कोरोना भाइरसले बढी प्रभावित हुने १० क्षेत्र

कोरोना भाइरसले बढी प्रभावित हुने १० क्षेत्र

केन्द्रबिन्दु
0
Shares

  • विदुर खतिवडा-

कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम नियन्त्रणका लागि भन्दै सरकारले आगामी चैत २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । लकडाउन विस्तारै खुकुलो हुँदै जाला तर देश पूर्ववत सामान्य अवस्थामा फर्कनको लागि भने निकै समय लाग्ने देखिन्छ । यसले देशका हरेक क्षेत्रमा निकै गम्भीर असर गर्नेछ र समग्र अर्थतन्त्रमा नै ठूलो मन्दी आउने देखिन्छ । विश्वव्यापी रूपमा नै आर्थिकमन्दी शुरु भईसकेको घोषणा अन्तर्राष्ट्रिय मुद्रा कोषले यस अगाडि गरिसकेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा पनि आर्थिकमन्दी शुरु भईसकेको छ जसको प्रत्यक्ष असर नेपाललाई पर्नेछ । लकडाउनले कहाँ कहाँ असर गर्छ ? केही क्षेत्रमा यसले पार्ने नकारात्मक असरहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

पर्यटन

कोरोना भाइरसले सबैभन्दा पहिले ‘हिट’ गरेको क्षेत्र हो पर्यटन क्षेत्र । तत्काल नै कोरोना भाइरसको अन्त भएपनि पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कनको लागि धेरै समय लाग्छ । यसले होटल, हवाईजहाज कम्पनी र अन्य कम्पनीहरुलाई मात्र असर गदैन, यी क्षेत्रमा रोजगारी पाएकाहरुले पनि रोजगारी गुमाउने सम्भवाना देखिन्छ । अहिले नै होटलहरू बन्द भईसकेका छन् । पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । हवाईजहाज र हेलिकप्टर कम्पनीहरु संकटमा परिसकेका छन् । अहिले नेपालका पाँचतारे लगायत सबै होटलहरु बन्द छन र नेपालमा रहेका पर्यटकहरु समेत धमाधम फर्किरहेका छन् ।

खाद्यसंकट

लामो समयसम्म कोरोनाले संक्रमण रह्यो भने यसले देशका विभिन्न भागमा खाद्यसंकट समेत उत्पन्न हुनसक्छ किनभने आयातमा कमी आउने छ । विभिन्न मुलुकले नेपालमा निर्यात गर्दै आएका सामग्रीहरु रोक्न सक्नेछन् । विशेषतः उत्पादनमा कमी हुँदा भारतले नै दाल, चामल लगायतका अन्य खाद्यान्न आयातमा रोक लगायो भने त्यसको प्रत्यक्ष असर नेपालमा पर्नेछ । केही महिनाको लागि चाहिने खाद्यान्न रहेपनि अवस्था यस्तै रहेमा खाद्यान्न संकट उत्पन्न हुने सम्भावना धेरै रहेको छ ।

ज्यालादारी मजदुर 

कोरोना भाइरसको प्रभावले दैनिक ज्यालादारी मजदुरहरुलाई निकै असर गरेको छ । आर्थिकमन्दी हुँदा सबैभन्दा पहिला उनीहरुले नै रोजगारी गुमाउनेछन् । सरकारले उनीहरुलाई राहतको व्यवस्था गरेको छ तर लामो समयसम्म यो कायम हुँदा सरकारले त्यो पनि धान्न सक्ने छैन । अहिले नै काठमाडौँमा दैनिक रोजगारी गर्नेहरू काठमाडौँ छोडिरहेका छन् ।

रेमिट्यान्स/अर्थतन्त्र

मध्यपूर्वी क्षेत्र, मलेसिया र अन्य विभिन्न मुलुकमा अहिले लाखौं नेपाली कामदार छन् । कोरोनाका कारण उनीहरुमध्ये कतिपयले यस अगाडि नै रोजगारी गुमाईसकेका छन् भने यही अवस्था लम्बिएमा अन्य धेरैले रोजगारी गुमाउने सम्भावना छ । त्यतिबेला उनीहरुसँगको एउटै विकल्प भनेको घर फर्कनु नै हो ।

तर, स्वदेशमा रोजगारीको सिर्जना भएको छैन । एकातिर ठूलो युवापंक्ति वेरोजगार हुने सम्भावना त छँदैछ, अर्काेतर्फ यसले नेपालको अर्थतन्त्रमा समेत नराम्रोसँग असर गर्नेछ । अहिले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २५ प्रतिशतको हाराहारीमा छ र कतिपय सन्दर्भमा यो २८ प्रतिशत पनि पुग्ने गरेको छ । यसले देशको अर्थतन्त्रमा निकै नकारात्मक असर गर्नेछ । अहिले विदेश जाने क्रम ठप्प छ ।

कृषि

यसअघि कुनै पनि संकटले खासै असर नगरेको कृषि क्षेत्रमा कोरोनाले नकारात्मक असर गरेको छ । एकातिर कृषकहरुका लागि चाहिले सामग्रीको अभाव रहेको छ भने अर्काेतर्फ उत्पादन भएका अन्नबालीहरु बजारमा पुर्‍याउने कार्यमा अवरोध उत्पन्न भएको छ । ग्रामिण भेगमा उत्पादन भएका तरकारी र फलफूल बजारसम्म पुग्न सकेको छैन । त्यसैगरी उत्पादन भएको अन्न कृषकको घरमा नै थुप्रिएको छ जसले गर्दा कृषकहरु प्रत्यक्ष मारमा पर्नेछन् ।

विदेश जाने विद्यार्थी

विभिन्न देशमा अध्ययनमा रहेका विद्यार्थीहरु यसबाट बढी प्रभावित छन् । अष्ट्रेलिया लगायत विभिन्न देशमा लाखौंको संख्यामा नेपाली विद्यार्थीहरु रहेका छन् । उनीहरुले पार्ट टाइम काम गरेर कलेजको फि तिरिरहेका र आफ्नो जीवन गुजारा गरिरहेका छन् । लामो समयसम्म ति देशहरुमा लकडाउन हुँदा र रोजगारी गुम्दा उनीहरुसँग कुनै पनि विकल्प बाँकी रहँदैन् । न त नेपाल सरकारले उनीहरुलाई विमान चार्टर गरेर ल्याउन सक्छ । अष्ट्रेलियाका प्रधानमन्त्रीले विदेशी विद्यार्थीहरुका लागि आफ्नो सरकारले केही गर्न नसक्ने घोषणा गरिसकेका छन् जसले गर्दा त्यहाँ रहेका नेपालीहरु मारमा पर्ने पक्का छ । यतिबेला नै विदेशमा रहेका विद्यार्थीहरुले आफ्ना आमाबुबालाई पैसा पठाइदिन आग्रह गरिरहेका छन् ।

मिडिया

यसको प्रत्यक्ष र तत्काल असर मिडिया क्षेत्रमा पर्नेछ । उद्योग धन्दा र कलकारखाना संकटमा परेपछि उनीहरु विज्ञापन गर्न सक्ने अवस्थामा हुने छैनन् जसले गर्दा मिडिया क्षेत्रको आम्दानी घट्नेछ र त्यसले मिडिया क्षेत्रमा नराम्रो असर गर्नेछ । कतिपय मिडिया हाउसहरु यस अगाडि नै संकटमा थिए, यसले झन संकटको अवस्था सिर्जना गर्नेछ ।

शिक्षा

शिक्षा क्षेत्रमा त यसको गम्भीर असर यस अगाडि नै परिसकेको छ । एसइई लगायतका महत्वपूर्ण परीक्षाहरु रोकिएका छन र कहिले सुचारु हुन्छ भन्ने कुनै पनि टुंगो छैन । यस गर्दा विद्यार्थीको एक वर्षको समय नै खेर जाने अवस्था देखा पर्दैछ । कोरोनाको प्रभाव सकिएपछि पनि परीक्षा लगायतका अन्य प्रक्रियाहरु पूरा गर्नको लागि पर्याप्त समय लाग्दछ । त्यसैले शिक्षा क्षेत्रमा एउटा सेसन नै गुम्ने खतरा रहेको छ ।

स्वास्थ्य 

स्वास्थ्य क्षेत्रमा त यसले पहिला नै नकारात्मक असर गरिरहेको छ । निजी अस्पतालहरुले विरामी भर्ना गर्न र उपचार गर्न मानिरहेका छैनन् । यसले गर्दा गम्भीर विरामी भएकाहरुले पनि उपचार नै नपाई मृत्यु हुने अवस्था सिर्जना भएको छ । यति मात्र होइन, संकट लामो समयसम्म रहँदा बजारमा अत्यावश्यक औषधिहरूको समेत अभाव हुनेछ । त्यसैले विभिन्न क्षेत्रमा पर्ने असरहरुलाई कसरी कम गर्ने भन्ने सम्वन्धमा सरकारले गम्भीर रुपमा सोच्न ढिलो भईसकेको छ ।

राजनीति

राजनैतिक क्षेत्रमा पनि कोरोनाभाइरसको गम्भीर असर पर्ने देखिन्छ । राजनीतिक दल र सरकारप्रति जनताको विश्वास विस्तारै गुम्दै जानेछ । जसले गर्दा देशमा विस्तारै गैरराजनीतिक शक्तिको वोलवाला बढनेछ । अहिले नै दुई तिहाईको सरकारले आवश्यक औषधि खरिद गर्न नसकेर सेनालाई जिम्मा लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । यदि भोलि महामारीको अवस्था भयो र सरकारले सम्हाल्न सकेन भने स्थिती झन विकाराल बन्न सक्छ ।

लकडाउनसँगै विभिन्न क्षेत्रमा परिरहेको गम्भीर असरलाई कसरी कम गर्ने भन्ने सम्बन्धमा सोच्न ढिलो भईसकेको छ । यस सम्बन्धमा सरकारका विभिन्न मन्त्रालय र निकायहरुले कार्ययोजना बनाउन ढिलो भईसकेको छ ।

Skip This
Skip This
Logo