पूर्व नेपालको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे, मिल्के, गुफा, पाथीभरा क्षेत्र प्राकृतिक हिसाबले सुन्दर भएपनि पर्यटकीय आवागमन भने कम छ । प्राकृतिक रुपमा मात्र सुन्दर नभएर यो क्षेत्र धार्मिक, जैविक, सांस्कृति हिसाबले पनि देशकै उत्कृष्ट गन्तब्य स्थलमा पर्दछ । राजधानीसंगको दुरी टाढा भएका कारण यो क्षेत्रमा जति पर्यटक पुग्नुपर्ने हो त्यति पुग्न सकेका छैनन् । त्यसको मुल कारण हो, यसको प्रचार–प्रसार र प्रबद्र्धन अनि भौगोलीक विकटता ।
यी क्षेत्रहरुको प्रचार–प्रसार, बिकास र प्रर्बद्धनका लागि ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं’ ले आगामी चैत २७ गते देखि बैशाख ३ सम्म तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सवको आयोजना गर्न लागेको छ ।
यो बिषयमा ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं पर्यटन विभाग प्रमुख ईश्वरी पौडेलसंग केन्द्रविन्दु अनलाईनले गरेको कुराकानी
तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव किन ?
प्राकृतिक हिसाबले पूर्वी नेपालको ताप्लेजुङ आसपासका क्षेत्रहरु असाध्यै सुन्दर छन् । नेपालको दोस्रो र संसारको तेश्रो उच्च हिमशिखर कञ्चनजङघा साथै अन्य ५ वटा ८ हजार मिटर भन्दा अग्ला हिमालहरु यो क्षेत्रमा छन् । धार्मिक सांस्कृतिक रुपले पाथिभरा नेपालमा मात्र नभएर दार्जलिङ, सिकिम लगायताका भारतका आम मानिसले मान्दै आएको प्रसिद्ध धार्मिक स्थल हो । तिनजुरे, मिल्के र जलजले क्षेत्र गुराँसको राजधानी पनि हो ।
विश्वमा ३८ प्रजातिका गुराँस पाइन्छन, ती मध्ये नेपालमा ३२ प्रजातिका छन् । नेपालमा पाइने ३२ प्रजाति मध्ये तिनजुरे, मिल्के, जलजले क्षेत्रमा मात्र २८ प्रजातिका गुराँसहरु पाइन्छन् । सिंगलिला हिमश्रृङखला यही क्षेत्रमा पर्छ, जुन संसारकै सुन्दर हिमश्रृङखला हो । तर, प्रचार प्रसार अभावमा तुलनात्मक रुपमा पर्यटकहरु जान अथवा लैजान सकिरहेका छैनौं । यो क्षेत्रको प्रचार प्रसार गरेर पर्यटकीय स्थलको बिकास र प्रबद्र्धन गर्ने उद्देश्यले यो पदयात्रा महोत्सवको आयोजना गरिएको हो ।
पदयात्रा र महोत्सव दुबै भन्नु भयो, एउटै कसरी मिल्छ र सम्भव हुन्छ ।
यो सुन्दा फरक लागे पनि हाम्रो उद्धेश्य अनुरुप मिल्ने खालको खाका हामिले लिएका छौ । यो क्षेत्र हामी पर्यटन ब्यवसायीहरु र पूर्वी नेपालका आम मानिसहरुका लागी ऐतिहासिक र छुट्टै पहिचान बोकेको छ । हामीसँग धर्तीकै सुन्दर प्राकृतिक सम्पदाहरु यस क्षेत्रमा छन् । खासगरी पश्चिम नेपालका औसत पर्यटकीय स्थलहरुमा नै हजारौं पर्यटकहरु पुगिरहेका हुन्छन् । तर, यस क्षेत्रमा असाध्यै कम संख्यामा पुग्छन् । यसको मतलब हामीले यसको महत्व बुझाउन सकेका छैनौं । स्थानीयहरुले पनि कम बुझेका छन् । हामीले यसको महत्व बुझेर सबैलाई बुझाउन सके लाखौं पर्यटकरु लैजान सक्छौं । काठमाडौं बाट भौगोलिक विकटताका कारण हामीलाई यस क्षेत्रमा पुग्न केही लामो समय लाग्ने र धुम्नु पर्ने ठाउँहरु प्रशस्त भएका कारण हामी सबै विभिन्न ठाँउहरुमा विशेष कार्यक्रमहरु गर्दै र प्रत्येक ऐतिहासीक ठाँउहरुमा विशेष कार्यक्रमहरु गर्दै जाने भएको कारण यो पद यात्रा र महोत्सव दुवै नाम राखेर यो कार्यक्रमको आयोजना गरेका हौ ।
ठाँउ ठाँउमा विभिन्न कार्यक्रमहरु गर्दै जाने भन्नु भएको छ ? कुन ठाँउमा कस्ता कार्यक्रमहरु गर्नु हुन्छ ?
हामीले चैत २७ गते देखी कार्यक्रम सुरु गरेर बैसाख ३ गते समापन गर्नेछौं । काठमाडौंबाट सुरु भई प्रदेश १ को प्रमुख शहर ईटहरी हुदै धरान, भेडेटार, धनकुटा, हिले, वसन्तपुर हुँदै टुटे देउरालीसम्म हामी सवारी साधनहरु प्रयोग गरेर पुग्छौ भने टुटे देउराली देखि पदयात्रा गर्दै तीनजुरे–चौकी–गुफापोखरी–मिल्के हुँदै पाथीभराको चुलीमा पुगि फर्कन्छौ । फर्कदा हामी जुन बाटो गयौ त्यही वाटो नभई फिदिम–सिलौटे–पौवाभञ्ज्याङ–कन्याम–श्रीअन्तु हुँदै काठमाडौंमा आएर समापन गर्ने छौ ।
पदयात्राका क्रममा धरान, टुटे देउराली, पाँचथर, इलाम, विर्तामोडमा पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्ने छौ । चौकीमा लालीगुराँस सम्बन्धी जनचेतना मूलक कार्यक्रम, गुफामा लालीगुराँसको संरक्षण र विकाससम्बन्धी र मैवाखोला गाउँपालिकाको साँघुमा ताप्लेजुङको विकासमा पर्यटनको भूमिका विषयक कार्यक्रम गर्ने छौ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा ताप्लेजुङका माननीय सांसद योगेश भट्टराईले ताप्लेजुङको विकास र सम्भावना र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । पाथीभराको चुलीमा २०७५ साल वैशाख १ गते ‘ताप्लेजुङको पर्यटन विकासमा पाथीभरा’ विषयक संक्षिप्त गोष्ठीको आयोजना गर्ने छौ । फर्कदा पाँचथरमा पुर्वी पहाडको पर्यटनमा सिलौटे शिर्षकमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने छौ जहाँ पाँचथरका माननीय वशन्त नेम्बाङ्गले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । धरान, धनकुटा, तेह्रथुम र संखुवासभामा पनि विभिन्न कार्यक्रमहरु गर्दै जाने छौ ।
तपाईहरुको कार्यक्रम तालिका कस्तो छ ?
– चैत्र २७ गते विहान ५:०० बजे काठमाडौंबाट प्रस्थान ।
– चैत्र २७ गते दिउँसो धरानबाट प्रस्थान । भेडेटार दृश्यावलोकन । वसन्तपुर लालीगुराँस पार्क अवलोकन, टुटे देउरालीबाट पैदल यात्रा सुरु, तीनजुरेमा बास ।
– चैत्र २८ गते तीनजुरेबाट हिमश्रृंखलाको दृश्यावलोकन । चौकीमा खाना । चौकी–मंगलबारे–गुफा क्षेत्रको अवलोकन र साँझमा मेन्छ्यायेम डाँडाबाट सुर्यास्तको दृश्यावलोकन । गुफामा वास ।
– चैत्र २९ गते बिहान मेन्छ्यायेम हाइटबाट सूर्योदयका साथै कंचनजंघादेखि गौरीशंकरसम्मको दृश्यावलोकन । मिल्केमा ब्रेकफास्ट । मिल्के क्षेत्रमा पाइने सबैभन्दा बढी गुराँसको अवलोकन गर्दै साँघुमा लञ्च र कार्यक्रम गरी ढुंगेसाँघुमा मदन भण्डारीको जन्मघर अवलोकन पछि वास ।
– चैत्र ३० गते बिहान दोभान त्रिवेणीमा नदी अवलोकन पश्चात ब्रेकफास्ट गरी ताप्लेजुङ बजारमा खाना र कार्यक्रम, बजारबाट सुकेटार पं्रस्थान, सुकेटारको दृश्यावलोकन गरी पाथीभरा फेदीमा वास ।
– २०७५ साल वैशाख १ गते पाथीभरा डाँडाबाट सूर्योदय र त्यहाँबाट देखिने हिमश्रृंखलाहरुको दृश्यावलोकन, पाथीभरा देवीको दर्शन र नयाँ वर्ष २०७५ हर्षोल्लासका साथ मनाउने । साँझ सुकेटारमा नयाँ वर्ष सहभोजमा सामेल ।
– वैशाख २ पाँचथरको सिलौटे–पौवाभन्ज्याङ–कन्यामलगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी श्रीअन्तुमा वास ।
– वैशाख ३ गते बिहान श्रीअन्तुबाट सुर्योदयको दृश्यावलोकन गरी उत्सवमय र रोमाञ्चकारी यात्राको सम्झना बोकेर काठमाडौंं प्रस्थान ।
तपाईहरुले नयाँ रुट बनाउन खोज्नु भएको हो ?
यो क्षेत्रमा यसअघि पनि पर्यटकहरु गइरहेका छन् । तर, जति जानुपर्ने हो त्यति आएका छैनन् । पर्यटकीय रुटको रुपमा स्थापित हुदैछ । यसलाई पर्यटकीय सर्किटको रुपमा बिकास गर्न खोजेका छौं । हामीले हाम्रो क्षेत्रमा पुग्नको लागी एउटा बाटोबाट जाने र अर्कोबाटो बाट फर्कने गरी यात्राको गोरेटो कोर्न खोजेका हैं । ‘अबको गन्तव्य पाथीभरा’ नाराका साथ ताप्लेजुङ र आसपास (तेह्रथुम, संखुवासभा र पाँचथर) मा रहेका पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गरी पाथीभरा जाने पर्यटकलाई प्रेरित गर्न नयाँ पर्यटकीय गन्तव्यको विकास गर्ने र सन्देश दिने उद्धेश्यले हामी ताप्लेजुङको पाथीभरालाई केन्द्र बनाएर तीनजुरे–गुफापोखरी–पाथीभरा–सिलौटे–श्रीअन्तु टुर एण्ड ट्रेक्स सर्किटको नयाँ ट्रेकिङ सर्किटको विकास गर्न खोजेका हौं ।
यो कार्यक्रमको प्रमुख फोकस कुन क्षेत्रलाई हो ?
‘अबको गन्तव्य पाथीभरा’ हामीले यो नारा तयार पारेका छौ । हाम्रो यो पटक को कार्यक्रम आन्तरिक पर्यटकहरुलाई वढी फोकस गरेका छौं । ऐतिहासिक महत्व बोकेको क्षेत्र पाथीभरालाई नै केन्द्रमा राखेर अगाडी बढेका छौ । हामी ईटहरीवाट घरान हुदै ताप्लेजुङ ४ दिन लगाएर पुग्ने छौ । तर पछि पर्यटकहरु अन्य तिर्थ यात्रीहरु ईटहरीवाटै एक दिनमै पाथीभरा सम्म पुग्न सक्छन् । तमोर नदिको पुल अव यहि वैशाख भित्र सम्पन्न भए पछि यो बाटो थप सहज हुने छ । भ्रमणमा निस्केका पर्यटकहरुलाई धुम्ने ठाँउ प्रसस्त होस र थप धुम्ने भोक जगाउन पनि हामीले दुईवटा वाटोलाई जोडन खोजेका हौ । ईटहरी, धरान, धनकुटा, वसन्तपुर, गुफा, तिनजुरे मिल्के जलजले हुँदै पाथीभरा पुगेर पाँचथर, ईलाम, झापा हुँदैं ईटहरी जोडन सक्दा यो क्षेत्रलाई फाईदा पुग्ने हुँदा यो रुट हामी पर्मानेन्ट बनाउन खोज्दै छौ ।
यो पदयात्रा महोत्सवले के पाईदा पुर्याउछ ?
फाईदा त अवश्य छ, मुलत त्यस क्षेत्र र स्थानीयवासीहरुलाई तर त्यो सवाल भन्दा, नेपालको समृद्धिको लागि एउटा मुख्य आधार नै पर्यटन उद्योग हो । ताप्लेजुङमा भएका प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थलहरुमा पर्यटक धेरै भन्दा धेरै पुर्याउदा त्यस क्षेत्रको विकासलाई टेवा पुग्ने नै छ ।
यसका निम्ति ताप्लेजुङमा रहेका पर्यटकीय स्थलहरुको आवश्यक बिकास र प्रबद्र्धनको निम्ती सरकारले ठोस सहयोग गर्नुपर्छ । कञ्चनजङघा रुटको लागि आबश्यक भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्छ । विभिन्न सर्किट ट्रेक, टि हाउसका निम्ति पर्याप्त होटल, लज निर्माण गर्ने वातावरण र यस्ता नमुना स्थलहरु वनाईनु पर्छ ।





























प्रतिक्रिया