दुर्गा पंगेनी ।
“विदेशमा कमाएको रेमिटेन्सले नेपाल बनाउनु पर्छ भन्नेहरूका लागि ग्रिन कार्ड एक फगत कागजको टुक्रा हो” । पत्रिकामा प्रकाशित मेघराज सापकोटाजीको अभिव्यक्ति एक किसिमको उत्साह भर्ने खालको छ ।
उहाँको बिचारसँग पूर्णतया सहमत हुन सकिन्छ । अझ नेपालमा भएको पैतृक सम्पत्ति बेचबिखन गरेरै भए पनि हुण्डीको माध्यमबाट नेपालमा रहेको चल अचल युरोप अमेरिका पुर्याउन र उतै हराउन उद्धत छ युवा समुदाय । आखिर किन ? नेपाल बनाउन नचाहने समूहले ग्रिनकार्ड चाहन्छ । नेपाल बनाउन नचाहने समूहले नेपालको सम्पत्ति विदेश लैजान चाहन्छ र नेपाल बनाउन चाहनेहरूले विदेशमा कमाएको नेपाल पठाउन चाहान्छन । यो कुरामा दुइमत हुन सक्दैन ।
ग्रिनकार्डले नेपालमा पैसा पठाउँदैन बरु नेपालको पैसा चोर बाटोबाट उतै लैजान्छ । अझ ग्रिनकार्डको बाटो हुँदै विदेशी पासपोर्ट लिइसकेका व्यक्तिले देश विकाशमा सोझो योगदान गर्लान् ? यो प्रश्न भने बहसको विषय हुन सक्छ । भावनात्मक रूपमा विदेशी पासपोर्टधारी युवाहरू जन्मभूमि प्रति नजिक भए पनि उनीहरूको राष्ट्रियता त फेरीइसकेको हुन्छ।
‘मेरो देश’ भनेर उच्चारण गर्दा उनीहरूले पासपोर्ट बोकेको देशको नाम लिनु पर्ने हुन्छ । अझ गैह्र आवासीय नेपालीहरूको नाताले जन्मदेशमा गरेको लगानीको प्रतिफल समेत आफू बसेको देशमा लान पाउने अथवा लगानी सुरक्षित् नभएको ठानेमा आफ्नो लगानी निर्बाध आफूले पासपोर्ट बोकेको देशमा लान पाउनुपर्छ भनेर उनीहरूले गरिरहेका माग हरूले उनीहरू लाई देशको माया छैन भन्ने कुरालाई सत्य हो भनेर पुष्टि गर्न बल पुर्याउछ ।
भावनात्मक रूपमा व्यक्त गरिने देशभक्तिमा खासै फरक नहोला तर पक्कै फरक छ खाडीमा कार्यरत युवा हरू र युरोप अमेरिकामा कार्यरत युवा हरूका योगदानहरूमा । कति प्रतिशत युवा हरू छन् युरोप अमेरिकामा जो नेपाल फर्कन चाहान्छन ? एकदम कम छन्, खाडीमा कोही छैन जो यतै बसिरहन चाहेको होस् । समाजले सतही रूपमा मूल्याङ्कन गरिदिन्छ किनकी पहिलो युरोप अमेरिका विकसित छ र खाडी विकासोन्मुख ।
किन विभेद गर्छ त समाजले स्थान विशेषको कमाइलाई ? खाडीमा कार्यरत युवाले कमाएर पठाएको रेमिट्यान्सको सही सदुपयोग हुन नसकेर पो हो कि ? खाडीको पैसा उत्पादनमुखी व्यवसायमा भन्दा आवास र अचल सम्पत्ति जोड्नमा बढी खर्च भयो । डेरा भाडा तिर्नु फगतको खर्च जस्तो देखियो र तुलनात्मक रूपमा खाडीको कमाइले जीवनस्तर उकास्न सकेन भनेर आरोप लगाउने गरेका छन् विश्लेषक हरू ।
यसरी आलोचना गर्दा आफू युरोप अमेरिका जान नपाएको अथवा नसकेको तुष पोखेको आरोप समेत लगाउँछन् कतिपय साथीहरूले मानौँ अमेरिका पुगेर उनीहरूले संसारको सम्पूर्ण सुख सुविधा सित्तैमा उपभोग गर्न पाएका छन् । बिना मेहनत उनीहरूको भान्छामा चुल्हो बलिरहे जस्तो गरेर घमन्ड गर्छन् कोही ।
मेरा एक जना आफन्त थिए अमेरिकामा । कुनै शैक्षिक कार्यक्रमका लागि मेरिका पुगेर उतै शरणार्थीको आवेदन दिएका थिए । त्यही बिचमा घरमा उनकी आमाको मृत्यु भयो । उनी न अमेरिका छोडेर आउन पाए न समयमा आमाको अन्तिम संस्कारमा सामेल नै हुन सके । यदि खाडीबाट आमाको अन्तिम संस्कारमा नगएको अवस्था हो भने पो पिडा देख्थ्यो समाजले उनी त अमेरिकाबाट आउन नपाएका थिए । “अमेरिकामा छ यति टाढाबाट कसरी आओस्’ हो यसरी मूल्याङ्कन गरे छिमेकीहरूले । उनी शरणार्थीको हैसियतमा त्यहाँ रहेको र कानुनीरूपमा उनी नेपाल आउने बाटो नै बन्द भइसकेको तिर कसैले ध्यान नै दिएन ।
हाम्रो समाज जतिसुकै शिक्षित किन नहोस् रोजगारीमा गएको देशको नाम हेरेर त्यो देशको मुद्राको मूल्य हेरेर मान्छेलाई सम्मान गर्ने एक किसिमको अर्ध शिक्षित सोचबाट ग्रस्त भयौँ हामीहरू । बिहेवारिको अथवा लेनदेनको हिसाबले कार्यरत देशलाई नियाल्दा समस्या अझ विकराल देखिन्छ । अमेरिकामा बस्ने ‘स्ट्रिट बेगर’ नै किन नहोस् उसको इज्जत धेरै ठूलो हुन्छ खाडीको हाकिमको तुलनामा । अमेरिका हुनेले समाजबाट तुरुन्तै सर सापट पाउँछ खाडी हुनेले ऋण पाउँदैन ।
महिलाको हकमा यो अवस्था अझ भयावह रहेको देख्न सकिन्छ । खाडीमा काम गर्न आउने महिलाहरूलाई सुरुवातदेखि नै दुखियारी महिलाका रूपमा चित्रण गर्छ समाजले । अमेरिका प्रवेश गर्न अवैध मार्ग प्रयोग गर्दा पानी समेत पिउन नपाएर एक जना चेलीको ज्यान गयो र लास समुद्रमा फ्याँकियो त्यो भन्दा दर्दनाक मृत्यु अरू केही हुन सक्दैन । त्यो स्थानसम्म पुग्नको लागि उनले व्यहोरेका हण्डर ठक्करहरू उनले गर्नुपरेका सम्झौताहरू र उनले भोग्नु परेका शोषणहरू कति थिए होलान् ।
तर, एक पटक अमेरिकाको सिमाना पार गरेको भए उनले जीवनमा भोगेका सबै सास्तीहरू आफू चाहिँ बिर्सन सक्ने थिईनन होला तर समाजले त्यो पिडा प्रति कुनै चासो दिँदैनथ्यो । त्यस्तो पिडा पार गरेर अमेरिका पुगेको भनेर पत्याउने थिएन यदि पत्याए पनि झन् सहानुभूति दिन्थ्यो र अमेरिका पुग्नु नै ठूलो उपलब्धि ठानेर अरू कुरा बिर्सन्थ्यो ।
यता खाडी छ जहाँ रहेका चेलीको चिरहरणमा व्यस्त छ समाज । कुनै पनि युवतीले खाडी मुलुक काम गर्न जाँदै छु भनेर समाजलाई सुनाउन सक्ने अवस्थाको विकास अझै हुन सकेको छैन । सुरक्षाको हिसाबले हेर्दा म कार्यरत रहेको देश यो संसारमै महिला सुरक्षाको लागि अग्रस्थानमा आउँछ होला । घरायसी कामदारको हकमा मिडियामा आएका केही समाचारहरूले यहाँको बारेमा केही नकारात्मकता र केही भ्रम छरेकै कारण हाम्रो समाज खाडी प्रति यति निर्दयी भएको हो त ? प्रश्न जटिल छ ।
सरकार आफै पनि खाडी असुरक्षित स्थान हो भनेर बुझाउन र खाडीको असुरक्षाको विज्ञापन गर्न व्यस्त छ । महिलाको प्रवेशमा रोक, उमेर हद तोकिनु, र घरायसी कामदारको रूपमा काम गरेर बिदामा गएका मजदुरहरूको श्रम स्वीकृति नवीकरण नहुनु जस्ता कुराहरू हेर्दा हाम्रो सरकार खाडी मुलुक पूर्णतया असुरक्षित स्थान हो भनेर प्रमाणित गर्न लागिपरे जस्तो देखिन्छ । सरकारका यस्ता रवैयाले खाडी साँच्चै असुरक्षित देश हो कि भन्ने भ्रम छरिरहेका छन् ।
जहाँ बाटो हिँडिरहेकी युवतीलाई कुनै खराब नियत भएको मान्छेले फर्केर सिधा हेर्न सक्दैन त्यो मुलुक असुरक्षित कसरी भयो म अचम्ममा पर्छु । रात के दिन के चौबिसै घण्टा जहाँ सुरक्षाको सत प्रतिशत ग्यारेन्टी छ त्यही स्थानलाई हेयको दृष्टिले हेर्छ हाम्रै समाज ।
कुनै पनि साधारण युवा खाडीमा कार्यरत युवतीसँग विवाह गर्न हच्किन्छ । नेपालमा बेरोजगार युवक नै किन नहोस् उसले खाडीमा कार्यरत युवतीसँग सजिलै बिहे गर्ला ? गर्दैन किनकि उसलाई मिहनेतको रङ्ग कस्तो हुन्छ थाहा नै छैन । हरेक अभिभावक अमेरिकामा मासिक रूपमै रुम पार्टनर फेरेर बस्न बाध्य भएकी युवती लाई चोखी र पवित्र देख्छ र खाडीमा कार्यरत लाई बिटुली ।
अब सामाजिक सोचमा परिवर्तन ल्याउने बेला भएको छ । खाडीको वास्तविकता यहाँ खुल्दै गएको स्वतन्त्रता र यहाँको अनुशासन ले मान्छे लाई निकै सामाजिक बनाएको छ । सामाजिक दायरामा कसरी बस्ने र कानुनको पालना कसरी गर्ने भनेर सिकाउने पाठशाला हो खाडी –यहाँ कार्यरत मजदुर हरूको पसिनाको सही मूल्याङ्कन गरियोस् ।
मैले एक दिन फेसबुकमा यौटा प्रश्न राखेको थिएँ । किन फरक देख्छ समाजले मेहनतको रङ्गलाई ? किन पर्गेल्छ खाडी र पहिलो विश्वको कमाईलाई भनेर । अमेरिकामा अध्यनरत एक जना व्यक्तिले त्यो प्रश्नको तल कमेन्ट गरे । किनकी खाडीले डाक्टर उत्पादन गर्दैन, वैज्ञानिक उत्पादन गर्दैन, शिक्षित् व्यक्ति उत्पादन गर्दैन । उनी अझ तल्लोस्तरमा उत्रँदै कमेन्ट गरे, मजदुर मात्र उत्पादन गर्छ अरबले त्यसैले अमेरिकाको इज्जत छ र खाडीको इज्जत छैन ।
म अचम्म परेँ, अमेरिकामा उच्च शिक्षा हासिल गर्दै गरेको व्यक्तिको सोच यस किसिमको छ भने हाम्रो पुरातन समाजको सोच सजिलै बदलिएला त ?
युरोपले अमेरिकाले डाक्टर उत्पादन गर्छ त्यो मान्न मलाई कुनै अप्ठ्यारो छैन तर के डाक्टर उत्पादन गर्दैन भन्दैमा खाडीलाई हेप्न मिल्छ त ? कति बाबुहरू छन् खाडीमा जसले यहाँ कमाएको पैसाले आफ्ना सन्तानलाई डाक्टर बनाएका छन् ? कति आमाहरू छन् खाडीदेखि इजरायल सम्म सिङ्गो मध्यपूर्वमा जसका सन्तान हरूले यही कमाइको आधारमा उच्च शिक्षा हासिल गरेका छन् त्यो पाटोलाई नजरअन्दाज गर्न मिल्छ र ?
मध्यपूर्वमा कार्यरतहरूको सपना सानो होला तर सुखी छ यो कुरामा दुई मत छैन । यो क्षेत्रले नेपाली युवाहरूलाई जुन सिप प्रदान गरेको छ र जुन अनुशासन सिकाएको छ त्यो कुराको भने उच्च मूल्याङ्कन हुन जरुरी छ ।





























प्रतिक्रिया