कोरोनाको कोलाहल अर्थात् चमेराले दिएको चुनौती

कोरोनाको कोलाहल अर्थात् चमेराले दिएको चुनौती

केन्द्रबिन्दु
0
Shares

  • जयदेव गौतम

अहिले सारा विश्वलाई धर्धरी ‘रोना–धोना’ पारिरहेको नयाँ कोरोना भाइरसले मंगलबार (चैत १८) बिहानसम्ममा ७ लाख ८२ हजार मानिसलाई संक्रमित तुल्याइसकेको छ भने ३७ हजारभन्दा बढी मानिसले यही भाइरसले गर्दा अकालमै ज्यान गुमाइसकेका छन् । हजारौं–लाखौंको संख्यामा निरन्तर बढ्दो रूपमा देखा परिरहेको यो अज्ञात संक्रमण र असमयको देहावसानको क्रम कहिले कहाँ पुगेर रोकिन्छ ? कसैलाई थाहा छैन, कसैले केही भन्न सकेको छैन, चिकित्सा विज्ञानलाई समेत ।

गत वर्ष सन् २०१९ डिसेम्बरको तेस्रो साता (पुस) देखि विश्वसामु देखा परेको कोभिड–१९ नाम गरेको महामारी–जसलाई नयाँ कोरोना भाइरस भनेर बढी चिनिन्छ– ले अन्टार्कटिकाबाहेक सबै महादेशलाई आफ्नो प्रभावमा पारिसकेको छ । यो महामारी विस्फोट भएको करिब चार महिना हुन लाग्दा पनि यसका विरुद्ध प्रभावी हुन सक्ने कुनै भ्याक्सिन, खोप वा ट्याबलेटको विकास हुन नसक्दा स्थिति झन्झन् भयावह हुन पुगेको छ । चीनबाट सुरु भए पनि अहिले यस महामारीले सबैभन्दा धेरै प्रभावित मुलकका रूपमा चीन (३ महिनामा ३,३०८ मृत्यु) समेत प्रमुखतः इटाली (३ महिनामा ११,५९१ मृत्यु), स्पेन (३ महिनामा ७,३४० मृत्यु), अमेरिका (३ महिनामा २,९७८ मृत्यु), फ्रान्स (३ महिनामा ३,०२४ मृत्यु), इरान (३ महिनामा २,७५७ मृत्यु), इङ्ग्ल्यान्ड (३ महिनामा १,४०८ मृत्यु) देखिएका छन् । (संक्रमण भएका मानिसको हिसाबमा हेर्दा जर्मनी विश्वमा पाँचौं नम्बरमा छ तर त्यहाँ तीन महिनामा मृत्यु हुने संक्रमितको संख्या भने ५६० मात्र छ ।) अझ यसमा पनि हाल संक्रमित नागरिकको संख्या १ लाख ६२ हजारभन्दा केही बढी रहेको अमेरिकालाई कोभिड–१९ को नयाँ इपिसेन्टर (केन्द्र) बन्न सक्ने स्थलका रूपमा हेर्न थालिएको छ । एकजना वरिष्ठ अमेरिकी चिकित्सक डाक्टर फसीले डरलाग्दो सम्भावना व्यक्त गर्दै तीन दिन पहिले मात्र भनेका छन्, ‘अमेरिकामा लाखौं मानिस संक्रमित हुने र कम्तीमा एक लाख मानिसको मृत्यु हुने बलियो सम्भावना छ, यदि जतिसक्दो छिटो कोभिड–१९ विरुद्ध कारगर लडाइँ लड्न सकिएन भने ।’
डाक्टर फसीका कुराहरूले पनि स्थितिको भयावहतालाई प्रस्ट संकेत गर्दछन् ।

उपलब्ध आधुनिक औषधि सारा दुनियाँलाई भयभीत पारिरहेको कोभिड–१९ महामारीका विषाणुविरुद्ध बलियो गरी लड्न सकिरहेका छैनन् । यस्तो अवस्थामा सारा देशका सरकारहरूले ‘स्टे होम’, ‘क्वारेन्टाइन’, ‘आइसोलेसन’, ‘सेल्फ आइसोलेसन’, ‘सोसल डिस्टान्सिङ’ आदि कुराहरू जोडदार ढंगले अगाडि सारेका छन् । साबुन–पानी अथवा स्यानिटाइजरले हात धुने, तातो पानी खाइरहने, अत्यावश्यक कामबिना बाहिर ननिस्की घरभित्र बसिरहने, भिडभाड नगर्ने र त्यस्तो ठाउँमा पनि नजाने आदि अनेक कुराहरू भनिरहेका छन् । चिकित्सकहरूको भनाइ अनुसार पनि यसमा राम्रो पक्ष के छ भने, सोसल डिस्टान्सिङ अथवा प्रत्येक अर्को व्यक्तिसँग कम्ती पाँच–छ फिटको दूरी कायम राखेर मात्र भेट्ने वा कुराकानी गर्ने गरिएमा कोरोना भाइरस विषाणुहरू हत्पति सर्दैनन् र यो महामारी संक्रमण गति आफैँ सुस्त हुन पुग्छ । यी विषाणुहरू खास गरी खोक्दा वा हाच्छयूँ गर्दा नै अत्यधिक सर्ने हुन्, त्यसकारण निश्चित दूरी कायम गर्नु सर्वोत्तम रोकथाम–उपाय हो ।

चिकित्सकहरू भनिरहेछन्– ज्वरो, खोकी, श्वास–प्रश्वास समस्या, वृद्धावस्था, मुटु अथवा फोक्सोको रोगी, डायबिटिज अथवा उच्च रक्तचापको रोगी आदि अवस्थाका व्यक्तिहरू कोभिड–१९ महाव्याधिका विषाणु अर्थात् नयाँ कोरोना भाइरसबाट संक्रमित हुनसक्ने सबैभन्दा जोखिममा रहेका मानिस हुन् । यद्यपि कतिपय युवाहरू पनि यो महामारीका सिकार भइसकेका छन्, खासगरी सघन रूपले संक्रमित भइसकेका व्यक्तिको सम्पर्कमा आइसकेका व्यक्तिहरू जुनसुकै उमेरका भए पनि उनीहरू समेत अत्यधिक जोखिममा पुगेको पाइएका छन् । त्यसकारण सुरक्षाको उपाय भनेको कम्तीमा पाँच–छ फिटको दूरी कायम राख्ने, स्थानीय र केन्द्रीय सरकारले भनेका कुरा राम्ररी सुन्ने र मान्ने, बिरामी भएको महसुस भएमा मास्क लगाउने र रोकथाम सम्बन्धी अन्य सबै आवश्यक उपायहरू पालना गर्नु नै आफू र अन्यलाई सुरक्षित राख्ने आधार हुनसक्छ ।

यसरी एकातिर कोरोना भाइरसलाई परास्त गर्न सकिने लडाइँ पूर्ण तीव्रतासाथ अगाडि बढिरहेको छ भने अर्कोतिर यो कसरी सुरु भयो र कसरी महामारी बनेर फैलिन सक्यो भन्ने खोजी पनि उत्तिकै भइरहेको छ ।

सालक र चमेरा । यी दुई प्राणीमध्ये कुनै एकबाट नै नयाँ कोरोना भाइरस विषाणु मानवमा सरेको वैज्ञानिकहरूले दाबी गरिरहेका छन् । सालकबाट यी भाइरस मानिसमा सरेको हो भन्ने वैज्ञानिकहरू निकै थोरै छन्, धेरैजसो वैज्ञानिक र चिकित्सकहरू चमेराबाट नै यी भाइरस मानिसमा सरेको बलियो तर्क गरिरहेका छन् । चमेरामा अनेक रोग प्रतिरोधी क्षमता (इम्युन पावर) अत्यधिक हुन्छ र उसमा अनेक रोगका विषाणु पनि त्यत्तिकै हुन्छन् । चमेराबाट मानिसमा ती कुनै पनि विषाणु संक्रमण भएमा मानव जातिका लागि त्यो सांघातिक ठहरिन सक्दछ । चीनको हुबेई प्रान्तको वुहान सहरमा एउटा विशाल माछा–मासु पसल सञ्चालित छ (थियो) (कोभिड–१९ संक्रमण फैलिएपछि हाल यो बन्द छ) । त्यहाँ चमेरा, सर्प, अजिङ्गर, स्याल, हुँडार, सालक, गोही, दुम्सी लगायत अनेक थरी वन्यजन्तुहरू जिउँदै वा मासु काटेर खरिद–बिक्री हुने गर्छ (गथ्र्यो) । अनेक अवैध वन्य जन्तुहरू पनि अफ्रिका, ल्याटिन अमेरिका, एसिया, युरोप, अमेरिका सर्वत्रबाट चोरी सिकारी गरी त्यहाँ ल्याई खरिद–बिक्री भइरन्छ । त्यो बजारमा विशेष ग्राहक आउँछन् जसलाई पाल्नका लागि निकै कम तर ती जनावरको मासु वा त्यसको सुप खानका लागि क्रय आवश्यक हुन्छ । अझ कतिपप चिनियाँहरू परम्परागत औषधि बनाउनका लागि त्यस्ता दुर्लभ जंगली जनावरको मासु, हड्डी, छाला अथवा रगत र सुप नै पनि हारालुछ गरेर किन्ने गर्दछन् ।

वैज्ञानिकहरूको मत के छ भने वुहानको त्यही पसलमा चमेरा काटेर त्यसको मासु बेच्न खोज्दा चमेराको रगत कुनै व्यक्तिमा संक्रमित भयो (अर्थात्, या त त्यो व्यक्तिको घाउमार्फत अथवा हात वा मुख हुँदै थुकमार्फत पेटमा पुग्यो) । चमेराको त्यो रगतमा शक्तिशाली विषाणुहरू थिए जुन छिटै सम्बन्धित व्यक्तिको रोग प्रतिरोधी क्षमतालाई परास्त गर्दै एकपछि अर्को व्यक्तिमा सर्न थाल्यो । त्यस बजारमा विश्वभरिका दुर्लभ वन्यजन्तुको मासु बेचबिखन हुने हुँदा त्यहाँ प्रसस्तै विदेशीहरू आइरहन्थे । यसरी ती विषाणुलाई सर्न र सारिनका लागि ठुलो ‘प्लेटफर्म’ उपलब्ध भयो । त्यसकै नतिजा आज विश्वले ब्योहोरिरहेको छ ।

चिकित्सा वैज्ञानिकहरूले कोभिड–१९ का केही बिरामीका शरीरबाट विषाणु निकालेर ल्याबोरेटरीमा परीक्षण गर्दा चमेरामा भेटिएका विषाणुसित ९६ प्रतिशत मेल खाएको आधारमा उनीहरू यो निष्कर्षमा पुगेको दाबी गरिँदैछ । उनीहरू भन्दैछन्– कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरस मानव जातिलाई चमेराको चुनौती हो । वास्तवमा यो मानवले आफू मात्र बाँच्ने र अरू सबै प्राणीलाई सखाप पार्ने (सिकार गर्ने) नीति लिएको हुनाले पनि अहिले यो महामारी देखिएको हो ।

आखिर जे जसरी भए पनि समस्या त विकराल रूप धारण गरेर विश्वसामु तेर्सिएकै छ । कोरोना भाइरसले मानौं सुरसा–मुख खोलेको खोल्यै छ र अनाहकमै सयौं–हजारौं मानिस त्यसमा समाहित हुँदै जाँदा छन् । चमेराले खडा गरेको चुनौतीविरुद्ध सारा विश्व एक भएर अगडि बढिरहेको छ यद्यपि सफलता अझै टाढाटाढासम्म देखा परिरहेको छैन । यही सन्दर्भमा विश्वकै धनी तथा महा दानवीर बिल गेट्सलाई एक पत्रकारले सोधे, ‘तपाईं यतिबेला अमेरिकाको राष्ट्रपति हुनभएको भए के गर्नुहुन्थ्यो ?’ गेट्सले सामान्य ढंगले जवाफ दिए, ‘मैंले केही साता अथवा महिनाकै लागि सम्पूर्ण अमेरिकालाई बन्दाबन्दी (लकडाउन) गरीदिन्थेँ । मानिसहरूलाई बाहिर निस्कन, भिडभाड गर्न, एकअर्कासित सम्पर्क गर्न सबै प्रतिबन्ध लगाइदिन्थेँ ।’

गेट्सको आशय यत्ति मात्र थियो– प्रभावकारी कुनै पनि औषधि उपलब्ध नभइरहेको अवस्थामा जुन कदम वैकल्पिक तवरले प्रभावशाली हुनसक्छ, त्यही कदम अवलम्बन गर्नु सर्वथा बुद्धिमानीपूर्ण ठहरिन्छ ।

गेट्सको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पनि लक्षित थियो । ट्रम्पले कोरोना संक्रमित राज्यका गभर्नरहरू र अन्य धेरै तप्काबाट ‘चीनबाट शिक्षा लिँदै लकडाउन गरिएमा कोरोना संक्रमण तुलनात्मक रूपमा धेरै मत्थर हुने’ भन्दै निकै अनुरोध भइरहे पनि अमेरिकाको कुनै पनि राज्यमा ‘लकडाउन’घोषणा नगर्ने अडान लिँदै भनेका थिए, ‘अमेरिका लकडाउन हुनका लागि बनेको मुलुक होइन ।’

अमेरिकामा लकडाउन गरिएको छैन यद्यपि अमेरिकी जनतालाई सकेसम्म घरभित्रै बसिरहन, अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कन र मनोरञ्जनस्थलहरूमा नजान सरकारले भनेको छ । राष्ट्रपति ट्रम्प दिनहुँ अपरान्ह व्हाइट हाउसमा पत्रकार सम्मेलन गर्छन् र कोभिड–१९ बारे पछिल्लो विकास बेलीविस्तार लाउँछन् । उनले धेरैपटक झुट बोलेको, तथ्यहरू ढाँटेको आरोप उनीमाथि लगाइन्छ तर उनी आफ्नो अडानबाट टसमस हुँदैनन् । र, कोरोनाको कोलाहल घट्न मानिरहेको छैन, बढ्दै नै गइरहेको छ ।

Skip This
Skip This
Logo