‘सुन्दर सपना नदेखिकन राम्रो विपना हुँदैन’

‘सुन्दर सपना नदेखिकन राम्रो विपना हुँदैन’


यतिबेला म सन् २०११ जुलाई–अगस्टलाई सम्झिरहेको छु, जतिबेला हामी स्पेरान्तो भाषाको अन्तर्राष्ट्रिय इलेई सेमिनार र वार्षिक सम्मेलनमा भाग लिने क्रममा डेनमार्क र स्वीडेनको भ्रमणमा पुगेका थियौं। मलाई अचानक त्यतिबेला नीलआर्मस्ट्रङले चन्द्रमामा टेक्दा भनेको ‘अ सिंगल स्टेप अफ अ म्यान इज अ जाइन्ट लिप फर म्यानकाइन्ड’ भनाइको याद आएको थियो। 

तपाईंहरुलाई लाग्दो हो–नेपालबाट बल्ल–बल्ल त्यहाँसम्म पुग्न सफल भएकाले यसलाई त्यस्तो गर्वको महसुस भएको हुनुपर्छ । हो, म पहिलो पटक त्यहाँ पुगेर गौरवान्वित भएको थिएँ। 
तर, यहाँ चर्चा गर्न लागेको यो प्रसंग भने अलिक फरक हो ! त्यहाँको सुन्दरता देखेर मलाई एकैचोटी नील आर्मस्ट्रङ्गले सफलता प्राप्त गरेको क्षणमा बोलेको कुरा सम्झना आएको थियो । सुन्दरताप्रतिको तीव्र अनुराग र स्वास्थ्यप्रतिको चेतनाको सानो झिल्कोलाई पछ्याउँदै शायद यो सिंगो युरोप यो ठाउँमा आइपुगेको हुनुपर्छ भन्ने लाग्यो। 

मलाई लाग्यो–अ सेन्स अफ ब्युटी इज द टर्निङ प्वाइन्ट अफ सिभिलाइजेसन । यसमा हामी सबैजना सहमत हुन सकिएला, नसकिएला त्यो बेग्लै छलफलको विषय हो । यति हो मेरो विश्वास यस्तो रह्यो। नेपाल जस्तो गरिब र अविकसित देशको सामान्य परिवारको मान्छे, त्यसमा पनि दुर्गम पहाडी भिरपाखा र विकटतामा जन्मेहुर्के बढेको, असुविधै असुविधाले किचेको व्यक्ति युरोपको सम्पन्नता, विकास र वैभव देखेर चकित नै भइयो।

संसारभर फैलिएर यो सब जानकार भैसकेका नेपालीहरुलाई अहिले यो सामान्यजस्तो लाग्न सक्छ। सँगै गएका मेरा साथीहरु भरत घिमिरे र इन्दु थपलिया, जसले यस अघि पनि केही देशहरु घुमिसकेका थिए, शायद उनीहरुलाई पनि यी विषयहरुले त्यती गहिरो गरी छोएनन् होला। त्यहीँ बसोबास गरिरहेका नरेन्द्र बस्नेत, संगीता राउत, नवराज भट्टराई लगायत धेरै नेपालीहरुलाई त यो जीवनको अभिन्न अंग जस्तै भैसकेको थियो होला। त्यहाँको भूगोल त हाम्रो जति सुन्दर र उर्वर थिएन। तर मान्छेको पौरखको चमत्कारले ढकमक्क फूलेको र लटरम्मै फलेको थियो।

 श्रम, सीप र प्रविधिले धर्तीलाई चटक्कै पारेर कुदेको थियो। छुँदै फोहोर लाग्ला जस्ता चिटिक्क परेका मान्छे र त्यस्तै सुन्दर घर, चुला, चौका, पार्क, फराकिला सडक, बाटाको दायाँबाँयाँ र बीचमा आकर्षक बगैंचा, सफा, सुन्दर, गाडी गुड्ने बाटा, मानिस हिँड्ने र साइकलको छुट्टै लेन, अपांगमैत्री, आफैं खुला र बन्द हुने स्वचालित ढोकाहरु, सर्वत्र स्वचालित भर्याङ र लिफ्टहरु देखेर अवाक भइयो। यातायातका लागि अत्यन्त राम्रो व्यवस्था भएको र त्यसमा सरकारको पूर्ण नियन्त्रण, एकीकृत टिकट प्रणाली–एउटै टिकटले बस, ट्रेन, मेट्रो, पानीजहाज चढ्न मिल्ने थियो। 

जमिन र समुद्रमुनिका ३/४ तलाको मेट्रो, ट्रेन र सुरुङहरु देख्दा हाम्राजस्ता देशका मानिस जोकोही पनि चकित भइन्थ्यो। सफा र सुन्दर पसल, ग्राहक र व्यापारीबीच परस्परमा ठूलो विश्वास रहेकाले कुनै बार्गेनिङ गरिरहनु नपर्ने थियो। सबै जनताको सरकारी कामप्रति पूर्ण भरोसा भएको र कानुनप्रति उच्च सम्मान र पूर्ण परिपालना गरेको देखियो । अत्यन्त सरसफाइ र सुन्दरता, मानिस अत्यन्त शिष्ट, नचिनेको मानिस जोसुकै सँग भेट भए पनि हँसिलो मुखले हाई भनेर अभिवादन गर्दथे ।

 बातचित गर्दा तर्कयुक्त र जानेको कुरा मात्र गर्ने, कुरा गर्दा अर्काको कुरा ध्यानपुर्वक सुन्ने र आफ्नो पालोमा मात्र बोल्न, बोलेर जबरजस्ती जित्ने कोसिस नगर्ने व्यवहारले सबैका विचार सहजसँग बुझ्न र बुझाउन सकिने थियो।

संसारभर फैलिएर यो सब जानकार भैसकेका नेपालीहरुलाई अहिले यो सामान्यजस्तो लाग्न सक्छ। सँगै गएका मेरा साथीहरु भरत घिमिरे र इन्दु थपलिया, जसले यस अघि पनि केही देशहरु घुमिसकेका थिए, शायद उनीहरुलाई पनि यी विषयहरुले त्यती गहिरो गरी छोएनन् होला।

 समयप्रति सचेत भएको हुँदा यातायात अत्यन्त व्यवस्थित गरिएको थियो । आफ्नो कारणले अरुलाई कुनै बाधा पर्छ कि भन्ने कुरामा सबै सधैं सावधान देखिन्थे । गाडीमा चढ्दा, ओर्लँदा वा अन्यत्र कहीँको कुनै केही सेवा लिनुपर्दा लाइनबाट शिष्टतापूर्वक आफ्नो पालो पर्खने र गाडीमा बस्दा शान्त रहने, एक अर्कालाई नछुने, नधकेल्ने, आफ्नो कारणले अरु कसैलाई अवरोध पुग्छ कि भन्ने कुरामा सधैं सचेत रहने सभ्य संस्कारले हामी सबैलाई अचम्भित बनाउँथ्यो । टिकट नकाटी गाडीमा नचढ्ने, कहिलेकाहीँको छड्के चेकबाहेक टिकट काटेको/नकाटेको नियमित जाँच गर्नु आवश्यक नठानिने र बिना टिकट कोही पनि हिँड्दैन भनेर विश्वास गरिने रहेछ । सार्वजनिक ठाउँमा हल्ला नगरिने, गाडी, बाइक आदिले जथाभावी हर्न नबजाउने, बाटो काट्दा हरियो बत्ती पर्खने, पैदलयात्रा गर्दा हतार भएमा गाडीलाई रेडलाइट बालेर बाटो काट्न बाटोको दायाँबायाँ पब्लिकले प्रयोग गर्ने स्वीचको व्यवस्था गरिएकोबाट सबैलाई स्व–अनुशासित हुने संस्कार दिएको देखिन्थ्यो। 

कसैले बाटो काट्न लागेको देखेमा ८/१० मिटर टाढा नै गाडी रोकेर पैदल यात्रुलाई प्राथमिकता दिएर हार्दिकतासाथ बाटो काट्न सहयोग पुर्याइन्थ्यो । सफा सुन्दर होटल, पानीको शुद्धता शतप्रतिशत थियो। बाथरुममा रहेका बेसिनहरुबाट पनि सिधै बिना संकोच पिउनका लागि पानी प्रयोग गर्न सकिन्थ्यो । यस्ता वर्णनयोग्य धेरै कुरा थिए । त्यहाँको हरियाली, सरसफाइ र पर्यावरणमैत्री व्यवहार देखेर हाम्रो ठाउँबाट जाने जो कोही पनि प्रभावित नभइ रहन सक्दैनथ्यो।

जथाभावी बाटोघाटो वा सार्वजनिक स्थानमा फोहर फालिँदैनथ्यो । आआफ्नै घरमा कन्टेनर थियो र, फोहोरलाई प्याकिङ गरेर त्यहीँ राखिन्थ्यो । फोहोरलाई ५/६ क्याटागोरीमा छुट्याइएको छ । महिना वा हप्ताको निश्चित दिन र तारेखमा घर घरमा फोहर संकलन गर्न गाडी आउने गर्थे। आफैंले पनि फोहर संकलन केन्द्रमा फोहर पुर्याउन सकिन्थ्यो। 

प्रत्येक घर, पसल, होटल, कार्यालय, सार्वजनिक स्थान सबैतिर फोहर मैला व्यस्थापनको उचित प्रबन्ध मिलाइएको थियो । मानव बस्ती प्रत्येक १/२ सय मिटरको दूरीमा सार्वजनिक ट्वाइलेटहरुको राम्रो व्यवस्था गरिएको थियो । पानी, साबुन, ट्वाइलेट पेपर र ड्रायरको व्यवस्था गरिएको थियो । म चकित भएँ। स्वास्थ्य र सरसफाइको चेतनाले मानव जीवनमा कति ठूलो परिवर्तन आउँदो रहेछ! 

जसरी औजारको उपयोग, ज्ञान, सीप र कलाले मानव सभ्यतालाई आजको यस ठाउँमा ल्याइ पुर्याएको छ, त्यसरी नै स्वास्थ्यसम्बन्धी सचेतनताले मानव जीवनमा ठूलो फड्को मारेको रहेछ भन्ने लाग्यो । यो चेतनाले स्वस्थ्य बन्न, सबल हुन र लामो आयु जिउनेजस्ता विषयमा नयाँ फड्को मार्न मद्दत गरेको रहेछ भन्ने लाग्यो। स्वभाविक लाग्यो, सुन्दरताप्रतिको अनुराग वृद्धि हुन थालेपछि मात्र मानिसले सरसफाइतर्फ विशेष ध्यान दिन सुरु गरे होलान्।

शरीरको सरसफाइ र स्वास्थ्य, आफ्ना वस्तुहरुको सरसफाइ, कोठाको सरसफाइ, घरपरिवार र बगैंचा र सिंगै परिवेशको सफाइ एवं पर्यावरण प्रवद्र्धनको कुरा सोच्न थाले होलान्। आत्मादेखि नै सरसफाइ र सुन्दरताप्रति अनुराग नपलाइकन, महत्व नबुझेसम्म मानिस सरसफाइप्रति खासै ध्यान दिने रहेनछ। 

मैले यहाँ वर्णन गरेका यी विभिन्न कुरा उनीहरुका लागि अत्यन्त सामान्य र फिकाजस्ता लाग्न सक्छन्। तर, हामीलाई यी कुरा जतिसुकै सामान्य र फिका लागे पनि, जतासुकै देखेसुनेको भए पनि हाम्रो देशको सन्दर्भमा अझै पनि यो सपनाको संसार नै हुनेछ। 

बोक्रे बुझाइले अरुको देखासिखी मात्र गरिने रहेछ, बाहिर देखिनका लागि मात्र सरसफाइ गर्ने र यसको गम्भीरता र आवश्यकतालाई महसुस गरिँदो रहेनछ। अहिले हामी २०२१ मा आइपुगेका छौं। हिजोआज धेरै नेपाली संसारका सबै विकसित मुलुकमा पुगिसकेका छन्। 

मैले यहाँ वर्णन गरेका यी विभिन्न कुरा उनीहरुका लागि अत्यन्त सामान्य र फिकाजस्ता लाग्न सक्छन्। तर, हामीलाई यी कुरा जतिसुकै सामान्य र फिका लागे पनि, जतासुकै देखेसुनेको भए पनि हाम्रो देशको सन्दर्भमा अझै पनि यो सपनाको संसार नै हुनेछ। 

हामीले बाहिरफेर जतिसुकै देखे, सुने, भोगे पनि हाम्रो जीवनशैलीमा कुनै अन्तर छैन । हाम्रो अवस्थामा कुनै तात्विक सुधार आएको छैन। नेपालका मुख्य ठूला शहर त अब सुन्दर बनाउनै नसकिने गरी अस्तव्यस्त भैसकेका छन् ।

नयाँ विकसित हुँदै गरेका सहर र गाउँहरुलाई व्यवस्थित गर्न र सुन्दर बनाउने अझै पनि प्रशस्त सम्भावना छ। तर, नयाँ जनप्रतिनिधि र सरकारमा जानेहरु पनि कतिपय कमाउ धन्दामा व्यस्त छन भने  केही गरौ भन्ने भावना भएकासँग उचित ज्ञान, सीप र अनुभवको कमी छ , एक्सपोजर र उचित तालिमको आवश्यकता छ। कतिपयले कामको मेलोमेसो थाहा नपाएर बढी बोल्न र परस्पर झगडा गर्नुभित्र राजनीति देखिरहेका छन्। 

सचेत भनिएका बुद्धिजीवी समाजलाई उचित बाटो देखाउनुभन्दा सरकारलाई गाली गर्न र द्वन्द्व चर्काउनमै उद्दत छन् । जे भए पनि सम्भावना सकिएको छैन। अहिले कोरोनाको पहिलो वेभ सकिएर दोस्रो वेभले संसारभर आतंक मच्चाइरहेको छ। 

यसबीचमा हामीले हाम्रा धेरै प्रियजनहरुलाई पनि गुमाएका छौं। यसले हामीलाई गहिरो पीडा दिएको छ तर साथसाथै एउटा गतिलो शिक्षा र सम्भावना पनि देखाएको छ। हात धुने र सरसफाइको लागि नयाँ सस्कार बसाएको छ । स्वास्थ्य सचेतना बढाएको छ।

अब हामी बिस्तारै सुन्दरता र सरसफाइप्रति अनुरागी बन्न थालेका छौं । हामीसँग अहिले निर्वाचित स्थानीय निकाय देशैभर क्रियाशील छन्। प्रत्येक स्थानीय निकाय धेरथोर विकासको मार्गमा परस्पर प्रतिस्पर्धामा पनि छन्। देशैभर गाउँपालिका र नगरपालिकाभित्र अस्पताल बनिरहेका छन्। 

वडावडामा स्वास्थ्य चौकी पनि क्रियाशील छन् । जसको कारण हाम्रा धेरै स्वास्थ्य समस्याको पहिचान र हल गर्न पहिलेभन्दा धेरै सहज हुँदै गएको छ । यी स्वास्थ्य संस्थाको माध्यमबाट समाजमा उपचार मात्र होइन, त्यसपूर्व स्वास्थ्य सचेतना र सरसफाइसम्बन्धी विशेष अभियान चलाउन सकेमा समाजमा सुन्दरता, स्वास्थ्य, संस्कार, सभ्यता र वैभव सबै कुरा एकै चोटी प्राप्त हुन सक्थ्यो।

 तर, यसका लागि समाजका सबै पक्ष समान जिम्मेवारी बोधसाथ एकीकृत ढंगले क्रियाशील हुनु जरुरी छ । हाम्रै जीवनमा सकारात्मक परिवर्तन गर्ने हो भने सत्ता निकटकाले चर्का भाषण र प्रतिपक्षले विरोध होइन, सबैले सँगसँगै मिलेर कडा मिहेनत गर्नुको विकल्प छैन।

Logo