सीमा समस्या र नेपाली जनताको नियति

सीमा समस्या र नेपाली जनताको नियति

केन्द्रबिन्दु
0
Shares

  • डा. टीकाराम पोखरेल –

भौगोलिक बनौट अनुसार वारि नेपालको दार्चुला छ, पारि भारतको धार्चुला (धारचूला) छ । बीचमा छ महाकाली नदी । यही महाकाली नदीले नेपाल भारतको सीमाना छुट्टयाउँछ । दार्चुला र धार्चुला बीच आवतजावतका लागि महाकाली नदीमाथि झोलुङ्गे पुल छ । त्यो पुल पनि दिउँसो मात्र खुल्ने गर्छ, राति भने पुलका ढोका बन्द हुन्छन् । वारिपारि गर्नुपर्नेहरू तोकिएको समयभित्र पुल तर्न भ्याएनन् भने रातभरि यताको यतै उताको उतै भएर बन्दी जस्तो रात बिताउनुपर्ने नियति हुन्छ । नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने एक जिल्ला दार्चुलाको राजधानी खलंगाको स्थिति हो यो । मान्छेले धर्तीमाथि कोरेको कृत्रिम सीमाबाट सिर्जित समस्याको एउटा उदाहरण हो । अन्तर्राष्ट्रिय सीमा भनिएको कृत्रिम सीमाले मानिस मानिस बीच विभेद त गरेको छ नै सीमा संरक्षणको नाममा एकअर्का राज्यका बीच विवाद पनि हुने गरेको छ ।

सन्दर्भ दार्चुलाको किन लेखियो भने यतिबेला नेपाल र भारत बीच नेपालको दार्चुला जिल्लामा पर्ने कालापानी लिपुलेक र लिम्पियाधुराको विाषयमा विवाद उत्पन्न भएको छ । विवाद नहुँदाको अवस्थामा जिल्ला सदरमुकामका नागरिकको त यो अवस्था छ भने सीमा विवादित रहेको लिपुलेक कालापानीको सीमाको हालत के होला । विवादित सीमा क्षेत्रमा बस्ने नेपालीहरूको मानव अधिकारको स्थिति कस्तो होला ? त्यहाँका नेपालीहरू भारतीय भूमि, प्रशासन, सुरक्षा र भौतिक पूर्वाधारमाथि कतिसम्म आश्रित होलान् । जोसँग आश्रित भइन्छ, उसैबाट सीमा सुरक्षा गर्न सकिन्छ ? यो प्रश्नको उत्तर सरकारले खोज्नुपर्छ ।

नेपालको सीमाको मानव अधिकारको अवस्था अनुगमन गर्न दार्चुला पुगेर फर्केका मानव अधिकारकर्मी श्यामबाबु काफ्ले भन्छन्– “भारतले नेपालको कालापानी लिपुलेक भारतीय राजनीतिक नक्सामा समावेश गरेपछि त्यसलाई परिवर्तन गराउन सबै नेपालीले आआफ्नो ठाउँबाट योगदान पुर्‍याउनु आवश्यक छ । तर यस अभियानमा लागिरहँदा दार्चुलाको सो क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूको दैनिक सुरक्षा र जीविकोपार्जनको व्यवस्थापनमा ध्यान दिनु पनि त्यत्तिकै आवश्यक छ ।”

भूबनावट उस्तै उस्तै भए पनि महाकाली वारिको नेपाल र महाकाली पारिको भारत विकासका दृष्टिले धेरै पछाडिअगाडि छन् । धार्चुला भारतीय राज्य उत्तराखण्डको पिथरागढ जिल्ला अन्तर्गत पर्ने एउटा सीमा शहर हो । भारतीय दृष्टिमा नेपालसँगको सामान्य व्यापारिक नाका । दार्चुला चाहिँ नेपालका पचहत्तर जिल्लामध्येको एक जिल्लाको सदरमुकाम हो । जसलाई खलंगा पनि भन्ने गरिएको छ । प्रशासनिक महत्वको दृष्टिले धार्चुलाले भन्दा दार्चुलाले बढी महत्व बोकेको छ । कता सामान्य व्यापारिक नाका, कता जिल्ला सदरमुकाम ।

दार्चुलाबासी र धार्चुलाबासीको रीतिरिवाज, परम्परा, चालचलन, संस्कृति, धर्म, भावना समान छ । तर पनि दार्चुला र धार्चुला बीच कोरिएको कृत्रिम सीमारेखाका कारण यी दुई स्थानबीच ठूलो विषमता पनि छ । सबैभन्दा ठूलो फरक त धार्चुलावासीका प्रधानमन्त्री नरेन्द्र मोदी हुन् भने दार्चुलावासीका केपी ओली हुन् । अनि धार्चुलावासीले विपक्षी नेता पाएका छन् सोनिया गान्धी र दार्चुलावासीले चाहिँ पाएका छन् शेरबहादुर देउवा । उताका राष्ट्रप्रमुख रामनाथ कोविद यताकी विद्या भण्डारी ।

हो यिनै देशका ठूलाठूला भनिएका नेता फरकफरक मानिदिनु परेका कारण दार्चुला र धार्चुलावासीले मात्र होइन सीमामा बस्ने नेपाली र भारतीयहरूले भावनात्मक सम्बन्ध समान भए पनि राजनीतिक रूपमा फरक हुनु परेको छ । राजनीतिक सीमारेखाका कारणबाट अरू थुप्रै फरकहरू जन्मिएका छन् । राजनीतिक रूपमा दुई देशमा विभाजित भएका कारण दार्चुलावासी अँध्यारोमा छन् धार्चुलावासी उज्यालोमा । धार्चुलावासीले चिल्ला नागबेली परेको कालोपत्रे सडकमा सररर कारमा गुड्न पाएका छन् भने दार्चुलावासीचाहिँ आफ्नो नियतिलाई धिक्कार्दै अरू गुडेको हेर्न बाध्य छन् । कहिलेकाहीँ आफ्नै भूमिमा गाडी चढ्न रहर जागे नेपाली भूमि हुँदै दार्चुला पुगेको भीरैभीरको डरलाग्दो र भत्केको बाटोमा जीवनको बाजी थापेर गाडी चढिटोपल्छन् । धार्चुलामा एकाबिहानै चियाको चुस्कीसँगै भारतीय पत्रपत्रिका आइपुग्छन् भने दार्चुलामा चाहिँ काठमाडौँमा छापिएको नेपाली खबरपत्रिका अझै पनि तीन दिनमा मात्र पुग्छ ।

दार्चुला र धार्चुलावासी बीच प्रकृतिले कुनै विभेद गरेको छैन । विभेद भएको छ त मान्छेबाट । मान्छे पनि सामाजिक र सांस्कृतिक मान्छेबाट होइन राजनीतिक मान्छेबाट विभेद गरिएको छ । धार्चुलाको भाग्यमा कालोपत्रे सडक, फराकिलो बजार, ठूला घरहरू, भरिभराउ पसल, सफासुग्घर, विद्युतीकरणका ठूला ठूला लाइन, बाक्लै गुड्ने चिल्ला मोटरहरू लेखेको छ । यता दार्चुलावासीको नियतिमा चाहिँ साना गल्ली, साँगुरो बजार, होचा र अव्यवस्थित घरहरू र अस्तव्यस्त पसलहरू परेका छन् । त्यसो त दार्चुला देशको राजधानीसँग आश्रित पनि छैन । आश्रित छ त धार्चुलासँग । दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन कपडादेखि लिएर त्यही दाल चामल किन्नको लागि चाहिने रुपियाँका लागि मजदूरी गर्न पनि आफ्नो नियतिलाई धिक्कार्दै धार्चुलातिरै लाग्छन् दार्चुलावासी ।

विचारणीय कुरा के छ भने त्यही भौगोलिक सीमामा छिमेकी मुलुक भारतले आफ्ना जनताका लागि त्यत्रो विकासको फल दिइसक्यो । जनतालाई विकासको मालिक बनाइसक्यो । तर उस्तै भौगोलिक सीमामा रहेको नेपालको दार्चुलाका बासिन्दालाई चाहिँ अरूले उपभोग गरेको विकासको फल टुलुटुलु हेर्न बाध्य पारिएको छ । दार्चुला र धार्चुला त उदाहरण मात्र हुन् चाहे महाकाली वारिपारि भन्नुस् वा मेची वारिपारी अथवा भारतीय सीमानामा जोडिएका वारिपारिका वस्ती नै किन नहुन् भारततिर झिलीमिली नेपालतिर अन्धकार । सधैँ दुर्नियति भोग्नुपर्ने नेपाली जनताको नियति ।

हाम्रो देशका नेतालाई भारतले झैँ विकासको मूल फुटाउने चेत कहिल्यै प्राप्त भएन । बरु नक्कली राष्ट्रवादका कुरा गरेर भारतको विरोध गर्ने उर्जा प्राप्त भयो । नेपालको राजनीतिक नेतृत्व यति अदूरदर्शी छ कि उसले विकासको मूल कहिल्यै पनि पहिल्याउन सकेन । मूल पहिल्याई विकासको मूल फुटाएर जनतालाई त्यसको फल खुवाउनुको सट्टा आफ्ना देशका जनताको रोजी रोटीको सवाल समेत अर्को देशमा निर्भर गराउने र अनि राष्ट्रवादको नारा दिनुको के अर्थ हुन्छ ? के यस्तो टाट राष्ट्रवादलाई जनताले स्वीकार गर्लान् ? यस्तो बनावटी र काइते राष्ट्रवाद देश र जनताका लागि धोका शिवाय केही हुँदैन । यदि साँचो अर्थमा राष्ट्रवाद खोज्ने हो भने सबैभन्दा पहिले जनतालाई विकासको मूल धारमा समाहित गर्नुपर्छ, विकासको फल फलाएर जनतालाई दिनुपर्छ । अनि जनतामा राष्ट्रवादी भावना आफैँ पलाउँछ । अन्यथा जनताको भविष्यलाई अन्धकारमा धकेलेर अन्धकारकै बीचमा आह्वान गरिएको किर्ते राष्ट्रवाद टाट राष्ट्रवाद बाहेक केही हुन सक्तैन ।

नेपालको राष्ट्रवाद सधैँ विपक्षीको नारा हुने गरेको छ । खासगरी सत्ता नपाएको झोकमा राष्ट्रवादको नारा घन्काइन्छ । यस्तो टाट राष्ट्रवादको परिणाम पनि टाट नै हुन्छ । त्यसैले टाट राष्ट्रवादलाई तिलाञ्जली दिएर हराभरा राष्ट्रवाद भित्र्याउने हो भने विकासको मूल फुटाउनुको अर्को विकल्प छैन । जनतालाई राजनीतिक रूपमा प्रशिक्षित गराएर र आफ्ना चिल्ला भाषणकै कारण आफ्नो राष्ट्रवादी नाराले स्थान पाउँछ भन्ने नेताहरूलाई लागेको छ भने त्यो भ्रमसिवाय केही हुन सक्तैन ।

छिमेकी मुलुकको सधैँ नराम्रो मात्र देख्ने र छिमेकीलाई गाली गर्न सक्नुमा नै आफ्नो उच्चता देख्ने नेताहरूले बुझ्नुपर्छ कि कुनै पनि देशमा राष्ट्रियताको भावना त्यतिबेला जागृत हुन्छ, जब जनता समृद्ध हुन्छन् । अन्यथा भोको पेट पाल्नका लागि एकाबिहानै नाम्लो बोकेर भारी खोज्न भारतीय शहरतिर लाग्ने भोका पेट र नाङ्गो आङले नक्कली राष्ट्रवादलाई धान्न सक्तैन । गरिब नेपालीले बेलुकाको छाक टार्न दुई पैसा जोहो गर्नका लागि तँछाडमछाड गरी काँधमा भारी थाप्नु कि देशमा बेरोजगारीको अवस्था सिर्जना गरी जनतालाई विदेशतिर धाउन बाध्य पार्ने नेताको टाट राष्ट्रवादको नारा थाप्नु ? उत्तर राष्ट्रवादी भनिएका नेताहरूले नै दिनुपर्छ ।

सीमा अनुगमनका क्रममा अधिकारकर्मी काफ्लेसँग दार्चुलाका सीमा क्षेत्रका बासिन्दाले आफूहरूको रोजीरोटीको ग्यारेन्टी र शान्ति सुरक्षाको सुनिश्चितता नभई भारतको विरोध गरिँदा आफुहरू हरेक पटक भारतीय पक्षबाट पीडित हुनु परेको भनी काठमाडौंबासी माथि आक्रोश पोखेका थिए । हुन पनि आफ्नो गाउँबाट सदरमुकाम आउँदा कि त भीरमा डोरी टाँगेर त्यसकै सहारामा वा भारतको बाटो प्रयोग गर्नुपर्ने दार्चुलावासीको बाध्यता छ । यस विषयमा काफ्ले थप्छन्– “बिरामी हुँदा कतिपय समयमा सीमाका बासिन्दाहरूले भारतीय हेलिकप्टरको समेत सेवा पाउने गरेका छन् । दैनिक गुजाराको लागि भारतीय भूमिमा भर पर्न बाध्य छन् । त्यसैले हामीले काठमाडौंमा रहेर आन्दोलन गरिरहँदा त्यसैको कारण दार्चुलालगायतका सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको सबै किसिमको सुरक्षाको सुनिश्चिततामा ध्यान दिन पनि त्यत्तिकै आवश्यक छ । हामीले हाम्रो भूमि हामीसँगै राख्न जोश र होसको सन्तुलनसँगै अगाडि बढ्नु अपरिहार्य छ । जोश र होसको सन्तुलनबाट मात्र सकारात्मक परिणाम प्राप्त सकिन्छ । सडकको अनियन्त्रित आक्रोशभन्दा पहिले नै नेपाल सरकारबाट यस विषयमा प्रभावकारी कूटनीतिक पहल हुनु आवश्यक छ । र त्यो प्रभावकारी कूटनीतिक पहल भनेको नागरिकले अनुभूति गर्ने किसिमको पहल हो । सरकारको त्यसतर्फ ध्यान गएकै होला ।”

कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा पछिल्लोपटक नेपाल भारतबीच जो विवाद उत्पन्न भएको छ यसमा कूटनीतिक समाधानको अर्को विकल्प छैन । वक्तव्यवाजी, भाषण, प्रदर्शन वा फोनको भरमा समाधान निस्किन्छ भनेर कसैले पनि नसोचे हुन्छ । न यस्ता कुराले हिजो समाधान निस्क्यो न त भोलि निस्केला । परिणाम नआउने त्यस्ता काम गरेर कसैले पनि गर्व नगरे हुन्छ । वक्तव्यको उत्तर त भारतले “हामीले नेपालको सीमा मिचेका छैनौँ” भनेर वक्तव्य मार्फत नै दिइसक्यो, । त्यसैले वक्तव्य, फोन र प्रदर्शनको विकल्पमा लिखित र कूटनीतिक माध्यम अपनाइहालौँ । यस्तो काममा राजनीतिक व्यक्तिको अलवा प्राविधिक व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने गर्दछ । बुद्धिनारायण श्रेष्ठ जस्ता बौद्धिक र प्राविधिक ज्ञान भएका नारायणहरूको बुद्धि कूटनीतिक संवादमा प्रयोग गरौँ । सीमाजस्तो गम्भीर विषयमा हल्काफुल्का रूपमा प्रस्तुत हुने काम नगरौँ । यसले हामीलाई नै हल्का बनाउँछ र सीमामा बस्ने नागरिकहरूचाहिँ झनै पीडित हुँदै जान्छन् ।

[email protected]

Logo