- सिम्रन स्याङबो तामाङ-
यतिबेला विश्व समुदाय नै ‘कोभिड १९’ को चपेटामा परेको छ । संसारका ठूला तथा शक्तिशाली राष्ट्रहरुलाई समेत यस भाईरसले घुँडा टेक्न बाध्य बनाएको छ । सरकारको एकल पहलले मात्र यस भाईरसलाई हराउन नसक्ने कुरा आम नागरिकले थाहा पाईसकेका छन् । त्यसैले विश्वभरिका नागरिकहरु आफ्नो देशलाई बचाउन सरकारलाई सक्दो सहयोग गरिरहेका छन् । जसमा मनोरंजन क्षेत्रका कलाकार, निर्माता तथा निर्देशकहरु पनि रहेका छन् ।
धेरै टाढा नगईकन छिमेकी राष्ट्र भारतकै कुरा गर्ने हो भने पनि कोरोना संक्रमण तथा रोकथामका लागि त्यहाँको सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा धेरै चलचित्रकर्मीहरुले आ–आफ्नो तर्फबाट सहयोग गरेका छन् । कोष खडा भएको २० मिनेट पनि नपुग्दै अभिनेता अक्षय कुमारले २५ करोड भारु सहयोगको घोषणा गरेका थिए । त्यसपश्चात १ करोडसम्म र त्यसभन्दा कम सहयोग गर्ने चलचित्रकर्मीहरु भारतमा अनगिन्ती छन् ।
अन्य देशहरुमा जस्तै नेपालमा पनि कोरोनाबाट बच्न, रोकथाम गर्न र राहत वितरण गर्न प्रधानमन्त्री राहत कोष खडा गरिएको छ । जसमा जो कोही व्यक्तिले आफ्नो स्व–ईच्छाले सहयोग गर्न सक्छन् । तर यस कोषमा सहयोग गर्ने चलचित्रकर्मीहरु गन्ने हो भने एउटा हातको औँला पनि बढी हुन्छ । देश यस्तो बिपत्तिबाट गुज्रिरहेको बेला कहाँ गए ती स्टार भनिने र स्टार भन्न मन पराउनेहरु ?
नेपाली मनोरंजन क्षेत्रको बजार ठुलो छैन र पारिश्रामिक पनि धेरै छैन भन्नुहोला । तर स्मरण रहोस्, यही क्षेत्रमा एउटा चलचित्रमा अभिनय गरेबापत ५० लाखसम्म पारिश्रमिक लिएको सुनिने अभिनेताहरु छन् । एउटा चलचित्र निर्देशन गरेबापत ३० लाखसम्म लिएको धाक लगाउने निर्देशकहरु छन् । र, देखाउनकै लागि विवाहमा ‘बकवास’ खर्च गरेर करोडौं उडाउने अभिनेत्रीहरु पनि । तर आफ्नै देश बचाउनको निमित्त उनीहरुवाट फुटेको कौँडी निस्केको छैन ।
यही वर्ष मात्र नेपाली चलचित्र क्षेत्रका खम्बा मानिने केही कलाकारहरुले विवाह गरे । सामाजिक संजालमा कसैको ‘व्याचलर पार्टी’ले चर्चा पायो त कसैको पहिरन र गहनाले । उनीहरुको विवाह पनि ‘तँ भन्दा म के कम’ भने जस्तै भयो । तर उनीहरुले यति सोच्न सकेनन् कि आफ्नो विवाहमा भएको खर्चको १ प्रतिशत मात्र रकमले पनि सयौँको पेट भर्न सक्थ्यो भनेर । खैर त्यतिबेला त सोचेनन्–सोचेनन् तर कमसेकम अहिले त सोच्न सक्नुपर्थो !
कलाकारहरुबाट सहयोग नै नआएको भने होईन । अभिनेत्री वर्षा सिवाकोटी र निर्माता अर्जुन कुमारले आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छन् । जुन निकै प्रसंसनीय छ । त्यस्तै लोक गायकद्वय बद्री पंगेनी र प्रकाश सपुतले पनि रकम सहयोग गरेका छन् । तर आफुलाई ठूलो स्टारभन्दै लोक गीत गाउनेलाई ‘लोके’ भन्दै गिज्याउनेहरुलाई आज तिनै ‘लोके’हरुले नै राहत कोषमा रकम सहयोग गर्दा कसैलाई पनि कुरी–कुरी भएको देखिएन ।
त्यसैले सम्पूर्ण कलाकारलाई अनुरोध छ कि, आफ्नो चलचित्र प्रोमोसनको बेला मात्र नेपाललाई माया गरिदिनुस् र नेपाली चलचित्रलाई माया गरिदिनुस् भनेर फलाक्दै नहिड्नुस् । कलाकार हुनुको पनि नैतिक दायित्व हुन्छ । यस्तो बुद्धि आफैं आउँदैन भने बलिउड र हलिउडतिर चिहाए पनि हुन्छ । फिल्मको कपी गर्न वा हावादारी कुरा सिक्न मात्र बलिउड र हलिउड हेर्ने होइन । उनीहरुले गर्ने सेवाभाव पनि अगाल्न सक्नुपर्छ । हलिउड–बलिउडका कलाकार समाजसँगै हिड्न जानेर नै प्रिय बनेका हुन् । अक्षय कुमारले जस्तो २५ करोड दिन नसकेपनि हाम्रा स्टारहरुले २ लाख ५० हजार त दिन सक्छन् होला नि ! त्यो पनि नभए २५ हजार त पक्कै सक्छन् ।
देश दुखेका वेला मलमपट्टी लिएर जनताको वीचमा जान नसक्ने हो भने निश्चित छ, स्टार वा सुपरस्टार नाममा सीमित हुन्छन् । मानवीयता, कर्तब्य वा दायित्व जस्ता शब्दहरु शब्दकोषमा सीमित गर्नकालागि राखिएका होइनन् । त्यसको प्रयोग खासमा स्टारहरुले नै गर्ने हो । वा त्यसको सदुपयोग गरेर ‘स्टार’ बन्ने हो । अहिले तमाम स्टार भनिनेहरुलाई मौका छ, ‘रिलको हिरोबाट रियल हिरो बन्ने ।’ मलाई ती तमाम र भन्दा खुसी हुनेहरुलाई सोध्न मन छ, ‘ओ स्टार, रियल हिरो बन्न सक्छौ ?’

- सिम्रन स्याङबो तामाङ-































प्रतिक्रिया