ल्यापटप दिन्छौं, घर लान पाइन्न : सभामुख

ल्यापटप दिन्छौं, घर लान पाइन्न : सभामुख


काठमाडौं,
प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले सांसदका लागि खरिद गरिने ल्यापटप संसदीय प्रयोजनका लागि मात्र हुने प्रस्ट पारेका छन् । ‘घरमा लैजान नभई संसदमा रहँदा प्रयोग गर्न सकिनेगरी ल्यापटप खरिद गर्न’ लागिएको स्पष्ट पार्दै उनले यस्तो घोषणा गरेका हुन् ।

‘ल्यापटप सांसदलाई घरमा लैजान दिइने होइन, यो त विशुद्ध संसदीय प्रयोजनका लागि प्रयोग हुनेछ,’ महराले भने, ‘संसदमै रहँदा कापी र कागजमा लेख्नु भन्दा ल्यापटप प्रयोग गरी छिटो र छरितो ढंगबाट संसदीय काम गरुन् भन्ने ध्येय हो ।’

‘पेपरलेस’ संसद् बनाउने उद्देश्यले योजना अघि बढाइएको जानकारी पनि महराले दिए । ‘सरकारी कार्यालय कागजरहित वा डिजिटलाइजेसन गर्ने नीति अनुरुप संसदमा पनि त्यस अनुसारको व्यवस्थापन गर्न खोजिएको हो,’ सांसदलाई ल्यापटप बाँड्न लागिएको विषयप्रति असहमति राख्दै उनले भने, ‘संसदमा रहँदा आफ्ना काम गर्छन् । काम भ्याएपछि मन्त्रिपरिषदमा जस्तै सबै ल्यापटप संसदमातहत रहन्छन् । सांसदको काम छिटोछरितो बनोस् भन्ने हाम्रो सोच तोडमोड गरी बाहिर ल्याइयो ।’

सांसदको ‘भिडियो प्रोफाइल’ सार्वजनिक कार्यक्रममा सभामुख महराले संसदमा आफ्ना भनाइ राख्दा तथा नीतिनिर्माणमा तत्काल इन्टरनेट प्रयोग गरी आवश्यक कदम चाल्न यो कार्य सहयोगी हुने विश्वास व्यक्त गरे ।

यसअघि, सरकारले चालू आार्थिक वर्षको विकास खर्च कटाएर प्रतिसांसद एकलाख बढी पर्ने ल्यापटप खरिद गर्ने निर्णय गरेको थियो । ल्यापटप किन्न विकास खर्चको ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गरिएको पनि जनाइएको छ ।
राजधानीबाट

Logo