हरेकजसो समाचारले चर्चा पाइरहेको नेपालमा एकपछि अर्का विवाद, आन्दोलन र घटनाले उस्तै नै महत्व पाइरहने गरेको अवस्था नौलो होइन । पछिल्लोपटक शुरु भएको अर्को मुद्दाले यतिबेला नेपालमा राम्रैसँग हलचल मचाइरहेको छ । विषय हो, नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समावेश गरेको । सरासर हेर्दा यो भारतको विस्तारवादी निती त हो नै, नेपाल र नेपाली माथिकै धावा हो भन्दा फरक पर्दैन । तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने किन सधैं हाम्रो सिमानामा विवाद हुन्छ ? किन भारतले सधैं आफ्ना सीमा स्तम्भ नेपालतिर धकेल्छ ? किन यसको कुटनितिक समाधान खोजिंदैन ? तर जवाफ पाइने निकाय नै छैन । जो बोल्छ, आफ्नै स्वार्थले बोल्छ, ऊ सँग कुनै राष्ट्रियभाव नै छैन जसरी ।
यहि सीमाविवादसँग नेपालविरुद्ध अभिव्यक्ति दिने भारतिय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा छन् । उनको भ्रमणलाई दुई देशबीचको चिसिएको सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ । नेपाल र भारतका अधिकारीहरूले नरवणेको भ्रमणपछि दुई देशबीच कूटनीतिक वार्ताको पहल हुन सक्ने आँकलन गरेका छन् । उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण नेपालमा उनको विरोध पनि भएको थियो । बुधबार नेपाल आएका उनी विरुद्ध माइतीघरमा प्रर्दशन पनि भए ।
हुन त नेपाल भारत सीमा विवाद आजको मात्र होइन । वर्षौंदेखि भारतले सीमाक्षेत्रमा अतिक्रमण गरिरहेकै छ । अझ अहिले चर्चामा आएको कालापानी र लिपुलेकको समस्या त ०१८ सालमा पनि देखिएको थियो । त्यतिबेलै यस समस्यालाई समाधान गर्न कुनै कुटनीतिक प्रयास गरिएन, जसका कारण अहिले बेलुका नेपाली भएर सुतेको नागरिक विहान उठ्दा भारतिय भइसकेको हुन्छ । पछिल्लो घटना पनि यसैको निरन्तरता हो । तर के अन्तर्राष्ट्रिय नियमले यसो गर्न दिन्छ ? कि ठूलाले सानालाई जे गरेपनि हुन्छ ? सानाको चाहिं आफ्नै अस्तित्व हुँदैन ? यो यतिबेला जल्दोबल्दोरुपमा उठेको प्रश्न हो । तर जवाफ दिने निकाय कानमा तेल हालेर बसेको अवस्था पनि यहि हो ।
नेपालको सिमाना मध्ये उत्तरतिर चीन र पूर्व, पश्चिम र दक्षिणतिर भारत छ । चीनतिर सीमा जोडिएका १३ वटा जिल्ला छन् भने भारतसँग सीमा जोडिएका २६ जिल्ला छन् । चीनतिर रहेको भौगोलिक अवस्थाले गर्दा भारततिर जस्तो सिमाविवाद कम छ । यद्यपी विभिन्न ८ जिल्लामा चीनले पनि ३६ हेक्टर नेपाली भूमि मिचेको समाचार पनि आइरहेको छ । चीनले मिचेको समाचार कम आउँछ । दोलखा, सिन्धुपाल्चोक, मुस्ताङ्ग अनि सगरमाथा क्षेत्रमा चीनले सीमा मिचेको छ । यति मात्र होइन सगरमाथा नै चीनमा पर्छ भनेर पनि चीनले कहिले काहिं दाबी नगरेको होइन । तर भारततिर जसरी सिधै चीनले नेपालतर्फ विस्तारवादी निती भने लाद्न सकेको छैन । भारततर्फका कति ठाउँमा सीमा मिचियो र कति हेक्टर जमिन भारतले आफ्नो बनायो भन्ने बारेमा यहाँ सरकार नै बेखबर छ ।
पछिल्लो पटक विवादमा आएको भारतिय सीमा मध्ये कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद उत्कर्षमा पुगेको हो । यो सहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद भएको तथ्य बाहिर आएको छ । भारतसँग जोडिएका २६ जिल्ला मध्ये २३ जिल्लामा सीमा समस्या छ ।
पछिल्लो पटक विवादमा आएको भारतिय सीमा मध्ये कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद उत्कर्षमा पुगेको हो । यो सहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद भएको तथ्य बाहिर आएको छ । भारतसँग जोडिएका २६ जिल्ला मध्ये २३ जिल्लामा सीमा समस्या छ ।
डडेलल्धुरा, बैतडी र धनुषामा मात्र अहिलेसम्म सीमा अतिक्रमणका घटना देखिएका छैनन्, नआउला भन्न भने सकिंदैन । तर अन्य २३ जिल्लाहरु मध्ये दार्चुलादेखि ताप्लेजुङसम्म भारतले ६० हजार ६२७ हेक्टर जमिन मिचेको छ । वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रकाशित गर्नु भएको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८५० किलोमिटर सीमाना जोडिएको छ । जसमध्ये ६ सय ६ किलोमिटर विवादित छ । सन् १८५६ पछि भारतले सीमा मिच्न थालेको हो । सुगौली सन्धि अनुसार काली नदी सीमा हो । भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई काली भन्न थाल्यो । भारतले यहाँ बाटै सीमा मिच्न थालेको हो ।
कृतिम नदी बनाएर नेपालतर्फका क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतपटि पारिएको त्यतिबेलै हो । त्यतिबेला कालापानी र लिपुलेक भारतले देखाएपनि नेपालले दाबी गर्दै आयो तर लिम्पियाधुरालाई भने वास्ता गरेन, नक्सामा भने कायम राख्यो । जसको फाइदा भारतले सोझै उठायो । भारतले पनि ती भूभागलाई आफ्नो नक्सामा राख्दै आयो । जसलाई नेपालले पनि आफ्नो नक्सामा त्यहि ठाउँलाई जनाउँदै आएको छ । एउटै ठाउँ तर दुईतिरको दाबीले गर्दा त्यतिबेलै विवाद आएको यहाँको सीमा समस्यालाई त्यतिबेला कुटनितीक रुपमा मिलाउने प्रयास भएन । नेपालमा सत्तासमिकरण छोटो समयमै फेरबदल भइरहने कारणले गर्दा यसको फाइदा भारतले सीमा मिचेर उठायो । जून कार्य अन्तर्राष्ट्रिय सन्धीसम्झौता विपरित मात्र थिएन आन्तरिक किचलोका रुपमा सधैं रहने निश्चित थियो । जो फेरि बल्झिएको छ ।
समस्या कालापानी र लिपुलेकको मात्र होइन । यस्ता ७१ ठाउँमा नेपालको भारतसँग सिमाविवाद छ । नेपालमा सत्तासमिकरण फेरिने बित्तिकै प्रधानमन्त्री दलबलसहित लर्को लागेर भारत भ्रमणमा जाने परम्परा बसेको छ । भ्रमण भन्दै सरकारी ढुकुटीबाट मोजमस्ती गरेर फर्कन्छन् नेताहरु । भ्रमण सफल र फलदायी भयो भन्दै मन्त्र फुक्छन् तर यस्ता सिमासमस्याका बारेमा चुँ सम्म पनि बोल्दैनन् । साँच्चै भन्नु पर्दा दुःख लाग्छ, राष्ट्रिय सरोकारका विषयमा नेतृत्वकर्ताले ध्यान नदिएकै कारण आज हरेकदिन हामी सीमा अतिक्रमणमा परेका छौं । के यो हामी स्वाभिमानी नेपालीका लागि आमाको छातीमा परचक्रिले लात्ती हाने सरह होइन ? अहिले नेपालमा भइरहेको विरोध पनि यसकै कारण हो ।
हाम्रा पूर्खाले पूर्व टिस्टादेखि पश्चिममा काँगडासम्म नेपालको सिमाना पुर्याएको इतिहास छ तर सुगौली सन्धीपछि नेपालले एकतिहाई भूभाग गुमाएर वर्तमान अवस्थामा खुम्चिनु परेको छ । त्यहिपनि पटक पटक सीमा मिचेर समस्या बनाउने काम भारतबाटै हुने गरेको छ । यतिबेला विवादमा आएको कालापानी र लिपुलेकको ६२ वर्गकिलोमिटर क्षेत्रफल छ । त्यस्तै ३१० वर्गकिलोमिटर लिम्पियाधुरा क्षेत्र भारतले कब्जा गरेको छ । कालापानी मात्र होइन सुस्ताक्षेत्र पनि उत्तिकै बढी समस्याग्रस्त क्षेत्र हो । यहाँ त भारतले १४ हजार हेक्टरभन्दा वढी नेपाली भूभाग भित्र्याइसकेको छ । विवाद आएका अरु सिमाक्षेत्र मध्ये कञ्चनपुर, टनकपुर क्षेत्र, टनकपुर ब्यारेज, गड्डाचौकी क्षेत्र, शारदा ब्यारेज, शुक्लाफाँटा लगायतमा पनि सीमा विवाद उस्तै छ । कैलाली, बर्दिया, बाँके र लक्ष्मणपुर बाँधमा आएका विवाद पनि सल्टिएका छैनन् ।
हुन त ठूला माछाले साना माछालाई खान्छ भन्ने नेपाली उखान नै छ । तर उखानले देशको सीमा चल्दैन । त्यतिबेलै नेपाल निर्माता पृथ्वीनारायण शाहले भनेका थिए, नेपाल दुई ढुंगाविचको तरुल हो । उनले भने जस्तै अहिले दुई ठूला ढुंगाले च्याप्दै वीचमा रहेको तरुल पेलिए जस्तै भएको छ नेपाल । तरपनि वर्षौंदेखिको यो समस्याको स्थायी समाधान हुन नसक्नु विडम्बना नै बनेको छ ।
देशको सीमा विवादकै कारण विश्वमा ठूला ठूला युद्धहरु हुने गरेका छन् । भारतको नेपालसँग मात्र होइन, पाकिस्तानसँग पनि सीमा विवाद उस्तै छ ।
देशको सीमा विवादकै कारण विश्वमा ठूला ठूला युद्धहरु हुने गरेका छन् । भारतको नेपालसँग मात्र होइन, पाकिस्तानसँग पनि सीमा विवाद उस्तै छ । कास्मिरमा भारत र पाकिस्तानवीच हुने गरेको युद्ध यसकै परिणाम हो । नेपाललाई त भारतले सधैं आफ्नो उपनिवेश जस्तै बनाईरहेको यथार्थ हो । यति मात्र होइन, नेपाललाई आफ्नो स्वार्थ अनुसार प्रयोग गरिरहेको भारतले आफ्नो व्यापारिक थलो बनाइरहेको छ । छिमेकी भएर छिमेकीले गर्नु पर्ने जति व्यवहार भारतले नेपालप्रति देखाएको छैन, न चीनले नै देखाएको छ । जसका कारण साँच्चै नै आज हामी दुई ढुंगाविचको तरुल नै बन्न बाध्य छौं ।
विश्वमा २ सय भन्दा धेरै मुलुकहरु छन् । यहाँ सबैको उस्तै स्थान छ , सानो भनिएको देश भ्याटिकनसिटी होस् वा ठूलो भनिएको चीन वा आफूलाई शक्तिशाली ठान्ने अमेरिका र भारत नै किन नहोस् सबैको समान स्थान रहनु पर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । ठूला भनिएकाहरुको बल मिच्याईंले साना भनिएकाहरु समस्यामा परिरहँदा पनि यसतर्फ अन्र्तराष्ट्रिय निकायहरु समेत मौन जस्तै छन् ।
नेपाल र भारतको पछिल्लो सीमा विवादले पहिलेदेखि विद्यमान सीमा समस्याको समाधानको एउटा बाटो पनि खुलेको त छ तर यसलाई अवसरको रुपमा लिन सकिने वा नसकिने भन्ने यसै भन्न सकिने अवस्था छैन । नेपालले भारतको एकतर्फि नक्सा मान्य नहुने बताइरहँदा भारतले पनि आफूले नेपालको कुनैपनि भूभागमा कुनै किसिमको अतिक्रमण नगरेको बताइरहेको छ । दुवै पक्षको आआफ्नै दाबीले समस्या समाधान हुने भन्दा पनि वढ्दै जाने निश्चित छ । पुराना सन्धी सम्झौताका फाइल पल्टाउने हो भने अहिले भारतले आफ्नो नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सरासर नेपालकै भूभाग हो । यो त्यतिबेला कुनै सानो सर्तमा नेपालले भारतलाई प्रयोग गर्न दिएको भने हुन सक्छ तर जमिन नै उसको हुने गरि वा भारतिय सैनिक तैनाथ हुनेगरि दिएको भने हुँदै होइन । कुनै घरमा भाडामा बस्ने मान्छेले नियमित २० वर्ष सम्म भाडामै बसेपछि त्यो घर नै आफ्नो भनेर दाबी गरे जस्तै हो अहिले भारतको हठ ।
हुन त नेपालले अहिले विवादित भूभाग समेटेर नयाँ नक्सा समेत जारी गरेको छ । त्यसयता नेपाल भारतबीच सीमा समाधानमा कुनै वार्ता भएको छैन । यसैबीच भारतिय स्थलसेना प्रमुख मुकुन्द नरवणे नेपाल भ्रमणमा आएका छन् । उनको भ्रमणले यस समस्या समाधानमा केही भूमिका निभाउन सक्ने अपेक्षा गरिएको छ तर त्यो निश्चित भने छैन ।
यसरी भारत जस्तो शक्तिसम्पन्न राष्ट्रले यस्ता विषयमा अल्झिनु कदापी उचित होइन । अन्तर्राष्ट्रिय नियम कानुन उसलाई पनि थाहा छ । यस किसिमको सीमा समस्याको समाधानका लागि नेपाल सरकारले पनि कुटनीतिक रुपमै पहल गर्नु आवश्यक छ । नत्र यस्ता रैथाने समस्याबाट आगामी दिनमा झन ठूलो र भयावह अवस्था आउने निश्चित छ ।
[email protected]





























प्रतिक्रिया