बोलीमा दृढ : प्रधानमन्त्री केपी शर्मा ओली

बोलीमा दृढ : प्रधानमन्त्री केपी शर्मा ओली

केन्द्रबिन्दु
0
Shares

  • बुद्धिमान परियार

बोलीमा दृढता र चट्टाने अडानमा अडिग व्यक्तित्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक ,कालापानी र लिम्पियाधुरासहित समेटिएको नेपालको नयाँ नक्सा छाप्ने निर्णय मन्त्रिपरिषदबाट पारित गरि नेपाल र नेपालीहरुको निम्ति एउटा ऐतिहासिक कार्यको प्रारम्भ गर्नु भएको छ। यो निर्णयले सारा नेपाली जनतामा उत्साह जागेको छ भने भारत र भारतीय मिडियाहरु नेपाल सरकारको यस निर्णयप्रति एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोसित बन्दै कटाक्ष गर्न थालेका छन् ।

आज दुनियाँका सामु भारतले आफ्नो असन्तुष्टि र आफूलाई असैह्य भएको कुरा पोखिरहेको छ। जुन कुरा भारतीय मिडियामा छचल्किएका शब्दहरु बाट पनि अनुमान गर्न सकिन्छ । आखिर भारतले बारम्बार किन यस्तो मिचाहा प्रवृत्ति प्रदर्शन गरिरहन्छ ? जब कि नेपालसँग यी भूमिहरु नेपालकै हुन् भन्ने दर्जनौं तथ्य प्रमाणहरु सुरक्षित रुपमा रहेका छन्। तर पटक पटक नेपाली भूमि मिचिनु, दशगजा वरपर सारिनुलाई छिमेकी राष्ट्र प्रतिको हेपाहा, मिचाहा र विस्तारवादी सोचको उपज भन्दा फरक नपर्ला । यस्ता सबै खाले प्रवृत्ति विरुद्ध सारा नेपाली र नेपालका राजनीतिक पार्टीहरु एकताबद्ध भई विस्तारवादी भारतीय योजनालाई परास्त पार्न जरुरी छ।

इतिहास साक्षी छ कि अतिक्रमित भू-भाग नेपालकै हो भन्नेमा हामीसँग दर्बिला आधारहरु धेरै नै रहेका छन् । ३ मार्च १८१६ को सुगौली सन्धि , ८ डिसेम्बर १८१६ को पुरक सन्धि, सन् १८५७ मा भारतद्वारा जारी गरेको नक्सा , १ नोभेम्बर १८६० मा नेपाल र अग्रेजबीच भएको सन्धि, जनवरी ७ सन् १८७५ मा नेपाल र अंग्रेजको संयुक्त प्रतिनिधि आयोगले दाङको डुडुवा क्षेत्रको सिमाङ्कन गर्दा लिम्पियाधुरा नेपालमै देखिएको, लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाबी र कुटीगाउँका बासिन्दाले कर बुझाएको रसिद, २०१५ सालको आम निर्वाचनमा त्यस क्षेत्रका नागरिक सहभागी भएको मतदाता नामावली, २०१८ को जनगणना हुँदा लिम्पियाधुरा सहितका जनता सहभागी भएको जनगणना आदि अनेकौं आधार प्रमाणहरु हामीसँग छन् ।

बृटिसले तयार गरेको बिभिन्न समयको भौगोलिक नक्सा लगायतका अन्य धेरै प्रमाणहरु हामीसँग छन् । यसरी यी इतिहासले साबित गरेका तथ्य प्रमाणहरुका आधारमा भूमि, ब्यबस्था तथा सहकारी मन्त्रालयले तयार पारेको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित हुनुमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय पद्मा अर्याल तथा सिङ्गो मन्त्रिपरिषदलाई जनताको तर्फबाट धन्यवाद दिनु पर्दछ र यो शाहसिक कदमको नेपाली जनताले उच्च सम्मान गर्नै पर्दछ । यो राष्ट्रियता र राष्ट्रभक्तिमा एउटा गौरवपूर्ण कार्य हो ।

यस परिघटनाले साँच्चिकै हाम्रो देशले एउटा अथक, दृढ र उच्च मनोबल भएको राष्ट्रनायकको रुपमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको छ । यस कार्यले राष्ट्रियताको स्तम्भ दह्रो बनाउँदै हाम्रो स्वाभिमानलाई पनि उच्च बनाएको छ । वास्तवमा अहिले सीमाको बिषयमा वादविवाद गर्ने समय विल्कुल थिएन किनकी आज विश्व जगत प्राण घातक महामारी कोभिड-१९ बाट आक्रान्त छ । दिनानुदिन अनाहकमा दुनियाँ भरका मान्छेहरुको मृत्यु भईरहेको छ । हामी नेपालीहरु पनि यो महामारीबाट अछुतो रहेनौं । लामो लकडाउनले जनजीवन अस्त, ब्यस्त र कष्टकर बनिरहेको बेला सिमानामा दादागिरी गरि थिचोमिचो गर्ने छिमेकी भारतको रबैयाले अर्को तनाव थपिएको छ । ४/५ महिना अगाडी भारतले नेपाली भूमि समेटि नक्सा जारी गर्यो । अहिले हाम्रै भूभागमा बाटो निर्माण गरेर उद्घाटन गर्यो । यस्तो हस्तक्षेपको प्रतिरोध गर्दै कालापानी, लिपुलेख र लिम्पियाधुरासहित समेटिएको नयाँ नक्सा जारी गर्नुपर्ने चुनौतीपूर्ण दायित्व तथा सामयिक कर्तव्य नेपाल सरकारले दृढतापूर्वक पालना गरेको छ ।

अब साँच्चिकै नेपाली भूमि भारतबाट फिर्ता गर्नै पर्दछ । यसका लागि सारा नेपाली, के पक्ष, के विपक्ष सबै राजनीतिक पार्टीहरु तथा आम जनसमुदाय एकजुट भएको अवस्था छ। किनभने फलाम तातेको बेला नै हान्नु पर्दछ तब मात्र आकार आउँछ । तर बिडम्वना, प्रधानमन्त्रीले लिनु भएको यत्रो ठूलो ऐतिहासिक कदम र शाहसको विरुद्ध हाँसिमजाक गर्नेहरु पनि अपवादमा त देखिएकै छन् । कसै कसैले त भारतलाई चिढाउनु हुने थिएन, नक्शा जारी गर्दा भारतलाई सोध्नु पर्थ्यो , भारतको मन दुखाउनु हुँदैनथ्यो, जस्ता शब्द समेत भन्न भ्याईरहेका छन् ।

यसै सन्दर्भमा एक जना विद्वानले भन्नू भो कि, नक्सा जारी गर्दैमा राष्ट्रवादी र क्रान्तिकारी भईंदैन । यदि यी विद्वानको कुरा मान्ने हो भने नक्सा जारी हुँदैमा भारत किन आक्रोसित बन्ने त ? भारतीय मिडियाको यति सारो रोईलो किन ? रोईलो मात्र होइन तल्लो स्तरमा झरेर गाली गलौज गर्नुको कारण के ? यी सब कुराले प्रमाणित गर्दछ कि यो नक्सा जारी गर्नु पनि चानचुने कुरा होइन रहेछ । यो कुरा खुद्रा मसिना र सानोतिनो थिएन, कि सहजै कसैले हिम्मत गरोस् । विगतमा धेरै प्रधानमन्त्री बने र सरकार सञ्चालन गरे । तर चुईंक्क बोल्ने हिम्मत कसैले गरेको देखिएन । तर आज प्रधानमन्त्री केपी शर्मा ओलीले गरेर देखाउनुलाई राष्ट्रियताको भावनाले ओतप्रोत र क्रान्तिकारी कदम हो भनेर भन्नुलाई कुनै अप्ठ्यारो मान्नु पर्छ भन्ने लाग्दैन । अनेकौं भ्रम फैल्याएर नेपाली जनता र सरकारको मनोबल कमजोर बनाउने दुष्प्रयास गर्दै भारतीय पक्षको पक्षपोषण गर्ने जो कोहि किन नहोस्, जनताले हिसाब किताब अवस्य राख्नेनै छन् ।

केपी शर्मा ओलीको यो देशमा जन्म नभएको भए या जन्म भएर पनि उहाँ देशको प्रधानमन्त्री नबनेको भए आज हाम्रा पुर्खाले आर्जेका भूभागहरु लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको नयाँ नक्सामा समेटिने थिएन । यो उहाँले चाल्नु भएको कदम एउटा ऐतिहासिक क्षण हो । यो ऐतिहासिक उपलब्धी हो। आफ्नो मातृभूमिको नयाँ नक्सा देख्न पाउँदा हरेक नेपाली हर्षबिभोर भएका छन् । गर्वले छाती फराकिलो र शीर ठाडो भएको छ। यो सानो उपलब्धि होईन । यो उपलब्धिको नेतृत्व कर्ता प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्छ।

यदि उहाँ प्रधानमन्त्री नभएको भए नेपालीहरुले आफ्ना लुटिएका भूभाग नेपालको नक्शामा देख्न पाउने थिएनन् । केपी ओली नेतृत्वको सरकारले भाबी पुस्तालाई नेपालको नयाँ नक्सा विरासतमा दिएको छ। हुन त यो देशमा धेरै प्रधानमन्त्री भए तर राष्ट्रियता र स्वाभिमानको निम्ति त्यस्तो सम्झिन लायकको कुनै काम गरेको पाईंदैन अझ कब्जा गरिएका नेपाली भूमिका बारेमा त चुईंक्क बोलेको देखिंदैन । बरु उल्टै मातृभूमिलाई दाउमा राखी भारतलाई खुशी बनाउँदै आफ्नो पद र राजनीती टिकाईरहने खेलोमेलो गरिरहे र गरिरहेका छन् ।

यस्ता प्रवृत्तिलाई जनताले अवस्य सजायँ दिने नै छन् । प्रधानमन्त्री केपी शर्मा ओली कसैले लोभ्याउँदा नलोभिने, धम्क्याउदा नधम्किने, तर्साउँदा नतर्सिने, बरु आफ्नो ज्यानको बाजी राखी राष्ट्रहितलाई सर्वोपरि ठान्ने राष्ट्र नायक हुनु हुन्छ । उहाँको शाहसलाई सब‌ैले सम्मान गर्नुपर्दछ र साथ दिनै पर्दछ। त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीको यात्रा त्यति सजिलो छैन, कठिन छ। अनेक घुम्ति र मोडहरु पार गर्नुछ । बाटाहरुमा काँडा र अवरोधहरु प्रशस्त छन् । आफ्नैबाट होस् या बैरिबाट नै किन नहोस् उहाँलाई असफल बनाउने दुष्प्रयास काफी भएका छन् र भईरहने छन् । तर ठूलो छाती दह्रो मुटु, दृढ ईच्छा शक्ति, अनेकौं अनुभवले खारिएका, परिपक्व व्यक्तित्व प्रधानमन्त्री केपी शर्मा ओली कति पनि बिचलित नभइ आफ्नो यात्रा पूरा गर्न निरन्तर प्रयत्नशील हुनुहुन्छ । उहाँलाई सारा नेपालीहरुको सदैव साथ रहनेछ, रहिरहनेछ । यो धर्तीले साँच्चिकै एक राष्ट्र नायक र राजनेता पाएको छ । यो नेपाल राष्ट्र र नेपाली जनताको निम्ति गौरवको कुरा हो।

Logo