काठमाडौं ।
कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसले बिहिबार (वैशाख ४ गते) बिहानसम्ममा २० लाख ८२ हजार मानिसलाई संक्रमित तुल्याइसकेको छ भने १ लाख ३४ हजारभन्दा बढी मानिसले यही भाइरसले गर्दा अकालमै ज्यान गुमाइसकेका छन् । लाखौं मानिसमा निरन्तर बढ्दो रूपमा देखा परिरहेको यो नयाँ महामारीले अहिलेसम्म सबैभन्दा बढी प्रभावित मुलुकका रूपमा अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायत देखिएका छन् जहाँ कोभिड–१९ बाट मर्नेको संख्या दश हजारभन्दा बढी छ– अमेरिकामा २८ हजार, इटालीमा २१ हजार, स्पेनमा १८ हजार, फ्रान्समा १७ हजार र बेलायतमा १२ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।
त्यसो त अहिलेसम्म कोभिड–१९ ले विश्वका १९३ देशमा आफ्नो संक्रमणको जालो फैलाइसकेको छ तापनि माथिका पाँच देशबाहेक इरान र बेल्जियम त्यस्ता मुलुक हुन् जहाँ यो महामारीले गर्दा चार हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने चीन र नेदरल्यान्ड्समा मर्नेहरूको संख्या तीन हजारभन्दा माथि पुगिसकेको छ । यसैगरी टर्की, क्यानाडा, स्वीट्जरल्यान्ड, ब्राजिल र स्वीडेन समेत गरी पाँच मुलुकमा मर्नेहरूको संख्याले एक हजार नाघेको छ ।
त्यसो त पछिल्ला करिब चार महिनादेखि संसारलाई त्राहि–त्राहि पारिरहेको नयाँ कोरोना भाइरस र मानव समाजबीच भइरहेको निर्मम लडाइँ अहिले मात्र अस्तित्वमा आएको होइन, अठार वर्ष पहिलेदेखि चल्दै आएको हो । अहिले विश्वलाई हायलकायल पारिरहेको कोभिड–१९ भन्दा पहिले देखिएको पछिल्लो विश्व महामारी थियो स्वाइन फ्लु अर्थात् ‘एच वान एन वान’ भाइरस जुन सन् २००९ मा सुरु भएर एक वर्षसम्म संक्रमित भइरहेर नियन्त्रणमा आएको थियो । यो महामारीले विश्वभरिमा कूल करिब डेढ अर्ब (१ अर्ब ४० करोड) मानिसलाई संक्रमित तुल्याएर डेढ लाखदेखि साढे पाँच लाख मानिसको ज्यान लिएको थियो । अमेरिकामा अप्रिल २००९ देखि अप्रिल २०१० को एक वर्षे अवधिमा यो स्वाइन फ्लु महामारीबाट करिब सात करोड मानिस संक्रमित भएका थिए, २ लाख ७४ हजार मानिस अस्पताल भर्ना हुन् पुगेका थिए र १२ हजार ५ सय मानिसको मृत्यु भएको थियो ।
तथ्यांकहरू भन्छन्– सन् २००३ फेब्रुअरीमा एच फाइभ एन वान एभियन इनफ्लुएन्जा अर्थात् सार्स कोरोना भाइरस सर्वप्रथम चीन र भियतनाममा देखा परेर विभिन्न २९ देशमा फैलिएको थियो, त्यसबाट ८,०९६ जना संक्रमित भएका थिए जसमध्ये ७ सय ७४ जनाको मृत्यु भएको थियो । पाँच महिनाको अवधि अर्थात् जुलाई २००३ मै यसको औषधि तयार भयो र यो महामारीमाथि पूर्ण विजय प्राप्त भएको थियो । त्यसपछि यो रोग कतै देखा परेन ।
यसैगरी पहिले सन् २०१४–२०१६ मा र त्यसपछि फेरि २०१८ मा अफ्रिकाका गिनी र कङ्गो देशहरूमा घातक संक्रामक महामारी ‘इबोला’ (इभिडी) देखा परेर खासगरी ती दुई देशबाहेक इटाली, माली, सेनेगल, नाइजेरिया, सियरालियोन, लाइबेरिया, स्पेन, बेलायत र अमेरिकासम्म फैलिन पुगेको थियो । इबोला महामारी २८,६०० मानिसमा संक्रमित भएर ११,३२५ मानिसको ज्यान लिइसकेपछि नियत्रणमा आएको थियो ।
अहिलेको कोभिड–१९ महामारीभन्दा सय वर्ष पहिले अर्को महामारीले दुनियाँलाई रुवाएको थियो, त्यो महामारीलाई ‘स्पेनिस इनफ्लुएन्जा’ अथवा ‘स्पेनिस फ्लु’ भनेर बढी चिनिन्छ । आधुनिक मानव इतिहासमा यो सबैभन्दा घातक महामारी मानिन्छ । त्यो महामारी ‘एच वान एन वान’ नामक विषाणुबाट सर्वत्र संक्रमित भएको थियो । चिकित्सा वैज्ञानिकहरू त्यो महामारीको उद्गम विश्वको कुन ठाउँबाट भएको थियो भन्ने सम्बन्धमा एकमत छैनन् तर पहिलो विश्वयुद्ध सकिए लगत्तै सन् १९१८ मा सुरु भएर करिब पाँच वर्षसम्म संसारलाई सताएको त्यो महामारीले गर्दा तत्कालीन विश्वको एक तिहाइ जनसंख्या अर्थात् करिब पचास करोड मानिस संक्रमित भएका थिए भने पाँच करोड मानिसको मृत्यु भएको थियो । त्यसमध्ये अमेरिकामा मात्र ६ लाख ७५ हजार मानिसको मृत्यु भएको थियो । तथ्यांकअनुसार, भारतमा त्यो महामारीबाट करिब पौने दुई करोड मानिसको मृत्यु भएको थियो ।
त्यो समयमा यति धेरै मृत्यु हुनुको एउटा मूल कारण के थियो भने तिनताका अहिलेजस्तो एन्टीबायोटिक औषधिहरूको प्रयोगको विकास भइसकेको थिएन भने मेडिकल उपकरणहरूको प्रयोग त झन् प्रारम्भिक अवस्थामा मात्र थियो । घरेलु औषधिको प्रयोग नै अत्यधिक हुने समय थियो । सम्बन्धित भ्याक्सिनको विकास र प्रयोगको कुरा त टाढाकै कुरा थियो । चिकित्सकीय तथ्यांकअनुसार, स्पेनिस फ्लु खासगरी पाँच वर्षभन्दा कम उमेरका शिशु, २० देखि ४० वर्षको बीच उमेरका युवा र ६५ वर्ष वा त्योभन्दा ’ माथिको उमेर समूहका मानिसहरूलाई बढी संक्रमित भएको थियो । उक्त फ्लुबाट यो तीन उमेर समूह नै बढी किन प्रभावित हुन गएको थियो भन्ने प्रश्नको जवाफ चिकित्सा वैज्ञानिकहरूले अहिलेसम्म यकिन गर्न सकेका छैनन् ।
त्यतिबेला पनि सरकारहरूले नभने पनि त्यो महामारीबाट बच्नका लागि औषधि प्रयोगभन्दा बाहिरको कुरा अर्थात् आइसोलेसन (अलगाव), क्वारेन्टाइन, स्वच्छता एवम् सरसफाइ, स्यानिटाइजर, अनि सभा–समारोह अथवा भिडभाडबाट पृथक् रहने नीति अख्तियार गरिएको थियो । अहिले कोभिड–१९ महामारीले आक्रान्त विश्वमा पनि नयाँ शब्दावलीका रूपमा ‘सोसल आइसोलेसन’, सेल्फ आइसोलेसन वा सेल्फ क्वारेन्टाइन’, ‘सोसल डिस्टान्सिङ’, ‘लकडाउन’ कै नीति अँगालिँदै छ र यही नीतिको सहयोगले गर्दाले नै नयाँ कोरोना भाइरसको संक्रमणको गतिमाथि धेरै हदसम्म नियञ्त्रण कायम गर्न सकिएको देखा परिरहेको छ ।
अमेरिकाको कुल जनसंख्या ३३ करोड छ । यो भनेको वर्तमान विश्व जनसंख्याको चार प्रतिशत मात्र हो तर कोभिड–१९ बाट संक्रमित भई मर्ने अमेरिकीहरूको प्रतिशत समग्र विश्वमा अहिले तीस प्रतिशतभन्दा बढी छ । अमेरिका आफैँमा विभिन्न विषयसित सम्बन्धित अनुसन्धानमा महाशक्ति हो तर पनि यसले अझै कोभिड–१९ महामारीविरुद्ध कुनै औषधि अथवा भ्याक्सिनको विकास गर्न सकेको छैन । त्यसो त यहाँ औषधि बनाउने कम्पनी र मेडिकल रिसर्च केन्द्रहरू कोरोना भाइरससित सम्बन्धित निरन्तर धेरैभन्दा धेरै जानकारी संकलन गर्दैछन् जसले गर्दा यस महामारीबाट बच्न र बचाउन सकिने नीति तर्जुमा गर्न सकियोस् । यद्यपि, सम्बन्धित विज्ञहरूका अनुसार, यी र यस्ता प्रयासहरूको परिणाम निस्कन थुप्रै महिना लाग्न सक्छन् । अमेरिकाको नेसनल इन्स्टिट्युट अफ एलर्जी एन्ड इनफेक्सन डिजिजेज का निर्देशक डा. एनथनी फाउचीले भविष्यवाणी गर्दै भनेका थिए– यस नयाँ कोरोना भाइरस विरोधी भ्याक्सिन विकास गर्न एक वर्षदेखि डेढ वर्षसम्मको समय लाग्न सक्छ । यसर्थ अहिलेको प्रयास यस भाइरसबाट मर्नेहरूको संख्या कमभन्दा कममा सीमित गर्न सकियोस् भन्ने रहेको छ ।
सुरुमै कोभिड–१९ को भयानक संक्रामक चपेटामा रहेका वासिंगटन, क्यालिफोर्निया र ओहायो राज्यहरूमा त्यहाँका गभर्नरहरूले स्कुलहरू बन्द गर्नुका साथै सोसल डिस्टान्सिङ र क्वारेन्टाइनको आदेश जारी गरेकाले त्यहाँ यो महाव्याधिको संक्रमण हुने गति मत्थर भएर आयो । अन्य औषधि नभएको समयमा नयाँ कोरोना भाइरसको यो उपचारमा यही नीति प्रभावकारी देखियो जबकि न्युयोर्क, मिशिगन, न्युजर्सी, लुजियाना आदि राज्यहरूमा धेरै ढिलो गरी मात्र यी नीति अनुशरण गर्न थालिएको हो । यी राज्य नै अमेरिकामा सर्वाधिक प्रभावित बनिरहेका छन् ।
भनिँदै छ, कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । खासगरी दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण हुन सक्छ । त्यसैले कोरोना स¥यो नै भने पनि आत्तिनु पर्दैन । यसबाट हुने मृत्युदर निकै कम छ । त्यसै पनि सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४ लाख ५० हजार व्यक्तिको मृत्यु हुन्छ ।
कोरोना भाइरसको औषधि छैन । तसर्थ, चिकित्सकहरूका अनुसार, ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने गर्नुपर्छ र गाह्रो भए मात्र अस्पताल जानुपर्छ । कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ, तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन । एकजना चिकित्सक भन्छन्, ‘कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ । क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा–खोकी हो । तसर्थ डराउनु पर्दैन । यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा यो ९० प्रतिशत रोकथाम हुन्छ ।’
सक्रिय नर्सिङ पेसामा बीस वर्षभन्दा धेरै समय बिताइसकेकी कोमल शर्मा कोभिड–१९ भाइरसको खास औषधि पत्ता लगाइनसकेको अवस्थामा केही संक्रमितहरूको अनुभवको आधारमा पनि रुघा–खोकीको घरेलू उपचारलाई निरन्तरता दिन अनुरोध गर्छिन् । उनका अनुसार, अस्पतालमा भर्ना भएका बिरामीलाई ज्वरो छ भन्दैमा आइभीमार्फत तरल पदार्थ दिनुभन्दा ओरल (मुख) द्वारा दिने र तातो दिने व्यवस्था गर्दा राम्रो हुने विश्वास छ । नियमित पोषिलो खाना र फलफुलका साथै हरेक तीन घण्टामा एक गिलास तातो पेय पदार्थ, जस्तो– तातो पानीमा ताजा कागतीको रस राखेर, तुलसी, मरिच, ल्वाङ्ग अदुवा (तुमल्वाअ) पकाएको, दालको रस, जीरा ज्वानो, बेसार, टिमुर, लसुन जिम्मु, (जिज्वाबेटिलजि) पकाएको, गुर्जो पकाएको र नेपाल सरकारले सिफारिस गरेका जडिबुटी र मरिच राखेर चिया पालैपालो) दिने र लिने व्यवस्था घरमा र अस्पतालमा गरिरहनु सर्वोत्तम हुन्छ ।
कोरोना भाइरस चार दिनसम्म घाँटीमा रहने र उपचार नपाए फोक्सोतिर जाने अनि सास फेर्न गा¥हो हुने भनिएको छ । यस भाइरसको बाहिरी भाग बोसोले बनेको हुनाले तातोले यसलाई निस्क्रिय बनाउने रहेछ । तसर्थ, घाँटीमा हुँदै तातो पिउने र तातो नून पानीले कुल्ला गरी निस्क्रिय बनाई गम्भीर बिरामी हुनबाट बच्न सकिन्छ । न्यानो भई बस्नाले पनि यसलाई कमजोर बनाउन सकिने अनि पर्याप्त मात्रामा आराम गर्नु र सकारात्मक हुनाले पनि यस रोगसँग लड्ने शक्ति बढ्ने भनिएको छ ।
यसको अर्थ हो– नयाँ कोरोना भाइरस एउटा नदेखिने दुस्मन हो । यो नदेखिने दुस्मनविरुद्ध विश्व निर्मम लडाइँ लडिरहेछ । नयाँ खोप वा औषधिको विकास हुन नसक्दासम्म लकडाउन, आइसोलेसन र सोसल डिस्टान्सिङ नै यसविरुद्धका कारगर हतियार बनेर रहने देखिन्छन् । यसो भए तापनि कोभिड–१९ को प्रस्ट प्रभावस्वरूप दयनीय दैनिक जनजिन्दगानी, खाद्यान्न अभाव, चर्को बेरोजगारी, आर्थिक संकट र अन्य असुविधाहरूको सगरमाथा ठडिने स्थिति त लगभग उत्पन्न भइ नै सकेको छ । अर्थात्, मानवीय जीवनका थप त्रासद दिनहरूको दारुण तस्बिर विश्वका विभिन्न मुलुकमा निकट भविष्यमा देखिने सम्भावना जीवन्त छ ।





























प्रतिक्रिया