चाडपर्वमा नाम मात्रको बजार अनुगमन

चाडपर्वमा नाम मात्रको बजार अनुगमन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चाडपर्वमा नागरिकको भिड बजारमा हुनु सामान्य नै हो । नागरिकको भिडसँगै सल्बलाउने गर्छन् , व्यापारीहरु । हरेक छुट र अफरको नाटक गर्दै नागरिकलाई झुक्याउने व्यापारीहरुको त के कुरा , सरकारले गर्ने भनेको बजार अनुगमन पनि नाम मात्रको हुने गरेपछि सधैं जसो नागरिक ठगिमा पर्ने गरेका छन् ।

हरेकजसो बजार यतिबेला महंगीले ग्रस्त छ । एकातिर चाडपर्वको बाहाना, अर्कातिर सामान अभावको मन्त्र जपाई । त्यसमाथि त यस वर्ष कोरोना प्रभावको बाहाना उस्तै छ । हिजोआज सरकारले हरेक दिन जसो राजधानीका बजार अनुगमन गरेको बताइरहेको छ । तर पनि व्यापारीहरुको बदमासी हट्न सकेको छैन । सरकारको उपस्थिती काठमाडौं केन्द्रीत मात्र रहेको छ । उपत्यका बाहिरका जिल्लामा त अनुगमन के हो भन्ने समेत थाहा छैन ।

उत्पादन गर्ने किसानले भाउ पाउँदैन, न उपभोक्ताले सस्तोमा पाउँछन् । बिचौलियाहरुको हालीमुहाली छ । बिगत २ हप्ता यता दैनिक उपभोग्य वस्तुहरुको मुल्य ३ सय प्रतिशत सम्मले बढेको तथ्यांक सार्वजनिक भएको छ । विशेषगरि तरकारीको भाउले आकाश छोइसक्यो । प्रत्येकवर्ष यसरी नै सामानको भाउ वढ्ने नौलो होइन तर नौलो चाहिं यो हो कि सरकारले सधैं बजार अनुगमनलाई कडाइ गरेको बताइरहेको छ । तर उसको अनुगमनको प्रभाव शुन्यप्राय छ । मानौं बजारमा मूल्यवृद्धि नियन्त्रण सरकारको कार्यक्षेत्रभित्रै पर्दैन ।

किन हुन्छ मूल्यवृद्धि ?

चाडपर्वमा हरेकजसो सामानको आवश्यकता पर्छ । नागरिक पैसा नभए ऋण गरेरै भएपनि सरसामान जुटाउन लाग्छन् । जसले गर्दा बजार अघिपछि भन्दा वढी नै भिडभाड हुन्छ । यहि भिडभाडको मौका छोपी व्यापारीहरुको कमाउ धन्दा शुरु हुन्छ । यहि बेलामा गुणस्तरहिन सामान बेच्नेहरुको होडबाजी चल्छ भने वढी नै मूल्य तिरेरै भएपनि सामान किन्न उपभोक्ता तयार रहन्छन् । दैनिक उपभोग्य सामानको माग पनि अरुबेला भन्दा वढी हुन्छ । यहि कारण विशेषगरि चाडपर्वहरुमा सामानको मूल्यवृद्धि हुने रोग पुरानै हो । जसको स्थायी उपचार कहिल्यै हुने अवस्था देखिंदैन ।

चाडपर्व त मूल्य बढाउने बाहाना मात्रै हुन् । एकपटक बढिसकेपछि सामानको मूल्य घट्न मुस्किल छ । व्यापारीहरु यहि मौकामा आफ्ना स्टक बसेका पुराना सामानहरु छुट र अफर भन्दै नागरिकलाई जबर्जस्ती भिडाउन खोज्छन् । जसले गर्दा बजारमा सामानको मूल्य बढ्छ ।

छुट र अफर सधैं किन हुँदैन ?

सरकारले नै चाडपर्वमा मात्र छुट दिने र अरुबेला नागरिकको ढाड सेक्ने निती अबलम्बन गरेको छ । वर्षको साँढे १० महिना नागरिकलाई महंगीले ढाड सेक्ने सरकार चाडपर्वको बाहाना बनाएर डेढ महिने सुपथ मूल्य पसलको नाटक गर्छ । यसवर्ष पनि देशका ७३ स्थानमा सुपथ मूल्य पसलहरु संचालन भएका छन् । ७७ जिल्लामा ७३ वटा पसल ? यो भन्दा वढी हाँस्यास्पद कुरा अरु के हुन सक्छ ? यसरी सरकारले त नागरिकका आँखामा छारो हाल्ने काम गर्दै आएको छ भने नाफामुखी व्यापारीहरुको चाला के हुन सक्ला ?

वर्षको साँढे १० महिना नागरिकलाई महंगीले ढाड सेक्ने सरकार चाडपर्वको बाहाना बनाएर डेढ महिने सुपथ मूल्य पसलको नाटक गर्छ ।

के के कारणले बजार प्रभावित हुन सक्छ ?

चाडपर्वका अतिरिक्त समाजमा व्याप्त भ्रष्टाचार, घुसखोरी, अनियमितता जस्ता सामाजिक अपराधका कारण पनि बजारमा महंगी निकै नै बढेको छ । समाजमा व्याप्त गरिबी एकातिर छँदैछ भने सरकारी बजार अनुगमन फितलो अर्कातिर उस्तै छ । सरकारी अनुगमनकर्मीहरु बजारमा जान्छन् तर दुर्भाग्य व्यापारीहरुले नै लखेट्छन् । कतिपय ठाउँमा त व्यापारीसँग नै अनुगमनकर्मीहरु मिलेर रकम लेनदेन गर्ने गरेका समाचारहरु पनि आउने गरेका छन् । मानौं अनुगमनकर्मीहरुको यो कमाइ खाने भाँडो जस्तै हो । यसले गर्दा महंगी घट्नुको सट्टा झन बढेको प्रष्ट छ । सरकारको बजार अनुगमन नाम मात्रको हुँदा नागरिक महंगीको मारमा पर्नु परेको छ भने बजारमा विचौलिया र कालाबजारीहरुको कब्जा पनि उस्तै बढेको छ ।

के के मा बढेको छ मूल्य ?

यतिबेला कुनैपनि सामान छैन, जसको बजारमा मूल्य नबढेको होस् । सुनदेखि नुनसम्म बढेकै छ । अझै तरकारीको मूल्य त ३ सय प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ । कपडाजन्य वस्तुको भाउ पनि छोइनसक्नु छ । खसीबोकाको मूल्य पनि उस्तै बढेको छ । चाडपर्व आउँछ , मानौं सामानको मूल्य बढाउनकै लागि आउँछ जस्तै अनुभव हुन थालेको छ । चाडपर्वमा यो चाहिं सामान सस्तोमा पाइयो भन्ने कोहि नागरिक छैनन् । सरकारको अनुगमन नाम मात्रैको जस्तै पनि छैन । अनुगमन टोली व्यापारीहरुसँग सेटिङ्ग मिलाउँछन् , आफ्नो दुनो सोझ्याउँछन् अनि खल्ती भर्दै बाटो लाग्छन् । नागरिकले कसको विश्वास गर्ने ?

सरकारको अनुगमन नाम मात्रैको जस्तै पनि छैन । अनुगमन टोली व्यापारीहरुसँग सेटिङ्ग मिलाउँछन् , आफ्नो दुनो सोझ्याउँछन् अनि खल्ती भर्दै बाटो लाग्छन् । नागरिकले कसको विश्वास गर्ने ?

चाडपर्वमा कति खर्च हुन्छ ?

एक तथ्यांक अनुसार दशैं, तिहार, छठ लगायतका अन्य चाडपर्वमा अरु बेलामा भन्दा निकै धेरै खर्च हुने गरेको छ । बताइए अनुसार एकवर्षको देशको कूल बजेट भन्दा धेरै खर्च चाडपर्वमा मात्र हुने गरेको छ । एकातिर उपभोक्ता विच सामान किन्ने अस्वस्थ प्रतिश्पर्धा , अर्कातिर ऋण गरेरै भएपनि चाडपर्व त मान्नै पर्यो नि भन्ने मानसिकताले गर्दा खर्चको सीमा अधिक भएको हो । हुने खानेहरुका लागि त जति खर्च भए पनि सामान्य नै हो । तर बिहान खाए बेलुका के खाने भन्ने अवस्था भएकाहरुले यस्तो खर्च कसरी धान्न सक्लान् ? यस्तो अवस्थामा सरकारले प्रभावकारी कदम चालेर बजारमा भएको मूल्यवृद्धि रोक्ने हो भने मात्र नागरिकले राहत पाउँछन् , सरकार भएको आभास पाउँछन् । नत्र त उहि हो, व्यापारीहरु मात्रै मोटाउँछन् , बिगत जस्तै , भविष्यमा पनि ।

अर्थशास्त्रको अन्तर्राट्रिय मान्यता

सामान्य अर्थमा कुनै पनि वस्तुको बजार माग धेरै भएपछि त्यसको मूल्य पनि वढ्छ र माग कम हुँदा मूल्य पनि घट्छ । विश्वका नागरिक जब सामानको अभाव हुन थाल्छ, त्यसको विकल्प खोज्न थाल्छन् । मानौं बजारमा प्याजको मूल्य बढेको छ वा अभाव हुँदैछ भने उपभोक्ताहरु त्यसको विकल्प के होला भनेर त्यतातिर लाग्छन् । तर नेपालमा भने विल्कुलै विपरित छ । यहाँ कुनै सामानको भाउ बढ्न लाग्यो भने हामी विकल्प खोज्दैनौं, बरु त्यहि सामानको स्टक राख्न महंगोमै भएपनि सामान जुटाउने तिर सोच्न थाल्छौं । परिणामस्वरुप बजारमूल्य बढ्छ र कालोबजारी पनि उस्तै वढ्छ । यो गलत संस्कारको अन्त्य हुने हो भने बजार सामान्य अवस्थामै रहन्छ ।

विश्वका नागरिक जब सामानको अभाव हुन थाल्छ, त्यसको विकल्प खोज्न थाल्छन् । मानौं बजारमा प्याजको मूल्य बढेको छ वा अभाव हुँदैछ भने उपभोक्ताहरु त्यसको विकल्प के होला भनेर त्यतातिर लाग्छन् । तर नेपालमा भने विल्कुलै विपरित छ । यहाँ कुनै सामानको भाउ बढ्न लाग्यो भने हामी विकल्प खोज्दैनौं, बरु त्यहि सामानको स्टक राख्न महंगोमै भएपनि सामान जुटाउने तिर सोच्न थाल्छौं ।

के होला समाधान ?

बजारमा भइरहेको अत्याधिक मूल्यवृद्धि रोक्ने हो भने सर्वप्रथम उपभोक्ता सजग हुनु पर्छ । जसको अभाव हुँदैछ त्यहि वस्तुको खोजी गर्ने र स्टक राख्ने प्रवित्ति छ उपभोक्तामा । त्यसको विकल्प के हुन सक्ला भनेर ध्यान दिने हो भने मूल्यवृद्धि कम हुन सक्छ । त्यस्तै सरकारी संयन्त्र पनि नाम मात्रको जस्तो हुने होइन । कालाबजारीहरुसँग जस्तो सुकै परिस्थितीमा पनि नझुक्ने र सामानको गुणस्तर चेकजाँच गर्न पहल गर्ने हो भने बजारमा अहिले भइरहेको अवस्थाको अन्त्य हुन्छ । यस्तै उपभोक्ताले पनि चाडपर्वमा मात्र सामान किन्ने होइन, केहि हप्ता पहिले नै आफूलाई चाहिने सामानको जोहो गर्ने हो भने बजारमा भिड कम हुन्छ र अस्वस्थ रुपमा बढीरहेको मूल्यवृद्धि पनि घट्न जान्छ । सरकारले गर्ने भनिएको बजार अनुगमन पनि चाडपर्वमा मात्र गर्ने होइन, सधैं नै यस्तो छड्के अनुगमन गर्ने हो भने बढीरहेको बजार मूल्य आफैं नियन्त्रण हुन्छ । यस तर्फ सम्बन्धित निकाय, विशेषगरि उपभोक्ताकर्मी, नागरिक र सरकार सक्रिय रहनु आवश्यक छ ।
[email protected]

Logo