एउटा दृश्य यथार्थ
केही दिन पहिला एकजना महिलाले आफ्नो गह्रौँ झोलामाथि एउटा सानो दूधे बालकलाई बोकेर गाडीको बाटोको किनारैकिनार हिँडिरहेकी थिइन् । अर्को ६–७ वर्षको बालकलाई पनि हात समातेर डो¥याउँदै थिइन् । सधैँ गाडीहरूको गाइँगाइँ–गुइँगुइँले हैरान हुने राजमार्गमा उस्तो भीडभाड त छैन तर एकदुईवटा ओहोरदोहोर गरिरहेका गाडीबाट त्यो चञ्चल बच्चालाई जोगाउन उनलाई निकै हैरान भएको स्पष्ट देखिन्थ्यो । त्यहाँ वृद्धवृद्धाका लागि बाटो काट्न समय नै नदिने अटेरी र हतारोमा प्रतिस्पर्धा गर्ने गाडीको भिड त अहिले छैन । गाडीमा सवार यात्रुको मनलाई भयभित तुल्याउने गरी दगुराउने गाडीहरू नहुँदा बाटो चकमन्न झैं लाग्छ नै ।
उनी घरसम्मको यात्रालाई तय गरेर कति दिनदेखि खै कति टाढासम्मलाई हो, हिँडिरहेकी देखिन्थिन् । सायद तिनले आफूले के नै खाइन् होला र तर ती बबुरा बालबच्चाको पेटमा कसरी चारो हालिन्, त्यो पीडा अझै दयनीय छ ! रातभर हिँड्दा कसरी, कहाँ सुतिन् र कसरी सुताइन् ती बालबच्चालाई अर्को प्रश्न तेर्सियो । मलाई सोच्न बाध्य बनायो । अब म एक महिला मजदुरलाई अटेरी भनौँ या विवस भनौँ । सायद उनी कुनै नेताकी आफन्त भएकी भए एउटा एम्बुलेन्समा आउने थिइन् । अभैm ठूलो पहुँचवाली भएकी भए हेलिकप्टरसम्मकै व्यवस्था हुन पनि बेर हुँदैनथ्यो । अर्थात्, उनी कुनै सम्पन्न परिवारकी हुँदी हुन् त गाउँ फर्किन यति धेरै दुःख गर्ने आँट नै आउने थिएन । अझ मजदुरी नगरे खानै नपाइने प्रताडनाबाट सिकार नभएकी होऊन् त सायद कोठामै जेनतेन बस्थिन् होला । यो रहर हो या बाध्यता !
यो आलेख तयार पार्दासम्म नेपालमा ४९ जना कोरोना संक्रमित रहेकामध्ये १२ जना निको भएर घर फर्केका छन् । निको हुनेले धैर्यता र आत्मबलको सहारालाई प्राथमिकताका साथ राखेको बुझिन्छ । एकान्तवास (लकडाउन) को समयावधि थप्नुपर्ने आवश्यकताका बारेमा मन्त्री परिषद्मा छलफल भइरहेको पनि छ । श्रमिक, विद्यार्थी, अन्य जोहो नभएका सामान्य नागरिकहरूलाई काठमाडौँजस्ता शहरमा दैनिकी चलाउनै हम्मेहम्मे हुनु स्वाभाविकै हो । एकातिर कोरोना संक्रमितको सङ्ख्यामा बढोत्तरी हुँदाको भय अर्कातिर ‘जनतालाई जहाँ छन्, त्यहीँ बसून्’ भनिएको थियो । जब स्थानीय सरकार तथा सम्पर्क मञ्चसहितको सहकार्यद्वारा सुरक्षित रूपमा घर पठाउने लहर चल्यो यस निर्णयले जनता र सरकार दुवैलाई फाइदा तथा खुशी थपिदियो ।
यो समयमा रोगी, असक्त, गर्भवती, वृद्धवृद्धाका लागि विशेष व्यवस्था गरी उत्तम विकल्प खोजिनुपर्छ । सम्पर्क गर्न नसक्ने वा नजान्ने कोही नागरिक छन् कि भन्ने विषयमा काठमाडौँका स्थानीय सरकारले ध्यान पु¥याउनु पनि आवश्यक छ । भाडा तिर्न नसक्दा घरबेटीले घरबाहिर निकालिदिएका अमानवीय व्यवहारका बारेमा काठमाडौँ लगायतका स्थानीय सरकारले ध्यान दिनु आवश्यक छ । जटिल समयमा पनि पैसा नै सबैथोक ठान्ने र अमानवीय हर्कत देखाउनेलाई सरकारले दण्डित पनि गर्नुपर्छ ।
मान्छेका पीडा
खान पनि नपाउने अनि घर जान पनि नपाउने अवस्था भयो भने मानिसले रोगका लागि भनेर भोकलाई थामेर बस्न सक्दैन । यो उसको बाध्यता हो । एकान्तवास (लकडाउन) को समयावधि थपिएपछि घरसम्मको पैदल यात्रालाई तय गरेर चोरी दाउमा हिँड्न विवस नेपालीहरू सायद सम्पन्न मानिस होइनन् । चिउरा र चाउचाउ खाएर प्राण धान्दै बाटोमा हिँडिरहेका मानिसको मनोविज्ञानमै पुगेर सोच्दा त्यो विषय सायद दुःखपूर्ण हुन्छ । यद्यपि, कोरोना महामारी झनै भयावह छ । यहाँ राहत र आहतमा समेत राजनीति हुने अर्को तुच्छ सोचलाई भूकम्पका समयमा जसरी नै जगाइरहिएको पनि छ । रोगले मरिने हो कि भन्दै गर्दा शोक र भोकले मर्नुपर्ने अवस्थाबाट बच्न चाहनु नै मानिसको बाध्यता हो । गरिब, निम्न आय भएका, यसो दुईचार पैसा भएपनि कमाएर घरको गर्जो टार्ने उद्देश्यले घर छोड्नेका दशा हृदयविदारक हुन्छन् ।
देहान्तभन्दा एकान्त अवश्य ठूलो हो । नेपालमा राम्रोसँग सबैतिर परीक्षण नभइसकेको अवस्थालाई हेर्दा स्थिति भयावह हुन सक्छ । हामी खतरामुक्त छैनौँ । यसर्थ एकान्तवास (लकडाउन) लाई हतार गरेर खुलाउँदा पनि चीनमा जसरी जोखिम दोहोरिन सक्छ । सामान्य अवस्थामा जसरी यात्रा गराउँदा अमेरिकाको लापरबाहीको परिणती हामीले पनि भोग्नु नपर्ला भन्न सकिँदैन । अब यदि समयावधि थपिँदै जान्छ र खाद्यान्न, तरकारीको आपूर्ति असहज हुन्छ भने गाउँ पठाउने प्रबन्ध उचित हुन सक्छ ।
मुलुकमा स्वास्थ्यको जटिलतासँग गरिबलाई दिनचर्याको अप्ठेरोले किच्दै छ । घरमै पुगे ढिँडोरोटी खाएर स्वतन्त्र हुन पाइने अर्को चाहनाले सायद यो अप्ठ्यारोलाई जन्माएको हुँदो हो । समस्या खाद्य संकट र पारिवारिक मिलन नहुनुको हो । कामबाट बिदा नै नपाउने अवस्थाका कारण घरबाहिर बसेकालाई यो समयमा घरपरिवारमा आनन्दले रहने चाहना हुँदो हो । यो एउटा गम्भिर मनोवैज्ञानिक विषय हो तर सरकारलाई पनि त यो महामारीको विपद् व्यवस्थापनका लागि हेक्का भएन । मुलुकले कल्पनै नगरेको विश्वव्यापी समस्या आइपरेकाले पनि समयोचित निर्णय हुन सकेन । जनतालाई लकडाउनको अर्थ राम्रोसँग थाहा नै थिएन । अर्थात् एक हप्ताअघि नै भन्नुपथ्र्यो– “अब गाडीहरू, बजारहरू बन्द गर्नुपर्ने भएकाले शहरवासीहरू घरघरतिर जानुहोस् ।” अनि सरकार नै अनविज्ञ भइदियो । २०७६ चैत्र ७ गतेको एसईई रोकिएको समयबाट मात्र जनतामा एकखाले चस्को पस्यो । यसो व्यवहार मिलाएर जाऊँ न त भन्दा सामान्य काम गर्नेहरूलाई, मजदुर, कामदारहरूलाई मालिकले, साहुले कहाँ भन्ने बित्तिकै बिदा दिन्छन् । अझ तिनलाई उल्टै यो बन्दाबन्दीको समयको तलब पनि दिँदैनन् । यस्तो महङ्गी र अभावका बिचमा तिनले अलिअलि राहत त लेलान् तर कसरी बाँच्ने ? यो यथार्थ मनोविज्ञानमा हो ।
मानवतामुखी मन
कोरोना भाइरसको विश्वव्यापी समस्याको नियम कुनै रहर होइन । यो बाध्यता हो । यो समयमा आफूले आफैंलाई जोगाउने र जोगिएर बस्नुमै बुद्धिमानी छ । सरकारले द्रुत परीक्षण पनि गरिरहेको छ । विशेष गरेर इमानदार र असल स्थानीय सरकारका प्रतिनिधिलाई पनि कहाँ निद्रा लागेको छ र ! आलोचना गर्नेलाई भनिदिए भइगयो तर यथार्थमा काम सम्पन्न गर्न त्यति सहज छैन । हुन त आलोचना पनि गलत व्यवहारमा लिप्त भएकै कारणले हुने हो । राहत व्यवस्थापन, छुट्टै बसाइ (आइसोलेसन) को व्यवस्थापन, गरिबी पहिचान र सहयोग इत्यादि समस्याको हल गर्ने कामले धेरै जनप्रतिनिधिलाई यतिखेर भ्याइनभ्याइ छ । मनकारी व्यक्ति र संस्थाले सहयोगी हात नबढाएका पनि होइनन् तर मौकामा चौका छोप्नेको भीड पनि कम छैन ।
आफू जोगिनेभन्दा बढी अरूलाई जोगाउने ध्यानमा प्रहरी र स्वास्थ्यकर्मी कटिबद्ध छन् । साथमा अहिले सबैभन्दा धेरै स्वास्थ्यकर्मीसँग बढी चुनौतीको भय छ । जसरी संकटकालीन समयमा सुरक्षाकर्मीलाई भय हुन्थ्यो, द्वन्द्वरत पक्षलाई पनि ज्यानको माया हुन्थ्यो तर लड्ने अठोट हुन्थ्यो आज संसारकै स्वास्थ्यकर्मी त्यही संकटको घेरामा छन् । आज विश्वको आलाप स्वास्थ्य सुरक्षाको लागि छ । मान्छेलाई यतिखेर जग्गालाई बाँझो राख्ने, प्लटिङ गर्ने होइन खेती गर्नु आवश्यक हो भन्ने ज्ञान केही हदमा घुसेको हुँदो हो । आखिर बाँच्नु ठूलो कुरा रहेछ । अरूको जीवन रक्षाका निम्ति आफ्नै जीवनको जोखिमलाई वहन गर्नु परिरहेको परिस्थितिमा स्वास्थ्यकर्मी र प्रहरीको टोली नै रातोदिन कटिबद्ध छ । प्रहरीहरूलाई घरबाहिर ननिस्कनुस् भन्दै हात जोड्नु परिरहेको छ । हामी भने जानाजान मुर्ख भइरहेका छौँ । सहजमहज छ तर तमासा गरिरहेका छौँ । भूकम्पमा नक्कली पीडित बन्ने, चामल कुहाउने र कुहिएको चामल बाँढ्ने, भ्रष्टाचारी मुख बाउने लगायतका संवेदनामा भएका प्रहार यो महामारीमा पनि दोहोरिनुले हामी र हाम्रो सोचमा परिवर्तन कहिले आउँछ भन्ने प्रश्न उठ्छ ।
अन्य मौसमी रुघाखोकीको पनि उपचार गर्नमा तर्किएर मानिसको स्वास्थ्यमा लापरबाही गर्नु भने पक्कै पनि अमानवीय सोच हो । हामी स्वास्थ्यकर्मीलाई भगवान् भन्न चाहन्छौँ । हामीलाई न त औषधी थाहा हुन्छ न उपचार । हरेक दिन गाडी ड्राइभरले जोखिम मोलेरै यात्रुलाई गन्तव्यमा पु¥याइरहन्छ । डाक्टरका लागि पनि यो चुनौतीका साथमा कर्तव्यनिष्ठ बन्ने अवसर हो । प्रहरीद्वारा पनि यसअघि अमानवीय व्यवहार भएका घटना आए । यस्ता घटनाले हामी समयोचित र सकारात्मक सोचबाट टाढा छौँ भन्ने पुष्टि हुन्छ । वास्तवमा मानवताभन्दा ठूलो जात रहेनछ । दया र प्रेमभन्दा ठूलो धर्म रहेनछ । पुर्खाको नैतिक शिक्षा आज व्यावहारिक देखिँदै गएको छ । यो अवस्था साम्य हुनासाथ मान्छे उसै गरी निर्दयी बन्ला तर समयले अलिकति भए पनि दम्भ चिर्दै छ । मान्छे त स्वार्थको पोको बोकेर दगुर्न बाँकी राख्दैन । तसर्थ, कमसेकम असल मानिस बनेर सुखी जीवनको बाटोतिर मोडिनु मानिसको जीवनको सार्थकता पनि त होला ।
ग्रामीणीकरण
अबको हाम्रो रहर र अवस्थाले विकेन्द्रीकृत पद्धतिसँग ग्रामीण जीवनशैलीसँग शहरी सुविधाको आवश्यकतालाई बोध गराएको छ । आजको सबैभन्दा ठूलो सहकर्मी इन्टरनेट साबित भएको छ । तर, मानिसले आज पारिवारिक आनन्दबाट टाढिँदाको पीडाबोध पनि गरिरहेको छ । बसेकै स्थानमा अड्किएका नेपालीका पीडा आफ्नै छन् । मुलुकको ठूलो हिस्सा रेमिट्यान्समा अडेको हाम्रो मुलुकमा आर्थिक मन्दीको भय बढ्ने देखिन्छ । अब विदेशबाट कम्पनी डुबेर वा अन्य कुनै पनि कारणले धेरै नेपाली भित्रिने सम्भावना पनि उत्तिकै छ । यसर्थ प्राकृतिक जीवन र भौतिक सम्पन्नताको रहरलाई प्रविधिसँग जोड्नुपर्छ । मानव सोचले अब स्वास्थ्य र शिक्षाको आवश्यकतासँग गाँसिएको आत्मनिर्भर जीवनशैलीलाई सिकाउँदै छ । कृषिको विकासका लागि अत्याधुनिक प्रविधिको खाँचो महसुस हुँदैछ । अर्काको मुलुकमा एक्लै बस्नुपर्दाको पीडा र त्यहाँको अप्ठ्यारोमा भोग्नु परेको दशाले मान्छेलाई हृदयमा चोट पु¥याइरहेको छ ।
वास्तवमा विपत्मा सबैभन्दा बढी पीडा त विपन्न, मजदुर र गरिबलाई हुने रहेछ । यहाँ हामीले जातको समावेशिताका आवाजलाई सम्बोधन जे जसरी गरे पनि आयस्रोतका आधारमा सम्बोधन नगरिनुको दशाले प्रहार गरिरहेको छ । गरिब सधैँ गरिबै भयो । विकल्प भएन । बाठैले सुविधा भोग्छन्, तिनकै भनसुन हुन्छ । यसर्थ युगले अब आत्मनिर्भरतालाई सिकाउँदै छ । व्यक्ति वा जनता अनि देश नै आत्मनिर्भरताको मार्गमा अघि बढ्न सक्नुपर्छ । कृषिको विकासमा नयाँ पाइलो सार्ने नवीन अभियान अबको टड्कारो आवश्यकता हो । आन्तरिक उद्योग विकासमा अघि बढेर आत्मनिर्भर हुनुपर्छ । यो स्वदेशी आत्मनिर्भरताको मार्गमा एकाकार हुने तथा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका विषयमा नेतृत्व एकजुट हुन सक्नुपर्छ । किनकि, देश र जनता रहे मात्र राजनीति र भविष्य सम्भव हुन्छ ।
(लेखक भाषा र साहित्यका साथै समसामयिक सन्दर्भमा कलम चलाउनुहुन्छ ।)





























प्रतिक्रिया