरेकी अपार कास्ट कि युवतीको विवाहको यज्ञमा के के हुन सक्छ त्यो अनुमान गर्न गाह्रो छ । फेरि पनि यदा कदा बाहुन भित्रै भएको विवाहमा पनि यो किसिमको अपमानहरू हुने गरेका छन् ।
कथंकदाचित उपाध्याय बाहुनले जैसी बाहुनलाई छोरी दिनु परेमा त्यो पनि अन्तरजातीय सरहकै हुने गरेको छ । अपमानको लेवल दलितलाई गरिने बराबरको नहोला तर विवाहको यज्ञबाटै अपमानको सुरुवात हुन्छ । बाहुनहरूको बिहेमा छोरी ज्वाइँको गोडा धोएर जल खाने प्रचलन छ । जल कसरी खाइन्छ भने, अन्मिएर जाने छोरीको कन्यादान दिने सम्पूर्ण माइतीहरूले खुट्टाको जल खानु पर्दछ । र ज्वाइँको भने महिलाहरूले हात धोएर जल खाने र पुरुषहरूले गोडाकै जल खाने सामान्य परम्परा हुन्छ ।
अब यहाँ जल खाने परम्परा नै गलत र रूढिवादी हो भनेर क्रान्तिकारी भाषण गर्न सके बेग्लै कुरा हो नत्र उपाध्यायहरू जैसीसँग बिहे गरेकी छोरीको गोडाको जल खाँदैनन । आफ्नो जात भन्दा तल झरिसकेको भनेर अन्माउनु अगाडी नै जल नखाएर आफ्नै छोरीको अपमान गर्छन् । ज्वाइँ त सामान्य भइहाल्यो आफ्नो जातभात बराबरको भए गोडाको जल खान्छन् र आफूभन्दा तल्लो जातको भए हातको बुढीऔंलाको जल खाएर छोरी अन्माएर पठाउँछन् ।
जल खाने प्रक्रिया सामान्य हो । त्यो रूढिवादी परम्परा हो त्यसलाई त्यागेको राम्रो हो तर आफू बराबरका जातभात मिल्ने ज्वाइँको गोडाको जल खाने तर आफ्नै छोरी बिहे गरेको ज्वाइँ जैसी परेमा अपमान पूर्वक जल नखाने प्रचलन छ । त्यहाँ बाहुन हरूको अभिमान अगाडी आउँछ । ‘उपाध्यायले जैसीको जल कसरी खानु’ ? यस्तो किसिमको अभिमान पालेर बसेका हुन्छन् र त्यो सहन गर्न जैसीहरू तयार पनि हुन्छन् ।
बिहे अगाडी नै सबै कुरा तय हुन्छ । आफू जैसी भएको कारण आफ्नो गोडाको जल ससुराली पक्षले खाने छैनन् भन्ने कुरा नयाँ ज्वाइँले पहिल्यै थाहा पाइसकेको हुन्छ अथवा बिहे गराउने पण्डितले नै त्यस अनुसार उर्दीहरू जारी गर्दै गइरहेको हुन्छ ।
जैसी परिवारबाट उपाध्यायमा बिहे गरेर गएकी युवतीमा यो अपमानको सिलसिला जिन्दगी भर चलिरहन्छ । अहिले सहरिया भई टोपलेका परिवारमा समेत दोहोरो जिन्दगी जिउने अचम्मको चलन छ । हामी जातभात मान्दैनौँ भनेर क्रान्तिकारी देखिने उपाध्यायहरूले नै आफ्नै बुहारी यदि जैसी खानदानबाट बिहे गरेर ल्याएको हो भने पूजामा, भान्छामा जता सुकै बन्देज लगाएका हुन्छन् ।
रोटी, तरकारी, खीर लगायतका मीठा खानेकुरा जैसी बुहारीले पकाएको खान हुने तर दालभात, खिचडी लगायत खानेकुरा जैसीले पकाएको नखाने ढोँगी बाहुनहरू प्रशस्तै छन् समाजमा । अझ रहरको दाल हुने मुसुरो र मासको दाल भने जैसीले पकाएको नखाने जस्तो व्यवहार पनि देखाउँछन् । यस्तोमा ती युवती जिन्दगी भरी नजानिँदो किसिमले अपमानित भइरहनु परेको हुन्छ । अपमान उपाध्यायले जैसीलाई मात्र गर्दैनन् जैसीहरूले पनि आफू बराबार बाहेक अन्यत्रबाट बिहे गरेर आएकी बुहारीलाई गर्ने व्यवहार त्यही किसिमको हुन्छ ।
अपवाद बाहेक अन्तरजातीय विवाहबाट जन्मेका सन्तानले आफ्नै बाउ आमालाई पीण्ड दान दिन अनुमति पाउँदैनन् । कर्मकाण्डको ठेक्का लिएका बाहुनहरूले अन्तरजातीय बिहे गरेकाहरूको त्यस्तो यज्ञ स्थापना गरिदिएर पूजापाठ गराइदिए पनि त्यहाँ भोजन गर्दैनन् र कुनै बहाना बनाएर फलफूल खाएर निस्कन्छन् । त्यो पनि एक किसिमको अपमान हो । जजमानहरूले पुरेतलाई खानको लागि दबाब दिन पनि सक्दैनन् किनभने त्यहाँ अपमान सहने एक किसिमको अलिखित सम्झौता गरिएको हुन्छ ।
आफन्तले त गर्छन् नै समाजले पनि अलग व्यवहार गर्छ सामाजिक यज्ञ यज्ञादीमा प्रसाद लिंदैनन, ‘भाईसामेल’ मा नगद रुपैयाँ दान चलाए पनि अन्य खानेकुरा सामूहिक यज्ञमा मिसाउँदैनन् । त्यस्ता स्थानहरूमा भान्छे हुन दिंदैनन् । जवर्जस्ती गरेर यज्ञ बिथोल्ने हिम्मत कसैमा हुँदैन किनभने मान्छेहरू त्यो अपमान सहन बानी परेका हुन्छन् ।
यसरी अन्तरजातीय बिबाहले छोराको ब्रतबन्ध प्रभावित हुन्छ, छोरीको कन्यादान प्रभावित हुन्छ । यती भएपछि अपमानित त जिन्दगीभर हुनु पर्दछ, अपमान सहनुको विकल्प पनि हुँदैन किनकि त्यो अपमान अब परम्परा बनिसकेको छ । समाजले मौखिक रूपमा अन्तरजातीय विवाह स्वीकार गरे पनि व्यवहारतः स्वीकार गर्न गर्न धेरै गाह्रो छ । समय लाग्ला मानव मानवबीचको विभेद पक्कै हट्ला भन्ने आस पनि अमेरिकामा भएको ‘काला-गोरा’ हिंसापछि हराएको छ । समाज जति विकसितहुँदै जान्छ विभेद पनि उत्तिकै विकसित हुने रहेछ ।





























प्रतिक्रिया