ओपेड

विश्वमा खोप वितरणमा असमानताः सम्पन्न राष्ट्रहरुमा पर्याप्त, विपन्न राष्ट्रहरूमा हाहाकार

15 Shares

‘द न्युयोर्क टाइम्स’ ले संकलन गरेको कोभिड–१९ बारे तथ्याङ्कका अनुसार उत्तर अमेरिका र युरोपमा प्रति १०० व्यक्तिमा क्रमशः ६३ र ५१ डोज खोप वितरण भएको छ भने दक्षिण अमेरिका, एसिया र अफ्रिकामा त्यस्तो वितरण क्रमशः ३१, २६ र १४ रहेको छ। एसियाली, अफ्रिकी र दक्षिण अमेरिकी राष्ट्रहरू युरोपेली र उत्तर अमेरिकी राष्ट्रहरूको तुलनामा कम आय भएका राष्ट्रहरू हुन्। 

त्यस्तै ‘आवर वल्र्ड इन डेटा’ का अनुसार अहिलेसम्म लगाइएका खोपमध्ये ३६ प्रतिशत उच्च आय भएका मुलुकहरूमा, ४९ प्रतिशत उच्च मध्यम आय भएका मुलुकहरूमा, १४ प्रतिशत निम्न मध्यम आय भएका मुलुकहरूमा र १ प्रतिशतभन्दा निम्न आय भएका मुलुकहरूमा लगाइएको छ। 

यसरी विपन्न राष्ट्रहरू कोभिड–१९ विरूद्धको खोपको दौडमा पछाडि परेका छन्। कारण यस्तो छः 
   
खोप उत्पादनअघि नै कब्जा र आवश्यकताभन्दा बढी खोपको भण्डारण

उच्च आय भएका राष्ट्रहरूले कोभिड–१९ को खोप तयार हुनुभन्दा अगाडि नै आफ्ना लागि खोप सुनिश्चत गरेको पाइन्छ। एस्ट्राजेनेका, फाइजर, नोभाभ्याक्स लगायत कम्पनिहरूले खोपको अनुसन्धान र विकासको प्रयास सुरु गरे लगत्तै शक्तिशाली राष्ट्रहरूले ती कम्पनिहरूलाई सहयोग गर्न थाले। सहयोगबापत कति खोप दिने भनी ती राष्ट्रहरू र कम्पनिका बीच सहमति भइसकेको हुन्थ्यो। अमेरिकाले ३० करोड डोज खोप पाउने सर्तमा बेलायती कम्पनि एस्ट्राजेनेकालाई १ अर्ब २० करोड अमेरिकी डलर सहयोग गरेको थियो। 

‘ड्युक ग्लोबल हेल्थ इनोभेसन सेन्टर’ को तथ्याङ्कका अनुसार हाल संसारभरका विभिन्न खोप उत्पादकहरू मार्फत १७.९ अर्ब डोज खोप ‘रिजर्भ’ भइसकेका छन्। अर्थात ती खोप कहाँ जान्छन् भन्ने सुनिश्चित भइसकेको छ। तीमध्ये ११.९ अर्ब डोज खोप खरीदका लागि उत्पादकहरूसँग सहमति भइसकेको छ भने बाँकि ६ अर्ब डोज खरीदका लागि पहल हुँदैछ। ११.९ अर्ब डोजमध्ये ६ अर्ब डोज उच्च आय भएका राष्ट्रले, २.२ अर्ब डोज उच्च मध्यम आय भएका राष्ट्रले, १.१ अर्ब डोज निम्न मध्यम आय भएका राष्ट्रले, २७ करोड डोज निम्न आय भएका राष्ट्रले र २.४ अर्ब डोज कोभ्याक्सले खरीद गर्ने सहमति खोप उत्पादकहरूसँग भएको हो। 

यस तथ्याङ्कलाई हेर्ने हो भने विश्वको कूल जनसंख्याको दोब्बरभन्दा बढी खोप ‘रिजर्भ’ भइसकेको छ। यद्यपि, ठूलो जनसंख्या भएका निम्न मध्यम र निम्न आय भएका राष्ट्रहरू भन्दा उच्च र उच्च मध्यम आय भएका राष्ट्रहरूले बढी खोप ‘रिजर्भ’ गरेका छन्। 

क्यानडा, बेलायत, युरोपियन युनियन, न्युजिल्यान्ड, अस्ट्रेलिया, चिली, इजरायल, संयुक्त राज्य अमेरिका, स्वीजरल्यान्ड, दक्षिण कोरिया, बोलिभिया, जापान, पेरु, टर्की र ब्राजिलले आफ्नो कूल जनसंख्यालाई आवश्यक पर्नेभन्दा बढी खोप सुनिश्चित गरिसकेको ‘ड्युक ग्लोबल हेल्थ इनोेभेसन सेन्टर’ को तथ्यांकले देखाउँछ। आफ्नो आवश्यकताभन्दा ५ गुणा बढी खोप क्यानडाले सुनिश्चित गरेको छ भने बेलायतले ४ गुणा, युरोपियन युनियनले ३ गुणा र अमेरिकाले २ गुणा खोप सुनिश्चित गरेका हुन्। यसरी आवश्यकताभन्दा बढी खोप सुनिश्चित गर्ने सबै राष्ट्रहरू उच्च आय र उच्च मध्यम आय भएका राष्ट्रहरू हुन्। 

अप्रिलमा जी–२० र युरोपियन कमिसनको आयोजनामा भएको ‘ग्लोबल हेल्थ समिट’ मा बोल्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिझियानले संसारको ८६ प्रतिशत जनसंख्या ओगट्ने मध्यम तथा निम्न आय भएका राष्ट्रहरूको तुलनामा १४ प्रतिशत जनसंख्या ओगट्ने उच्च आय भएका राष्ट्रहरूले ६ गुणा बढी खोप संकलन गरेको बताएका थिए। उनले विशेषगरी अमेरिकाका गोदामहरूमा १० करोड खोप थन्किएर बसेको औँल्याएका थिए। 

‘खोप राष्ट्रवाद’, ‘खोप कुटनीति’ र कोभ्याक्सको असफलता

आफ्ना नागरिकलाई खोप सुनिश्चित गर्न उच्च आय भएका राष्ट्रहरूले खोप उत्पादन हुनुपूर्व नै खरीद गर्नुलाई ‘खोप राष्ट्रवाद’ भनिन्छ। यस किसिमको राष्ट्रवादका कारण ती देशका सरकारहरूको वितरणको गति भन्दा बढी खोप जम्मा भइदिँदा विपन्न राष्ट्रहरूले भने खोप नपाइरहेको अवस्था छ। त्यसमाथि उत्पादन पनि बढ्दो रहेको अवस्थामा उच्च आय भएका राष्ट्रहरू अनावश्यक राष्ट्रवादी भइदिँदा निम्न आय भएका राष्ट्रहरूमा खोपको अभाव सिर्जना भएकाले त्यस्तो राष्ट्रवादले कोरोना महामारीलाई थप जटिल बनाउने डर अहिले सिर्जना भएको छ। चीन र विश्व स्वास्थ्य संगठनले यसबारे उच्च आय भएका राष्ट्रहरूको ध्यानार्कषण गराउँदै आएका छन्।

‘ड्युक ग्लोबल हेल्थ इनोभेसन सेन्टर’ को तथ्याङ्कका अनुसार हाल संसारभरका विभिन्न खोप उत्पादकहरू मार्फत १७.९ अर्ब डोज खोप ‘रिजर्भ’ भइसकेका छन्। अर्थात ती खोप कहाँ जान्छन् भन्ने सुनिश्चित भइसकेको छ।

उच्च आय भएका राष्ट्रहरूले आफूले भण्डारण गरेको कोभिड–१९ विरुद्धको खोप निम्न र मध्यम आय भएका मुलुकहरूलाई उपलब्ध गराउने बताउँदै आएका छन् र केही हदसम्म उपलब्ध गराउँदै पनि आएका छन्। 

यद्यपि, यसमा पनि खोपको आवश्यकता भन्दा राष्ट्रहरूसँगको निकता र निकटताको चाहना हावी भएको मानिन्छ। यसलाई ‘खोप कुटनीति’ भनिन्छ। खोप कुटनीतिले राजनैतिक आयामका बाबजुद खोपको उपलब्धतामा फाइदा पुर्याएको त छ, तर कुटनैतिक प्रयोजनका लागि उच्च आय भएका राष्ट्रहरूले खोप भण्डारण गर्नुले खोप उपलब्धतामा सुस्तता ल्याएको छ। महामारी रोकथामभन्दा भूराजनैतिक दाउपेचबाट खोप वितरण उत्प्रेरित हुनुले पनि खोप उपलब्धतामा असमानता निम्त्याएको छ। चीनले खोप राष्ट्रवादको विरोध गर्दै आएको भए पनि आफंै खोप कुटनीतिमा लागेको मानिन्छ। 

युनिसेफको नेतृत्वमा विपन्न देशहरूलाई समान रूपमा खोप पुर्याउने प्रयासको रूपमा कोभ्याक्सको सुरुवात भएको थियो। यसमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), ग्लोबल भ्याक्सिन एलायन्स (गाभी) र कोएलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स (सिइपिआई) पनि संलग्न छन्। 

कोभ्याक्सले खरीद गर्ने खोपका लागि अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, नर्वे, स्विट्जरल्यान्डलगायत मुख्य आर्थिक सहयोगदाताभित्र पर्छन्। तर, यी तिनै देशहरू हुन् जसले आवश्यकताभन्दा बढी खोप ‘रिजर्भ’ गर्दै आएका छन्।

भारतमा कोरोना भाइरसको दोस्रो लहरको प्रभावका कारण त्यहाँस्थित संसारको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभ्याक्स सुविधाले खोप उपलब्ध गराउन नसकेकाले जुनको अन्तिमसम्ममा कोभ्याक्सलाई १९ करोड डोज खोप अभाव हुने कोभ्याक्सका साझेदारले संयुक्त विज्ञप्तिमार्फत २७ मे मा बताएका थिए। 

अमेरिका र युरोपले संयुक्तरूपमा १८ करोड डोज खोप उपलब्ध गराउने बताएको भए पनि त्यतिले नपुग्ने भएकाले खोप मौज्दात रहेका राष्ट्रहरूले सहयोग गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै खोप निर्यातमा लगाइएको अंकुश पनि हटाइनु पर्नेमा पनि जोड दिइएको छ।

कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा २ अर्ब डोज खोप विपन्न राष्ट्रहरूलाई उपलब्ध गराउने उद्देश्य लिएकोमा ७ करोड डोज मात्र अहिलेसम्म उपलब्ध गराउन सकेको छ। 

कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त गरेको थियो। युनिसेफले मे सम्ममा १९ लाख २० हजार डोज खोप नेपालले कोभ्याक्समार्फत् पाउने बताए पनि बाँकी १५ लाख ७२ हजार डोज खोप उपलब्ध हुन सकेको छैन। 

०००
उच्च आय भएका राष्ट्रहरूले खोप राष्ट्रवादका कारण अग्रिम खरीद र आवश्यकता भन्दा बढी भण्डारण गरिदिनाले विपन्न राष्ट्रहरू किनेर पनि खोप जुटाउन नसक्ने अवस्थामा छन्। त्यसका साथै खोप कुटनीतिले पनि खोपको वितरणमा असन्तुलन ल्याएको छ। यिनै कारणले विपन्न राष्ट्रहरूलाई खोप उपलब्ध गराउन सुरु गरिएको कोभ्याक्स पनि आफ्नो उद्देश्य अनुरुप खोप उपलब्ध गराउन असफल भएको छ। 

प्रकाशित: २५ जेष्ठ २०७८ ०९:२२ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी