सरकारले जनतालाई झुक्याउने काम मात्र गरेको कांग्रेस नेता सिंहको आरोप

सरकारले जनतालाई झुक्याउने काम मात्र गरेको कांग्रेस नेता सिंहको आरोप


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन्। 

असंवैधानिक कदम चालेका प्रधानमन्त्री अदालतले संसद पुनर्स्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने संसदीय ब्यवस्था नै गलत हो भनेर जनतामा स्थापित गराउन संसदको उपेक्षा गरेर नियोजित रुपमा अघि बढेको समेत उनले आरोप लगाएका छन् । 

सिंहले प्रधानमन्त्रीलाई संसदमा उभिएर आफ्नो प्रयास सकारात्मक थियो  संसद विगठन जायज हो भनेर स्पष्टिकरण दिन चुनौतीसमेत दिएका छन् । विभिन्न बहाना गरेर संसद छल्न संसदको आवश्यकता नै छैन भन्दै  हिंडेको प्रति पनि कडा आपत्ती गर्दै संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई चुनौती दिए ।

नेपाल दलित संघको आयोजनामा आज काठमाडौंमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको विकास गर्यौं भनेर यो सरकारले जनतालाई झुक्याउने गरेको बताए।

साथै नेता सिंहले कम्युनिस्टहरुको मुखमा रामराम बगलिमा छुरा हुने गरेको पनि आरोप लगाए । मुखले धेरै नै काम गरेको भन्ने तर वास्तविकतामा त्यो नभएको उनको भनाइ थियो।

देशलाई संकट पर्दा नेपाली कांग्रेसले सधैं देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिलाउन पनि कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा प्रयास गरेको भन्दै यो कांग्रेसको रहर नभइ मुलुकलाई निकास दिन बाध्यात्मक परिस्थिति आएको उनको भनाइ थियो । 

'सरकार पूर्णतः असफल भइसक्यो, भष्ट्राचारमा लिप्त छ। यस्तो  सरकारबाट देश र जनताको हितमा काम होला भनेर आशा गर्ने कुनै ठाउँ छैन।' उनले भने।

साथै सन्त नेता  किसुनजीको सपना र योजनामा मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास सुरुआत भएको कुरा दुनियाँलाई थाहा छ भन्दै यो सरकारले किसुनजीलाई सम्मान गर्ने त कता हो कता ,ओलीले आफैंले मेलम्ची काठमाडौं ल्याएँ भनेर फुर्ती लगाउने गरेको देख्दा अचम्म लागेको बताए।

अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिई निष्पक्ष चुनाव गराउने उनको भनाइ छ। 

Logo