‘विप्लव’को विलय !

‘विप्लव’को विलय !

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय नेपालको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको छ। अब नेकपा त्यो नेकपा नै रहेन, जुन नेकपाले सरकार बनाएको हो। 

 सरकार उही छ, प्रधानमन्त्री के पी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतको फैसलाले बदर गरिसक्यो। त्यति मात्रैले पुगेन, एमाले र माओवादी केन्द्रसमेत ब्युँतिएका छन्। दलको आन्तरिक विवादमा संसद् विघटन हुनु र उक्त मुद्दा अदालत पुग्नु नेपालको संसदीय राजनीतिको बेथिति बन्न पुग्यो, बर्मातिर सैनिक शासन र पाकिस्तानमा सेनाको प्रभुत्व रहेझैं।

यसैबीच, भूमिगत र अर्धभूमिगत तरिकाले सशस्त्र गतिविध गर्दै आइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीको एउटा भंगालो–संगठन शान्तिपूर्ण गतिविधिमा राजनीति आउन राजी भएको छ। उक्त समूहका महासचिव ‘विप्लव’ सार्वजनिक समेत भइसकेका छन्। तर, विप्लव समूहले न हतियार बुझायो, न कुनै राजनीतिक एजेन्डामा सहमति भएको देखियो। 

केवल पक्राउ परेका नेता तथा कार्यकर्ता छुटाउने उक्त समूहको अभीष्ट पूरा भयो। उसै पनि देशका कारागारमा क्षमताभन्दा बढी कैदीका कारण गृह प्रशासनलाई समस्या परेको छ।

यो त बाह्य कुरा भयो, वास्तवमा विप्लवलाई पुत्रमोहले उनकै भाषामा ‘क्रान्ति’बाट फर्कन बाध्य बनायो। चिकित्सा शास्त्र अध्ययन गरेका उनका छोरा प्रकाशको भविष्यलाई दाउमा राख्न चाहेनन् विप्लवले। एकथरीको यो विश्लेषणलाई काट्ने अर्को तथ्य अहिलेलाई देखिँदैन।

विप्लव समूहको आन्दोलनमा लागेर देशका कैयौं व्यक्ति मारिए। तर, विप्लव कुनै राजनीतिक एजेन्डाबिनै सार्वजनिक भए, यसो हुनु विडम्वना नै हो।  शान्तिपूर्ण राजनीति आउछु भन्नु त सुखद पक्ष हो। 

सरकारसँग विप्लवको आत्मसमर्पण शैलीको विलयले उनी राजनीतिक रुपमा कतै परिपक्व देखिएनन्। क्रान्तिका कुरा त  फगत मजाक न रहेछन्।

वास्तवमा, कुन उपलब्धिका कारण विप्लवलाई २–३ वर्षको भूमिगत जीवनबाट सन्तुष्टि मिल्यो ? उनलाई परिवार र सन्तानको चिन्ता हुनु स्वभाविक हो। त्यसो भइरहँदा नागरिकको बाँच्न पाउने अधिकारलाई नजरअन्दाज गर्न मिल्दैन। क्रान्तिका नाममा परिवार र सन्तान गुमाएकाहरुको पीडा कसले बुझिदिने? के यस समय अवधिमा उनको संगठनको नाममा भएका ब्यक्ति हत्या वा अन्य अपराधको जिम्मा लिन्छन त उनी? 

आखिर विप्लवको आन्दोलनको उपलब्धि के देखियो?

यस सन्दर्भमा व्र्षौं सशस्त्र संघर्ष गरेको श्रीलंकाको घटना स्मरण गर्न मन लाग्यो। सन् १९८५ मा जन्मिएका प्रभाकरणका छोरा चाल्र्स एन्टनीले लिट्टे, तमिल टाइगर्सको आइटीसम्बन्धी महत्वपुर्ण जिम्मेवारी सम्हाल्थे र, कतिपय अवस्थामा युद्धको मोर्चा पनि सम्हाल्दथे ।

वेलुपिल्लई प्रभाकरण (नोभेम्बर २६, १९५४–मई १९, २००९) लिबरेसन टाइगर्स तमिल इलमका मुखिया थिए। ‘सनडे अब्जर्वर’ पत्रिकामा प्रकाशन भएको उतिबेलाको समाचार अनुसार उनका छोरा संगठनको महत्वपूर्ण काममा समेत खटिन्थे । यता विप्लवका छोरा डाक्टर बन्दै पो थिए। आक्कलझुक्कल सामाजिक काममा लागेको सामाजिक सञ्जालमा देखिन्थ्यो ।

१८ मे, २००९ मा श्रीलंका सरकारद्वारा मृत घोषणा गरिएका प्रभाकरणको संगठन ६ मई १९७६को, लिबरेशन टाइगर्स तमिल इलम (लिट्टे)का नामले पुनर्गठन भएको थियो।

लिट्टेका एक प्रमुख सदस्य पोट्ट अम्मन, बानु र लक्ष्मण सँगै पुथुकुदीरुप्पु क्षेत्रमा छोरा चाल्र्स एन्टनी श्रीलंकाको सेनाविरुद्घ लडिरहेका अवस्थामा घाइते भएपछि वेलुपिल्लई प्रभाकरण झस्किएका थिए। सन् २००४ मा प्रभाकरणका सहयोगी कर्नल करुणा प्रभाकरणबाट अलग भएपछि उनको प्रभाव खस्कँदै गयो। हामीकहाँ पनि तत्कालीन एकीकृत माओवादीबाट छुट्टिएर गठन भएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलाई  विप्लवले छाडेका थिए।

राजनीतिक शाखा प्रमुख एन्टन बालासिंघमको पनि लन्डनमा मृत्यु भएपछि लिट्टेले आघात थपियो। सन् २००७ मा तमिल विद्रोही नेता एसपी तमिलचेल्वमको पनि मृत्यु भयो। विप्लवकै शब्दमा नेपालमा पनि उनका कैयौं सहयोद्धा मारिएका छन्। के उनीहरूको परिवारको जिम्मेवारी विप्लवले लिन्छन् त?

प्रभाकरणले ८० को दशकमा मारिएका लिट्टे विद्रोहीको नाममा आफ्ना एक छोराको नामाकरणसमेत गरेका थिए। यसरी एकपछि अर्का विश्वासपात्र गुमाएका प्रभाकरणले नर्वेको मध्यस्थतामा युद्धविरामसमेत गरेका थिए। 

विप्लवसँग बिनायुद्धविराम वा अन्य न्यूनतम सहमतिबिनै नाटकीय ढंगबाट कसरी वार्ता भयो? रहस्यमय छ।

प्रभाकरणले आफ्नो पूरै परिवार गुमाए र, स्वयं आफू पनि समाप्त भए। उनले समातेको बाटो सही वा गलत के थियो? त्यहाँका जनताले मूल्यांकन गरेकै थिए होलान्। तर, प्रभाकरणले चाहेको भए परिवार र स्वयं आफू पनि जोगिन सक्थे भन्ने तर्क केही विश्लेषकको रहेको छ। 

अब फेरि प्रसंग जोडौं–शान्ति प्रक्रियामा फर्किएपछि विप्लव सार्वजनिक भएका छन्। तर, राजनीतिक रूपमा उनले कुन चाहिँ एजेन्डालाई स्थापित गरे भन्ने प्रश्न उठेको छ?

विप्लवले केवल सन्तान र परिवारका लागि मात्र सरकारसँग आत्मसमर्पण गरेको देखिन्छ। वैज्ञानिक समाजवादको ह्याङमा बाँचेका कम्युनिष्ट नामधारी व्यक्ति मात्रै रहेछन् नेत्रविक्रम चन्द ‘विप्लव’।

माक्र्स र माओवादबाट प्रभावित ‘विप्लव’ उनकै भाषाको क्रान्तिप्रति इमानदार रहेनन्। बरु  मारिए पनि एलेक्जेन्डर र नेपोलियनबाट प्रभावित लिट्टे प्रमुख प्रभाकरणले  लक्ष्य प्राप्तिका लागि ज्यानकै आहुति दिए। तर, उनका कार्यकर्तासँग झुठ नबोली प्रभाकरणले न्याय गरेकि जस्तो लाग्छ। 

म व्यक्तिगत रूपमा हिंसा र सशस्त्र युद्धको बाटो स्विीकार गर्दिनँ। तर, सवाल नेतृत्वको ढुलमुले चरित्र र भ्रमको खेतीको हो। विप्लवको भूमिगत यात्रालाई क्रान्तिका नाममा झुक्याउने चाल मान्न सकिन्छ।

कम्युनिष्टको जामा पहिरिएका विप्लवले परिवारका सदस्यहरु त्यसमा पनि डाक्टर छोराको सपना साकार पार्न  शान्तिको बहानामा क्रान्तिलाई सधैँका लागि विलय गराएका छन। पहिले विप्लवले प्रचण्ड र बाबुरामलाई क्रान्ति बीचमै छाडेको आरोप लगाए र, पछि मोहन वैद्यलाई पनि त्यही आरोप लगाए। कता–कता मोहनविक्रम सिंह माथि पनि उनको यस्तै आरोप थियो रे, स्वयं विप्लव पनि त्यही बाटो फर्किए, जुन बाटो भएर प्रचण्ड–बाबुराम भट्टराई  फर्केका थिए।  केहि  समयको अन्तरालपछि थप कुरा खुल्दै जाने नै छन्। 

अन्ततः विप्लवको यो घुमाउरो कदम विलयको बाटो नै हो। त्यति मात्र होइन, अर्थहीन पनि देखियो। सरकारसँग विप्लवको आत्मसमर्पण शैलीको विलयले उनी राजनीतिक रुपमा कतै परिपक्व देखिएनन्। क्रान्तिका कुरा त  फगत मजाक न रहेछन्।

Logo