घुमिफिरी देउवा ! (भिडियोसहित)

घुमिफिरी देउवा ! (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

करिब दुई तिहाईको सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक कलहमा डुबेपछि मुलुकको शासकीय सत्ताको चाबी  अब  नेपाली कांग्रेसको हातमा आइपुगेको छ।

अहिलेसम्मका घटनाक्रममा कुनै फेरबदल नआए कांग्रेस सभापति शेरबहादुर देउवा फेरि  शासकीय सत्ताको चाबी बोकेर प्रधानमन्त्रीका रूपमा सिंहदरबार छिर्नेछन्।  

आगामी फागुन २३ गतेबाट सुरु हुने संसद् अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने गरी अविश्वासको प्रस्ताव पेस हुँदै छ। र, ओलीको विकल्पमा अब भावी प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा देखिएका छन्। नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले गत पुस ५ गते ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको थियो।

 उक्त प्रस्तावमा भावी प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाललाई प्रस्ताव गरिएको थियो । तर, अब उक्त प्रस्ताव दाहाल–नेपाल समूहले फिर्ता लिने भएको छ ।  दाहाल–नेपाल समूहको फागुन १९ गते बसेको केन्द्रीय कमिटी बैठकले सरकार गठनका लागि सबै विकल्पमा खुला राख्ने निर्णय गरेको छ। 

दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई हटाउनका लागि भए पनि अब कांग्रेसलाई नै सरकारको नेतृत्व दिन सकिने अभिव्यक्ति दिइसकेका छन्। दाहाल–नेपाल समूहले गरेको निर्णयले पनि अब  यो समूहबाट प्रधानमन्त्रीको दाबी हुने छैन। जसरी भए पनि ओलीविरुद्ध सबै शक्ति मिलेर सरकार बनाउनुपर्ने दाहाल–नेपाल समूहको निर्णय छ। त्यसैले अब भावी प्रधानमन्त्रीका रूपमा यो समूहले कांग्रेस सभापति देउवालाई नै समर्थन गर्ने स्थिति बनेको छ।

 प्रधानमन्त्रीका रूपमा नेतृत्व सम्हाल्न देउवा पनि लालायित देखिएका छन्। फागुन १९ गते  चितवन पुगेका देउवाले प्रधानमन्त्रीका लागि रोक्न खोज्ने आफ्नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कटाक्ष गर्दै यस विषयबारे स्पष्ट बोलेका छन्। ‘म पार्टीबाटै प्रधानमन्त्री हुने हो, अरु पार्टीको भन्दा आफ्नै पार्टीको प्रधानमन्त्री भए फाइदा हुने होला,’ देउवाले भनेका छन्, ‘जिम्मेवारी ठूलो कुरा हो, यसबाट पन्छिने भन्ने हुँदैन।’ 

 देउवासँग सत्ता–साझेदारीका लागि दाहाल–नेपाल समूहका नेताहरूले दिनहुँ उनीसँग छलफल गरिरहेका छन्। सरकारको नेतृत्वबारे छलफल गरि सुझाव लिन दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक राखेका थिए। उक्त बैठकले  यसबारे निर्णय लिने अधिकार स्थायी कमिटी र सचिवालयलाई दिएको छ। 

देउवाले आज (बिहीबार)का लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। यस बैठकबाट सरकारमा जाने, अविश्वासको प्रस्ताव पेस गर्ने लगायत विषयमा छलफल हुनेछ। शुक्रबार हुने पार्टीको संसदीय दलको बैठकका एजेन्डाबारे समेत छलफल हुनेछ। 

कांग्रेसभित्र देउवा समूह सुरुदेखि नै सरकारको नेतृत्व गरेर जानुपर्ने पक्षमा छ।  पौडेल पक्षले सरकारको नेतृत्वमा जान नहुने धारणा राख्दै आएको थियो। तर, पौडेल पक्षमा रहेका महामन्त्री शशांक कोइरालाले अब दाहाल र नेपाल समूहसँग मिलेर कांग्रेस सरकारका जानुपर्ने बताउन थालेका छन्। त्यसैले देउवालाई सरकारको नेतृत्व लिन अब सहज भएको छ। पार्टीभित्र पनि सरकारको नेतृत्व गरेर जानुपर्ने मत बढेको छ। 

यता देउवालाई प्रधानमन्त्री बन्नका लागि दाहाल र नेपाल मात्र होइन, नेकपाको ओली समूहले पनि उत्तिकै जोडबल गरेको छ। आफ्नो प्रधानमन्त्री पद जाने अवस्थामा आफ्नो अनुकूल र आफूसहितको गठबन्धनमा सरकार बनाउने योजनाअनुसार ओली समूह अघि बढेको छ। त्यस्तो अवस्थामा ओली समूहले पनि  देउवालाई नै प्रधानमन्त्रीको ‘अफर’ गरेको छ।  पछिल्ला दिनमा देउवा ओलीभन्दा दाहाल–नेपाल समूहको प्रस्तावप्रति बढी विश्वस्त देखिएका छन्।  

प्रतिनिधिसभा विघटनपछि कांग्रेसले  ओलीको कदमविरुद्ध आन्दोलन गरेको थियो। आन्दोलनका क्रममा ओलीले गरेको संसद् विघटनप्रति प्रश्न गरेको थियो।  ओलीको कदम सर्वोच्च अदालतले असंवैधानिक भनेर फैसला गरेपछि यस्तो कदम चाल्ने ओलीकै समर्थनमा सरकारको नेतृत्वमा जाँदा नैतिकताको प्रश्न उठ्ने सम्भावना देखिन्छ । त्यसैले आफूविरुद्ध नैतिकताको प्रश्न नउठोस् भनेर ओलीभन्दा दाहाल–नेपालको प्रस्तावप्रति देउवा आकर्षित भएका हुन्। 

देउवा नेकपा विभाजन होस् भन्ने पक्षमा छन्। नेकपा विभाजित हुँदा त्यसबाट आउँदो चुनावमा कांग्रेसलाई फाइदा हुने भएकाले जे गर्दा नेकपाका  दुई समूह टाढिन्छन्, उनी त्यही गर्ने पक्षमा छन्।

दाहाल–नेपाल समूहसँग मिल्दा  देउवाको गठबन्धन जनता समाजवादी पार्टीसँग पनि हुन्छ। जनता समाजवादी पार्टी पनि ओलीविरुद्धको सडक आन्दोलनमा थियो। उसँग पनि मिलेर गठबन्धन सरकार बनाउने कांग्रेसको प्रयास छ। जसपाका लागि समेत देउवा  सहमतिको उम्मेदवार बन्ने सम्भावना छ।  जसपाका अध्यक्ष बाबुराम भट्टराईले सहमतीय राष्ट्रिय सरकारको कुरा गरेका छन्। उनले आफूलाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा चर्चा गर्ने गरी यो कुरा ल्याए पनि  दाहाल–नेपाल समूह भट्टराईलाई समर्थन गर्ने पक्षमा छैन । 

देउवा यस्ता भाग्यमानी नेता हुन्, यदि यो गठबन्धन सफल भयो भने केही साताभित्रै उनी  पाँचौँ पटक प्रधानमन्त्री बन्नेछन् । 

Skip This
Skip This
Logo