भ्याक्सिन सर्वसुलभ नहुन्जेल कोरोना संक्रमणबाट जोगिएर बस्नु नै बुद्धिमत्ता!

भ्याक्सिन सर्वसुलभ नहुन्जेल कोरोना संक्रमणबाट जोगिएर बस्नु नै बुद्धिमत्ता!

केन्द्रबिन्दु
0
Shares

भारतका पूर्वप्रधानमन्त्री डाक्टर मनमोहन सिंह कोरोना संक्रमणमुक्त हुनुभएको छ। गत  १९ अप्रिलका दिन कोरोना संक्रमित देखिएपछि ८८ वर्षीय सिंह उपचारार्थ नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना हुनुभएको थियो।

२९ अप्रिल अर्थात् १० दिनको उपचारपछि  संक्रमण मुक्त हुनु भएका उहाँ ‘डिस्चार्ज’ भई घर फर्किनु भएको छ। कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा भारतभरिबाट  नकारात्मक समाचार  आइरहेका बेला वृद्ध पूर्वप्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्यलाभको समाचारले सकारात्मक सन्देश दिएको छ।

सिंहले  गत ४ मार्चका दिन भारतमा निर्मित कोभ्याक्सिनको पहिलो डोज लिनुभएको थियो। एक महिनाकै अन्तरालमा उहाँले भ्याक्सिनको दोस्रो डोजका रुपमा ३ अप्रिलका दिन कोभ्याक्सिनको दोस्रो ‘सट’ लगाउनु भएको थियो।

डा. मनमोहन सिंहको केसले के देखाएको छ भने कोरोनाविरुद्ध बनेका भ्याक्सिन लिएका व्यक्ति पनि  कोरोना संक्रमित हुन सक्छन्। भ्याक्सिनले कोरोना संक्रमण नहुने प्रत्याभूति दिँदैन।  तर, भ्याक्सिन लिएका व्यक्तिमा बनेको एन्टीबडीले कोरोना संक्रमणलाई परास्त गरी स्वस्थ हुन महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

८८ वर्षीय सिंहले गरेको स्वास्थ्यलाभले भ्याक्सिनको प्रमाणिकता, विश्वसनीयता, सान्दर्भिकता र उपयोगिता साबित भएको छ।

नेपालको हकमा दुवै डोज भ्याक्सिन लिएका धेरै महानुभाव  कोरोना संक्रमित भएको तथ्य प्रकाशमा आएको छ। भ्याक्सिनको दुवै डोज लिनुभएका कैयौं स्वास्थ्यकर्मी संक्रमित हुनुभएको छ।

राजधानी काठमाडौंको अत्याधुनिक अस्पतालका रक्तसञ्चारविज्ञ मेरा मित्र डाक्टर विपिन नेपालले गत बिहीबार फोनमा भन्नुभयो– मैले अस्ति मात्रै भ्याक्सिनको दोस्रो डोज लिए।  हिजोदेखि मलाई ज्वरो आएको छ। बुझ्न सकिरहेको छैन–यो भ्याक्सिनको कारणले हो कि कतै  म कोरोना संक्रमित हुन पुगेको हुँ?

मैले उहाँलाई तुरून्त परीक्षण गराउने परामर्श दिए। शुक्रवार अपराह्न उहाँले परीक्षण रिपोर्ट पठाउँदै आफू संक्रमित भएको खबर दिनुभयो। रिपोर्ट प्राप्त हुनसाथ उहाँ ‘होम आइसोलेसन’मा बस्नुभयो।

शनिबार म  भक्तपुरको सिद्धपोखरीनजिक रहेको उहाँको घर पुगे। उहाँकी पत्नी पनि संक्रमित हुनुभएको रहेछ। गत जनवरीदेखि नै म कोरोना भाइरस विषयक अध्ययन तथा लेखन गर्दै आइरहेको छु। यस क्रममा  मैले झन्डै २० हजार पृष्ठ सामग्री पढेँ होला, यही विषयमा विभिन्न अनलाइनहरुमा सयभन्दा बढी लेख लेखिसकेँ।

जुन दिन अक्सफोर्ड युनिभर्सिटीका (शायद गत वर्षको मे–जुनतिर ) प्रोफेसर सराह गिल्बर्ट र उनको टिम एन्ड्रयु पोलार्ड, टेरेसा लाम्बे, सान्डी डुग्लास, क्याथेरिन ग्रीन र एड्रियन हिलले कोरोना विरुद्धको भ्याक्सिन ‘डेभलप’ गर्ने घोषणा गरे। त्यस दिनदेखि मेरो अध्ययनमा एउटा नयाँ आयाम थपियो। 

 जेनर महाशयले बनाएको संसारको पहिलो भ्याक्सिनदेखि प्रोफेसर सराह गिल्बर्टले ‘डेभलप’ गरेका  पछिल्ला भ्याक्सिनसम्मको अध्ययन गर्ने क्रममा थाहा हुन आयो, आखिर भ्याक्सिनले कसरी काम गर्छ ?  यस क्रममा टर्किस / जर्मन  महिला ओज्लेम टुरेसी र उनका पति  उगुर साहिनको ‘म्यासेन्जर आरएनए भ्याक्सिन’ ( फाइजर भ्याक्सिन ) को प्रविधिबारे जान्ने/बुझ्ने  अवसर पनि पाइयो। सराह गिल्बर्टले  बनाएको भाइरल  भेक्टर प्रविधिको (पुरानो प्रविधि ) एस्ट्रेजेनेका भ्याक्सिन होस् कि नयाँ प्रविधि म्यासेन्जर आरएनएबाट  बनेको फाइजर अथवा मोर्डना भ्याक्सिन हुन् कि प्रोटीन भ्याक्सिन हुन्, सबैले काम गर्ने तरिका उस्तै उस्तै हो।

मैले उहाँलाई तुरून्त परीक्षण गराउने परामर्श दिए। शुक्रवार अपराह्न उहाँले परीक्षण रिपोर्ट पठाउँदै आफू संक्रमित भएको खबर दिनुभयो। रिपोर्ट प्राप्त हुनसाथ उहाँ ‘होम आइसोलेसन’मा बस्नुभयो।

सबै भ्याक्सिन भाइरस अथवा भाइरसको ‘डिएनए म्याटेरिटयल’बाट नै बनेका हुन्छन्। भ्याक्सिनका रूपमा स्वस्थ व्यक्तिको शरीरमा भाइरस अथवा भाइरसको डिएनए  सामग्री प्रवेश गराएर व्यक्तिको इम्युन सिस्टमलाई प्रशिक्षित गर्नु नै भ्याक्सिनको काम हो। यस क्रममा म डाक्टर रवीन्द्र पाण्डे, डाक्टर सुनील शर्मा, डाक्टर विपिन नेपाल, डाक्टर शेरबहादुर पुनप्रति आभारी छु, उहाँहरुले पटक–पटकको भेटमा मेरो अध्ययन र जानकारीलाई ‘अप्रिसिएट’ गरेर मलाई हौसला प्रदान गर्नुभयो/ गर्दै आइरहनुभएको छ। मलाई विभिन्न जानकारी दिँदै आउनुभएको छ।

डाक्टर विपिनले भ्याक्सिनको पहिलो डोज लगाएको झन्डै एक महिनापछि आफ्नो एन्टीबडी  टेस्ट गर्नुभएको थियो। उहाँमा एन्टीबडी टाइटर ७ देखिएको थियो।  निसन्देह यो स्तर ‘लो’ रहेको थियो। जहाँसम्म मेरो अनुमान थियो, भ्याक्सिनको दोस्रो डोज लिनुभन्दा पहिला नै उहाँ कोरोना संक्रमित भइसक्नु भएको थियो। अहिले उहाँ पनि मेरो धारणासँग सहमत हुनुभएको छ। 
 
मैले उहाँलाई एउटा आयुर्वेदिक औषधि सेवन गर्ने प्रस्ताव गरे। उहाँले स्वीकार गर्नु भयो। उहाँको भनाइ थियो–हामी(आधुनिक चिकित्सा विज्ञान)सँग कोरोनाविरुद्धको कुनै औषधि छैन। संक्रमण गम्भीर  नभएसम्म मैले अस्पताल गएर ’बेड’ ओगटी दिनुभएन।  भाइरसको ‘इन्क्युबेसन पिरियड’ १४ दिन हो।  १४ दिन मैले आइसोलेसनमा बस्नैपर्छ। तसर्थ म तपाईंले दिएको औषधि खान्छु।

शनिवार उहाँलाई भेटेर मैले औषधि दिए। औषधि सेवन गरेको तीन दिनमै  उहाँले भन्नुभयो–‘आई फिल आई एम गेटिङ वेल’ र, पाँचौ दिनमा उहाँले भन्नुभयो– ‘आई नो आई एम क्योर्ड।’

डाक्टर बिपिनले भ्याक्सिनका दुबै डोज लिनुभएको थियो। उहाँ कोरोना संक्रमित हुनु त भयो। तर, उहाँमा संक्रमण ‘माइल्ड’ अवस्थामै रह्यो र, उहाँ निको हुनुभयो। डाक्टर बिपिन निको भएको श्रेय म लिन चाहन्नँ। यसको श्रेय भ्याक्सिनलाई नै दिऊँ।

कसैले भ्याक्सिनको विरोध नगरे हुन्छ। भ्याक्सिनले नै विस्तारै र क्रमशः कोरोना भाइरसलाई निर्मुलीकरण गर्छ। हो, विश्वको अर्बौ जनसंख्यालाई एकै पटक भ्याक्सिन लगाउनु /पुर्याउनु सम्भव छैन। यसमा केही वर्ष समय लाग्छ। तबसम्म कोरोना भाइरसबाट जोगिएर बस्नु नै बुद्धिमत्ता हो।  

तपाईं जसरी जुन उपायले संक्रमित हुनबाट जोगिन सक्नुहुन्छ, ती सबै उपाय गर्नु  आवश्यक  छ। र, कथंकदाचित सजगतासाथ उपाय गर्दागर्दै पनि यदि तपाईं संक्रमित हुन पुग्नुभयो भने आफूले जानेका घरेलु–आयुर्वेदिक–होमियोप्याथी सबै उपाय अपनाई स्वस्थ हुने प्रयास गर्नुस्।  संक्रमणको अवस्था गम्भीर  नभएसम्म अस्पताल नजानुस्।  गम्भीर अवस्थामा पुगेका संक्रमितबाहेक अन्य संक्रमितलाई अस्पतालले भर्ना लिने अवस्था छैन।  

भ्याक्सिनको विरोध गर्ने व्यक्तिहरूलाई सामाजिक बहिष्कार गर्नुस्।  कोरोना केही होइन भन्ने व्यक्तिहरुलाई जहाँको त्यहीँ ठेगान लगाउनुस्। यी सामाजिक अपराधीलाई यथाशीघ्र राज्यले नियन्त्रित गर्नुपर्छ।

Logo