यस्ताे छ गणतन्त्र नेपालमा प्रजातन्त्र दिवसको महत्व

यस्ताे छ गणतन्त्र नेपालमा प्रजातन्त्र दिवसको महत्व


नेपाली राजनीतिक इतिहासमा परिर्वतनकारी पहिलो खुड्किलो विसं २००७ साललाई मानिन्छ। नेपालमा शासन गर्दै आएको १०४ वर्षको राणा शासनको अन्त्य भई पहिलोपटक प्रजातन्त्र आएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि राजा त्रिभुवनले तत्कालीन राजनीतिक दललाई सहयोग गर्दै राजमुकुट नै छोडेर भारतमा गएका थिए ।

तत्कालीन नेपालका राजा त्रिभुवन भारत गएसँगै नेपाली राजनीतिक दलमा हौसला आयो । फलस्वरुप नेपालमा एकतन्त्रिय राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको पनि सुरुवात हुन पुग्यो ।

भलै, नेपालमा प्रजातन्त्रको बहाली गर्न सहयोग पुर्याएका त्रिभुवनकै सन्तान तत्कालिन राजा ज्ञानेन्द्रलाई २०६२ र ०६३ सालमा १९ दिनसम्म चलेको जनआन्दोलनले हटाएको थियो ।
यससँगै नेपालको राजनीतिक ढाँचा र स्वरुप बदलिएर सङ्घीय गणतन्त्र नेपाल भएको छ। मुलुकमा गणतन्त्र घोषणा भएको १४ वर्ष पुग्दा पनि प्रजातन्त्र दिवस मनाउन भने छाडिएको छैन।

जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय गणतन्त्र घोषणा गरेको थियाे। तरपनि नेपाल सरकारले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएको छ।

गणतन्त्र नेपालमा प्रजातन्त्रको महत्व
२००७ सालमा प्रजातन्त्र आएको मुलुकमा लोकतन्त्र हुँदै सङ्घीय गणतन्त्र स्थापना भइसकेको छ। नेपालको राजनीतिक भौगोलिक संरचनादेखि संविधानसम्म गणतन्त्रको छाप परिसकेको छ। तर,प्रजातन्त्र दिवसको अस्तित्व भने कायम रहँदै आएको छ।

प्राध्यापक डा. सुरेन्द्र केसीका अनुसार प्रजातन्त्रले नेपालमा पहिलो पटक संवैधानिक राजतन्त्रको व्यवस्थाको सुरुवात गर्यो । उनका अनुसार ‘बेग्लाबेग्लै परिघटना भए पनि प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र नेपाल हुन सम्भव भएको हुनाले प्रजातन्त्रको महत्व रहेको छ।’

परिवर्तन हुन नसकेको नेपाल
नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरिएको आन्दोलनदेखि गणतन्त्रसम्मको इतिहास हेर्ने हो भने प्रत्येक दश वर्षमा आन्दोलन हुँदै आएको छ। प्रजातन्त्रले नेपालमा एक युगान्तकारी परिवर्तनको बाटो बनाएको थियो। तर, बाटो धुमलिएर नेपालको विकासमा अनेक बाधा उत्पन्न हुन पुग्यो।

यसैबीच संघीय गणतन्त्र नेपालमा प्रजातन्त्रले भिन्न प्रकारको महत्व राख्दै आएको छ। डा. केसी भन्छन् –‘प्रजातन्त्रले संवैधानिक राजतन्त्रको व्यवस्था गर्यो, तर लामो समय टिक्न सकेन। अहिले गणतन्त्रको हालत पनि त्यस्तै रहेको छ।’ उनी थप्छन्, –‘प्रजातन्त्रको अवधिमा नै राजनीतिक दलको इच्छाशक्ति नहुनु विडम्वनाको कुरा हो। अहिले पनि हालत उस्तै छ।’

कुनै फरक छैन
नेपालमा २००७ सालमा आएको प्रजातन्त्रको व्यवस्था र अहिले गणतन्त्रको अवस्था उस्तै रहँदै आएको डा. केसी बताउँछन् । उनले भने,–‘प्रजातन्त्रको समयमा दलहरु सत्तामा जाने खेल अहिलेसम्म उस्तैगरि चल्दै आएको छ। पछिल्लो समयमा सत्ता खेल मात्र होइन भ्रष्ट्राचार, अन्याय, अत्याचार, शोषण बढ्दै गएको छ।’

Logo