कांग्रेस संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस आजः के हो कोइरालाको समाजवाद?

कांग्रेस संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस आजः के हो कोइरालाको समाजवाद?


नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालाको आज ३९औं स्मृति दिवस हो। कांग्रेसले हरेक वर्ष झैं आज पनि उनको सम्झनामा विविध कार्यक्रम गरेर मनाउँदैछ। 

बीपी कोइराला नेपाली राजनीति र साहित्य क्षेत्रमा कुनै नौलो नाम होइन। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ मा बनारसमा भएको हो। उनका बाबुको नाम कृष्णप्रसाद कोइराला हो भने आमाको नाम दिव्या कुमारी। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरि वि.सं. २०१५ सालमा नेपालको २२ औं प्रधानमन्त्री बनेका थिए। नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व लिएका उनलाई नेपालका सबैजसो नेताहरु राजनीतिक गुरुको रुपमा मात्र मान्दैनन् , बामपन्थी नेताहरु समेत प्रेरणाका पर्यायका रुपमा लिने गर्छन्। नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले समेत आफूलाई मन पर्ने नेताहरूको सूचीमा बीपी कोइरालाको नाम पहिलो नम्बरमा राखेका थिए।

नेपाली भाषा साहित्यमा मनोबैज्ञानिक पक्षलाई भित्र्याएका उनले राजनितीमा समाजवादको अवधारणा अघि सारेका थिए। उनले भन्न खोजेको समाजवाद के हो भन्नेमा भने अहिले पनि निकै थरिका मतहरु बाहिर आइरहेका छन्। उनले त्यतिबेला कल्पना गरेको समाज अहिलेसम्म पनि बन्न सकेको छैन। एउटै देशका नागरिक भएपनि कोही महलमा छन् त कोहि सडकमा। यही दृष्य देखेर त्यतिबेला उनले भनेका थिए , गरिबको एउटा सानो भएपनि घर होस्। केटाकेटीले पढ्न पाउन् , रोगीहरुले सिटामोल पाउन्। कुटिर उद्योगलाई संरक्षण र प्रगतिशील कर र क्रान्तिकारी भूमिसुधार ।

एकाथरिले कोइरालाले दिएका यी अभिव्यक्तिलाई त्यतिबेलै संकुचितरुपमा लिए भने अर्काथरिले परिवर्तनशील र यथार्थमा आधारित भनेर व्याख्या गरे। खासमा उनले अघि सारेको समाजवाद नै यही हो। जसलाई अहिले वामपन्थीहरुले पनि राजनितीको मुल सुत्रका रुपमा लिने गरेका छन्। तर अहिलेको समय सम्म पनि बीपीको सपना साकार हुन भने सकेको छैन।

अहिलेको सन्दर्भमा कोइरालाको समाजवाद

बीपी सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए। उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु संविधानसँग मेल खाने नै थिए, जो त्यतिबेला देखि यतिबेलासम्म पनि सान्दर्भिक छन्। गरिबको एउटा सानो भएपनि घर होस् भन्ने कुरा संविधानको आवासको हकसँग सम्बन्धित छ। केटाकेटीले पढ्न पाउन, भन्ने कुरा शिक्षाको अधिकारसँग जोडिएर आएको छ। उनले भनेको रोगीहरूले सिटामोल पाउन् भन्ने कुरो स्वास्थ्य र उपचारको हकसँग सम्बन्धित छ। कुटिर उद्योगलाई संरक्षण र प्रगतिशील कर, क्रान्तिकारी भूमिसुधार जस्ता कुराहरू देशको आर्थिकपक्षसँग सम्बन्धित छन्। जसलाई विपीले समाजबादका प्रमुख तत्वका रुपमा अघि सारेका थिए।

राजनीतिक उद्देश्यसहित गठन भएको नेपाली कांग्रेसलाई बिपीले केबल प्रजातन्त्रको मात्र चर्चा गर्नु निरर्थक कुरा हो भन्ने निष्कर्षका साथ ‘समानता र न्यायको आधारमा सम्पूर्ण समाजको पुननिर्माण गर्ने आर्थिक लक्ष्यसम्म डोहोर्याएका थिए। जबसम्म न्यायपूर्ण आधारमा समाजको पुनर्निर्माण भइसक्दैन, तबसम्म समाजको सर्वाङ्गीण विकास असम्भव छ भन्ने विश्लेषण गर्दै बी.पी.ले आर्थिक समानतामा विशेष जोड दिएका थिए। पाँच प्रतिशत व्यक्तिका हातमा देशको अधिकांश जमिन हुनु तथा ९५ प्रतिशत व्यक्ति भूमिहीन रहनुलाई उनी अन्यायपूर्ण ठान्थे। त्यसैले भूमिसुधार र जमिनको न्यायोचित पुनर्वितरण बीपीको प्राथमिक आर्थिक एजेण्डा थियो।

समाजले जमिनबाट जति परिमाणमा उत्पादन गर्नुपर्छ, सामन्ती उत्पादन प्रणालीमा त्यतिमात्रामा उत्पादन लिनु सम्भव छैन भन्ने उनको मान्यता थियो। यसरी बी.पी. सामन्तवादको अन्त्य गर्ने कुरालाई मुलुकको विकासको अनिवार्य तत्व मान्थे। त्यसैले उनको नेतृत्वमा गठित पहिलो जननिर्वाचित सरकारले बिर्ता उन्मूलन गर्ने निर्णय गरेर नेपालमा सामन्ती उत्पादन पद्धतिलाई कमजोर पार्ने ऐतिहासिक कदम चालेको थियो।

कोइरालाको राजनीतिक जीवन

बीपीको राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट सुरु भएको हो। आन्दोलनमा लागेकै कारण उनी र उनका दाई मातृकाप्रसाद कोइरालालाई सन् १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो। यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो। १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमै पूरा गरे। त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरेपछि दार्जिलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे। विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजिक रहेका थिए । सन् १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरेको थियो । त्यहाँबाट छुटेपछि उनले सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुनपछि गएर नेपाली कांग्रेस बन्न पुग्यो। आजसम्म पनि कांग्रेस जन्माउने मुख्य श्रेय विपीलाई नै जान्छ। कांग्रेसी नेताहरुले मुल नाराको रुपमा अघि सारेको बीपीवाद यथार्थमा भने विल्कुलै उल्टो हुन पुगेको छ।

नेपालमा सक्रियता

सन् १९४७ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्यो। सन् १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे। विसं. २००७ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो। त्यसपछि मोहन शमशेरको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने। सन् १९५९ (विसं. २०१५) मा भएको पहिलो आमनिर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे। उनको सरकार १८ महिना मात्र चल्न सकेको थियो।

नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व लिएका उनलाई नेपालका सबैजसो नेताहरु राजनीतिक गुरुको रुपमा मात्र मान्दैनन् , बामपन्थी नेताहरु समेत प्रेरणाका पर्यायका रुपमा लिने गर्छन् । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले समेत आफूलाई मन पर्ने नेताहरूको सूचीमा बीपी कोइरालाको नाम पहिलो नम्बरमा राखेका थिए।

बि.सं. २०१७ साल पुस १ (१५ डिसेम्बर १९६०) गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान तथा कोइरालाको सरकार भंग गरे। त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिनानै ८ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा राखियो। सन् १९६८ मा उनलाई बनारस निर्वासनमा जान दिइयो । १९७६ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा कैद गर्यो। अन्तर्राष्ट्रिय दबाबका कारण १९७८ मा उनका विरूद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो। १९७९ को (२०३६ सालको आन्दोलन) बेला उनलाई आफ्नै निवासमा नजरबन्द गरेर राखिएको थियो।

महामानव बीपी

बीपी कोइरालालाई उनका धेरैजसो अनुयायीहरू अहिले महामानवको विशेषणले प्रशंसित गर्छन्। यो विशेषणभित्र अन्तरनिहित माया, विश्वास र सद्भावलाई बुझ्न सकिन्छ। तर यसो भनिरहँदा उनलाई आफ्नो युग र आफ्नो सन्दर्भका सबैभन्दा अग्ला धरोहरका रूपमा हेर्ने, उनको सङ्घर्ष, शिक्षा र आदर्शलाई देश–काल सापेक्ष राखेर विश्लेषण गर्ने र आजको सन्दर्भमा उनलाई अझ बढी प्रासङ्गिक बनाउने दायित्व कमजोर नहोस् भन्ने कुरामा हेक्का राख्नुपर्छ। अन्यथा, उनलाई आफ्नो समयका सारथीका रूपमा बुझ्न सकिँदैन। तत्कालिन देशको विषम परिस्थितीमा पनि समाज सुधारको मुख्य एजेण्डा बोकेर सर्घष गर्नु पक्कै चानचुने कुरा थिएन। त्यसैले उनलाई सर्मथकहरुले महामानवको उपनाम भिराएका हुन्।

बहुआयामिक व्यक्तित्व बीपी

बीपी कोइराला नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एक विशिष्ट धरोहर हुन् । नेपालमा प्रजातान्त्रिक चेतनाको विजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा उनले ज्यादै महत्वपूर्ण भूमिका खेलेका छन्। साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जनाहरू हस्तान्तरण गर्ने कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आज पनि उत्तिकै अनुभव गर्न सकिन्छ।

बीपी समाजवाद र प्रजातन्त्रलाई अविभाज्य विषय ठान्थे। असमानता या आर्थिक शोषण विद्यमान भएको प्रजातन्त्र प्राण नभएको शरीर जस्तो मात्र हो। त्यस्तै प्रजातन्त्र नभएको समाजवाद पनि केबल नारा मात्र हो, शोषणको अर्को नाम मात्र हो। यसरी बीपी समाजवाद र प्रजातन्त्र अन्तरघुलित भएको ती दुई तत्वबीच सामञ्जस्य र सन्तुलन भएको समाज निर्माण गर्न चाहन्थे भन्ने स्पष्ट देखिन्छ। यिनै अवधारणाहरू प्रजातान्त्रिक समाजवादको रूपमा अगाडि सारिएका थिए।

निष्कर्षमा

बीपीको परिकल्पनाको प्रजातान्त्रिक समाजवादको रिभिजिट गर्ने बेला भएको छ। स्थिति बदलिएको छ, भन्ने नाममा समाजवादी मूल्यहरूलाई नै तिरष्कार गरेर नवउदारवादका सामु आत्मसमर्पण गर्ने कुरा जत्ति हानीकारक छ, त्यति नै बदलिँदो सन्दर्भ, परिवेश र आवश्यकताको परिप्रेक्ष्यमा ती अवधारणालाई विकास र समृद्ध पार्न छाडेर केबल ‘बीपीको समाजवाद’ भन्दै शब्दोच्चारण गरेर पनि आजका चुनौतीका सामना गर्न सम्भव छैन। यस सन्दर्भमा खास गरी बीपीले जन्माए–हुर्काएको पार्टी नेपाली कांग्रेसको विशेष ध्यान जानु आवश्यक देखिन्छ।

प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्ररुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन्। उनको निधन वि.सं. २०३९ साउन ६ गते भएको थियो।

Logo