- डा. टीकाराम पोखरेल-
गत वर्षको डिसेम्बरको अन्त्यबाटै विश्वमा कोरोना भाइरस (कोभिड–१९) फेला परेको भए पनि यस वर्षको पछिल्लो एक महिना भने यसले विश्व मानव सम्यतालाई नै कडा चुनौती दिइरहेको छ । संसार कोरोनामय भएको छ ।
कोरोनाको रोकथाम र नियन्त्रण विश्वको यतिबेलाको एक मात्र सामूहिक चासो र चिन्ताको विषय भएको छ । कोरोनाको संक्रमणबाट बच्न विश्वका धेरै मुलुकले ‘लकडाउन’को विधि अपनाएका छन् । नेपाल पनि यतिबेला ‘लकडाउन’मा छ । तर कोरोनाको नियन्त्रण गर्न भनेर एकातिर ‘लकडाउन’को समय लम्ब्याइँदै छ भने अर्कातिर त्यत्तिकै यसको नियन्त्रणका यात्रामा ‘लुपहोल’हरु देखिएका छन् ।
जस्तै:
१. ‘लकडाउन’का कारण देशका ठूलाठूला कार्यालय, विद्यालय, कलकारखाना, व्यवसाय बन्ददेखि लिएर निम्न वर्गका मजदूरका गरिखाने डोको नाम्लो समेत बिसाइएका छन् । दैनिक जनजीवनमा जतिसुकै असर परे पनि सर्वसाधारण धैर्यतापूर्वक घरभित्र बसेका छन् । तर जसरी सर्वसाधारण ‘लकडाउन’लाई अनुशासन मानेर पालना गरिरहेका छन्, ठूला बडाहरु भने सडकमा गाडीमा हुँइकिरहेका छन् । सडकमा गाडीमा हुइँकिनेलाई सवारी पास छ, तर पिठ्युँमा भारी र टाउकोमा नाम्लो हाल्ने मजदूरका लागि यो ‘लकडाउन’मा मजदूरी गर्ने अनुमति पास छैन । यस्तो विभेद गरिएको छ मानौँ कि संक्रमण धनीबाट सर्दैन, गरिबबाट मात्र सर्छ । गरिबलाई थुन्नुपर्छ र धनीलाई सडकभर छोडिदिए पनि केही फरक पर्दैन भन्ने विभेदको व्यवहार ‘लकडाउन’मा प्रष्ट देखिन्छ ।
२. दिउँसो धनीमानीका निजी सवारी साधन र सरकारी सवारी साधन बाहेक सर्वसाधारणका लागि सार्वजनिक सवारी साधन चल्दैनन् । तर रातभरि तरकारीदेखि अन्य दैनिक उपभोग्य सामान ओसारेर फर्कने गाडीहरुले कोचाकोच मानिस ओसारिहेका छन् । मध्यरातमा बल्खु, कोटेश्वर, बालाजु जस्ता क्षेत्रमा दैनिक उपत्यका छोड्नेको घुइँचो लाग्ने गरेको समाचार आइरहेका छन् । यसले एकातर्फ सर्वसाधारणले असुविधाजनक यात्रा गनुपर्ने, सर्वसाधारण यात्रु ठगिने गरेका छन् भने अर्कोतर्फ भीडभाडले गर्दा कोरोनाको संक्रमण एकअर्कोमा सर्ने संभावना समेत त्यत्तिकै बढेको छ ।
३. देश ‘लकडाउन’ भएसँगै कालोबजारी गर्नेहरु सल्बलाएका छन् । कृत्रिम अभाव सिर्जना गरिएको हो वा साँच्चैको अभाव हो भन्ने कुरा बुझ्न सर्वसाधारणलाई निकै गाह्रो छ । सरकार भनिरहेको छ– कुनै कुराको अभाव छैन र हुँदैन । तर बजारमा ग्याँसको अभाव छ । सरकारको बोली र बजारको अवस्था हेर्दा के लाग्छ भने कि सरकार कुनै कुराको अभाव छैन भनेर जनतार्ला ढाँटिरहेको छ, कि कृत्रिम अभावको नियन्त्रण गर्न सरकार असफल भएको छ । यी दुईमध्ये एक त सरकारले स्वीकार गर्नैपर्छ । अन्यथा सरकारको दाबी सर्वसाधारणले पत्याउँदैनन्, जबसम्म आपूर्ति सहज हँदैन ।
४ . मत्युु संख्या कम भए पनि अहिले कोरोनाको संक्रमित सबैभन्दा बढी अमेरिकामा देखिएका छन् । विश्वका अन्य मुलकको तुलनामा अमेरिकाले आफ्नो देशमा बढीभन्दा बढी संख्यामा कोरोना संक्रमितको परीक्षण गरिएका कारण संक्रमित संख्या पनि अरु देशको तुलनामा अमेरिकामा बढी देखिएको दाबी गरिरहेको छ । यति अमेरिकाको यो कुरा सत्य मान्ने हो भने नेपालमा पनि परीक्षण नै कम भएका कारण संक्रमित संख्या न्यून देखिएको त होइन ? त्यसैले नेपालमा देखिएको भन्दा बढी संक्रमित हुन सक्छन्् भन्ने आशंका जन्मिएको छ । तर यो प्रश्न उठाउनुको मतलब देशमा धेरै संक्रमित देखियून भन्ने चाहिँ होइन, बरु जतिसुकै संख्यामा परीक्षण गर्दा पनि संक्रमण पुष्टि नहोस् र बढी संक्रमित छन् भन्ने आशंका गलत ठहरियोस् भन्ने नै हो ।
५. नेपालमा अहिलेसम्म जति पनि संक्रमित देखिएका छन् ती विदेशबाट नेपाल आएकाहरु छन् । जो संक्रमण पुष्टि भएका छन्, तिनीहरुको संसर्ग गरेका व्यक्ति पनि संक्रमित हुनसक्ने संभावना बढ्दो छ । कोरोना भाइरसको उद्गमस्थल नेपाल होइन, कोरोनाको भाइरस बाहिरबाट नै आउने हो भन्नेमा हामी प्रष्ट भैसकेका छौँ । तर प्रश्न के उब्जिएको छ भने चीन, युरोप र खाडीका विकसित मुलुकबाट व्यवस्थित रुपमा सचेतता अपनाउँदै नेपाल प्रवेश गरेका नेपालीहरुबाट त नेपालमा भाइरस संक्रमण भित्रियो भने भारतबाट अव्यवस्थित रुपमा नेपाल भित्रिएका नेपालीहरुबाट संक्रमण नभित्रिएला भनेर कसरी विश्वास गर्ने ?
अहिले पनि भारतीय सीमाबाट अव्यवस्थित रुपमा नेपाल पस्नेको लर्को देखिन्छ । स्वदेश फर्कन पाउनु हरेक नागरिकको अधिकार हो । तर यो संकटको घडीमा त्यसरी भारतीय सीमाबाट पसेका नेपालीहरुको कोरोनाको व्यवस्थित परीक्षण गर्ने र क्वारेण्टाइन वा आइसोलेशनमा राखी अरुमा सर्न नदिने सतर्ककता अपनाउनु सरकारको दायित्व हो । सरकारले बनाएको नियम पालना गरी अनुशासित हुनु सीमाबाट भित्रिएका नागरिकको पनि कर्तव्य हो । स्वास्थ्य जस्तो संवेदनशील कुरामा सरकार र नागरिक दुवै उत्तिकै जिम्मेवार बन्नु जरुरी छ । तर दुवै पक्षबाट जिम्मेवारीबोध गरेको देखिँदैन ।
६. नेपालभित्र अहिलेसम्म भेटिएका कोरोनाको संक्रमितहरु जहाजबाट आएका यात्रु मात्र भेटिएकोले ती संक्रमित यात्रुसँग जहाजमा यात्रा गर्नेको खोजि भएको समाचार आइरहेका छन् । बढीमा उनीहरुको परिवारको सम्म स्वास्थ्य परीक्षणको कुरा आइरहेको छ । तर जहाजका यात्री संक्रमण भएको भए त्यो जहाजका यात्रुहरुमा मात्र होइन, तिनीहरु बसेको होटल, तिनीहरुले संसर्ग गरेका आफन्त, उनीहरुले प्रयोग गरेको सवारी साधन, उनीहरुले यात्रा गरेको भीडभाडस्थान, पसल, बजार, नोटहरु जहाँबाट पनि संक्रमण पुगेको हुनसक्छ । कोरोना ती जहाजका यात्रुबाट बजारमा फैलिसकेको भए र मानिस बाहेक अन्य वस्तुमा पनि कोरोना भाइरस जीवित रहन्छ भने बजारबाट आउने ग्यासका सिलिन्डर, दूधका प्याकेट, तरकारी, पिउने पानी, रुपियाँ नोटलगायतका वस्तुुहरुबाट पनि त घरघरमा भाइरस भित्रिन सक्छ ।यसतर्फ ध्यान नदिई जहाज चढेर आएको मान्छे को को थिए भनेर खोजेर मात्र त कसरी केरोना नियन्त्रण हुन सक्ला र ?
७. कोरोनाको पुष्टि भएका वा आशंका गरिएका बिरामीहरुका लागि यतिबेला सबै अस्पतालहरुबाट उपचार हुनु जरुरी छ । तर निजी केही अस्पतालहरुले बिरामीहरुको उपचार गर्न आनाकानी गरेको र तदारुकता नदेखाएको भन्ने समाचार आइरहेका छन् । देशलाई संकट परेको बेला जिम्मेवारी बोध गरी युद्ध मैदानमा उत्रनु पर्नेमा लुसुक्क दुला पस्ने र फेरि संकट समाधान भएपश्चात् ठूलो स्वर गर्दै बाहिर निस्कने स्वास्थ्य क्षेत्रका यस्ता माफियाहरुलाई सरकारले कारवाही गर्न सक्छ कि सक्दैन ? निमुखालाई ‘लकडाउन’मा थुन्ने तर ठूलाबडाका अगाडि सरकार झुक्ने हो भने सानालाई ऐन ठूलालाई चैन भएन र ? यसरी सरकारको कदम प्रभावकारी हुँदैन र कोरोना नियन्त्रण गर्न पनि गाह्रो हुन्छ ।
८. कोरोना ‘लकडाउन’का कारण दैनिक ज्याला मजदूरी गरिखानेको रोजिरोटीको समस्या देखिएको छ । आवतजावतमा समस्या छ । सामाजिक जीवनका अरु कुरा त परै जाओस्, बिरामीलाई उपचारका लागि अस्पताल पुग्न पनि धौधौ छ । वैदेशिक रोजगारमा गएका र तिनका परिवारको समस्या छ । विदेशमै पनि नेपालीहरु कोरोनाका कारण मृत्युवरण गरिरहेका छन् । यस्तो कठिन परिस्थितिमा धैर्यताका साथ ‘लकडाउन’मा रहँदा पनि हामी कोरोना संक्रमणबाट बच्न सकेनौँ भने त्यो हाम्रो ठूलो असफलता हुने छ ।
सर्वसाधारणलाई ‘लकडाउन’ गर्ने हुनेखानेलाई चाहिँ स्वच्छन्द छोडिदिने हो भने एकातिर दुलो टाल्यो अर्कोतिर दुलो प¥योे भने झैँ हुन्छ । मुख्य ढोका बन्द गरेर मात्र हुँदैन, जुनसुकै दुलाबाट पनि रोग छिर्न सक्छ । ढोका बन्द गर्दैमा चोर भित्र नपस्ने होइन, चोर झ्यालबाट पनि भित्र पस्न सक्छ । त्यसैले कोरोनाको संक्रमण भित्रने र फैलने बाटाहरु धेरै छन् ।
सोझै मानिसबाट मानिसमा मात्र नसरेर मानिसबाट कुनै वस्तुमा र त्यो वस्तुवाट फेरि अर्को मानिसमा संक्रमण हुँदै यसको फैलावट भयावह पनि त हुन सक्छ । त्यसैले यस्ता ‘लुपहोल’हरु टाल्नेतर्फ बेलैमा सरकारको ध्यान जाओस् । अनि मात्र ‘लकडाउन’बाट सार्थक परिणाम निस्कन्छ ।
लेखक डा. टिकाराम पोखरेल मानवअधिकार आयोगका निर्देशक समेत हुन् ।





























प्रतिक्रिया