सुनमा लगानी किन सुरक्षित?

सुनमा लगानी किन सुरक्षित?


सुनको भाउ बढेर इतिहास रच्यो भन्ने समाचार नियमित जस्तै हुने गर्छन्। २०७५ साल पुसमा प्रति तोला साठी हजार रुपियाँमा कारोबार भएको सुन २०७७ साल साउनमा एक लाख रुपियाँ बराबरको भयो। त्यसयता तलमाथि हुँदै आए पनि सुनको भाउ तोलाको लाख रुपियाँ हाराहारी नै रहँदै आएको छ। 

मूल्य लगातार उकालो लाग्ने भएकाले सुनमा लगानीको आकर्षण पनि बढ्दो छ। आर्थिक संकट निम्तिएको अवस्थामा त सुन लगानीकर्ताको मुख्य रोजाइमा नै पर्ने गर्छ। सुनले दिने आर्थिक सुरक्षाका कारण यो लगानीकर्ताका लागि महत्वपूर्ण रहँदै आएको छ। 

तथ्यांक संकलन गर्ने वेबसाइट स्टाटिस्टाका अनुसार सन् २०२० मा सुनको कूल मागको ४६.६४ प्रतिशत लगानीका लागि रहेको थियो भने गरगहनाका लागि ३६.८३ प्रतिशत रहेको थियो। यसअघि सुनको माग लगानीका लागि भन्दा बढी गरगहनाका लागि रहँदै आएकोमा लगानीका लागि सुनको माग बढ्नु पनि यसले दिने आर्थिक सुरक्षाको सूचक हो।

आखिर किन सुनमा भएको लगानी अरु क्षेत्रको तुलनामा सुरक्षित हुने गर्छ? यस प्रश्नको उत्तर सुनको महत्व र वर्तमान समयमा मौद्रिक अर्थतन्त्रको सञ्चालन प्रक्रियाको मिलनविन्दुमा रहेको छ।

सुनको इतिहास र महत्व
सुन कतिबेला कसले पत्ता लगायो भन्ने यकिन नभए पनि आजभन्दा ५ हजार सालपूर्व इजिप्टमा सुनबाट बनेका सामग्रीको प्रयोग हुने गरेको पत्ता लागेको छ। सुनको प्रयोग मूल्य (भ्यालु) भण्डारणका लागि उपयुक्त रहेकाले प्राचीनकालदेखि नै धनसञ्चयका लागि सुनको प्रयोग हुँदै आएको पाइन्छ। खिया नलाग्ने र पातलो तार वा पाताको रूपमा पनि विकास गर्न सकिने भएकाले सुन बहुउपयोगी हुन पुग्यो। टिकाउ र चमकदार हुने भएकाले गरगहनाका लागि पनि सुनको प्रयोग हुने गरेको छ।

कुनै पनि कुरा मुद्रा हुनका लागि त्यो टिकाउ, सजिलै एक ठाउँबाट अर्को ठाउँ लान सकिने, विभाज्य, एक रूप, स्वीकार्य र सीमित हुन जरुरी हुन्छ। सुन खानीबाट उत्खनन् हुो भएकाले एकदमै सीमित हुने गर्छ। साधारण अवस्थामा केहीसँग पनि रासायनिक प्रतिक्रिया नजनाउने भएकाले यो एकदमै टिकाउ हुने गर्छ। सुनलाई विभिन्न तौलमा विभाजन गर्न सकिन्छ। मुद्रामा हुनुपर्ने सबै गुण सुनमा भएकाले लामो समयसम्म मुद्राको रूपमा सुनको प्रयोग संसारभर भयो। ६ सय इसापूर्वमा एसिया माइनर क्षेत्रको लिडिया भन्ने स्थानमा प्रयोगमा आएको स्वर्णमुद्रा अहिलेसम्म पाइएको सबैभन्दा पुरानो स्वर्णमुद्रा हो। 

विद्युतको उत्तम संवाहक भएकाले विद्युतीय युगमा पनि सुनको प्रयोग उच्च रहेको छ। मेबाइल, कम्प्युटरलगायत विभिन्न डिभाइसको विद्युतीय सर्किटमा पनि सुनको प्रयोग हुने गरेको छ।

कागजी नोट, मुद्रास्फिति र सुन
मुद्राको रूपमा सुनको प्रयोगलाई हाल कागजी नोटले विस्थापन गरिसकेको छ। सातौं सताब्दीमा चीनमा पहिलो पटक कागजी नोट प्रयोगमा आएको थियो। यद्यपि, लामो समयसम्म कागजी नोटको प्रयोग विश्वव्यापी हुन सकेन। १७ औँ शताब्दीमा बेलायतमा कागजी नोटको प्रयोग हुन थालेपछि चाहिँ लामो समयदेखि मुद्राको रूपमा प्रयोग हुँदै आएको सुनलाई कागजी नोटले विस्थापन गर्ने सिलसिला सुरु भयो। प्रयोगमा कागजी नोट भए पनि मूल्यको वास्तविक भण्डारण भने सुनमा नै हुने गर्थ्याे। कागजी नोट अरू केही नभई राज्य ढुकुटीमा रहेको सुनको स्वामित्वको प्रमाण हुने गर्थ्याे। 

तथ्यांक संकलन गर्ने वेबसाइट स्टाटिस्टाका अनुसार सन् २०२० मा सुनको कूल मागको ४६.६४ प्रतिशत लगानीका लागि रहेको थियो भने गरगहनाका लागि ३६.८३ प्रतिशत रहेको थियो।

यसरी कागजी नोट राज्य ढुकुटीमा रहेको सुनमा आधारित रहँदै आएकाले सुनले धान्ने जति मात्र नोट छाप्ने व्यवस्था रहेको थियो। यसलाई गोल्ड स्ट्यान्डर्ड (स्वर्ण मानक) को नाम दिइएको थियो। सन् १९३४ मा संयुक्त राज्य अमेरिकाले एक आउन्स बराबर ३५ अमेरिकी डलरमा सुनको भाउ कायम गरेको थियो।

सन् १९७१ मा अमेरिकामा एउटा यस्तो निर्णय भयो, जसले विश्वभरको मौद्रिक व्यवस्थामा आमूल परिवर्तन ल्यायो। अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले अमेरिकी डलर सुन भण्डारमा आधारित हुनु नपर्ने निर्णय गरे। यस किसिमको धातु भण्डारणमा आधार नभएको मुद्रालाई फियाट मुद्रा भनिन्छ। फियाट मुद्राको आधिकारिकताको मुख्य आधार नै सरकारको आश्वासन हो। यसरी मुद्रा धातु भण्डारमा आधारित हुनु नपर्ने भएपछि सरकारलाई नयाँ नोट छाप्न सहज भइदियो। अहिले विश्वभरका राष्ट्रका केन्द्रीय बैंकले वित्तीय संस्थामार्फत् नयाँ नोट बजारमा ल्याउने गर्छन्। फियाट मुद्राको प्रयोग अर्थतन्त्रमा सरकारको नियन्त्रण बढाउनका लागि भएको पाइन्छ।

एकातर्फ अर्थतन्त्रमाथि सरकारको नियन्त्रण कायम गर्न फियाट मुद्राले सहयोग पुर्याएको भए पनि यसका बेफाइदा पनि छन्। सरकारले बजारमा ल्याएको नयाँ नोटले भारी मुद्रास्फिति ल्याउँछ जसका कारण मुद्राको क्रयक्षमता कम हुँदै जान्छ। सरकारले ल्याउने हरेक नयाँ नोटले प्रयोगकर्ताको खल्तीमा रहेको नोटलाई कमजोर बनाउँदै लैजान्छ। मुद्राको आपूर्ति बढेसँगै त्यसको मूल्य घट्दै जाने गर्छ। 

मुद्रास्फितिप्रतिको प्रतिक्रियाका रूपमा सुनको भाउमा वृद्धि हुन्छ। यसरी मूल्य भण्डारणकोे भूमिकामा फियाट मुद्राको तुलनामा सुन प्रभावकारी हुने गर्दछ।

मुद्राको भूमिका आर्थिक शक्ति भण्डारण गर्ने हुनुपर्नेमा फियाट मुद्राले चाहिँ प्रयोगकर्ताको आर्थिक शक्ति चुहावट गर्ने गर्छ। अर्कोतर्फ सुनले भने फियाट मुद्राबाट चुहावट भए बराबरको आर्थिक शक्ति कायम नै राखेको हुन्छ। उकालो लाग्दै आएको सुनको भाउ संसारभरका केन्द्रीय बैंकहरूले फियाट मुद्रालाई प्रयोगमा ल्याउन्जेल घट्नेभन्दा बढ्ने नै देखिन्छ। तसर्थ, अरु क्षेत्रको तुलनामा सुनमा हुने लगानी फियाट मुद्रामा आधारित अर्थतन्त्रका कारण सुरक्षित हुने गर्छ। 

अर्कोतर्फ सुन एकदमै दुर्लभ धातु हो। आपूर्ति कम रहेको अवस्थामा सुनको उपयोगिताका कारण बढ्दो मागले पनि सुनको महत्व कायम राखेको छ। सुनको माग र भाउ बढ्नुमा यस धातुले दिने वित्तीय सुरक्षाले पनि उल्लेख्य भूमिका खेल्ने गर्दछ। 

Logo