छांगरु र तिङ्करमा चामल पुग्यो, दाल र नुन-तेल पुगेन

छांगरु र तिङ्करमा चामल पुग्यो, दाल र नुन-तेल पुगेन

केन्द्रबिन्दु
0
Shares

दार्चुला ।

गत असार अन्तिमसाता सरकारले व्यासको छांगरु र तिङ्कर गाउँका लागि दुई सय क्वीन्टल खाद्यान्न ढुवानी गर्यो । छांगरुका ११७ घरधुरी र तिङ्करका ७० घरधुरीका लागि नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ठेक्कामार्फत खाद्यान्न ढुवानी गर्यो । यहाँका नागरिकले झण्डै एक क्वीन्टल हाराहारीमा चामल पाए ।

“सरकारले हेलिकप्टरमार्फत चामल गाउँमा पुर्यायो, तर चामल मात्रै पुर्याएको सरकारले छांगरु र तिंकरका लागि नुन, तेल र दाल पुर्याउनु पर्छ भन्ने याद सम्म गरेन”, व्यास गाउँपालिका–१ छांगरुका जगतप्रताप ऐतवालले भने, “एक क्वीन्टल चामल कति दिनलाई पुग्छ, चामलसँग दाल, नुन र तेल चाहिन्छ ।”

जतिबेला कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नयाँ नक्सा जारी गर्यो, त्यो बेला सरकारले छांगरु र तिङ्कर गाउँ सम्झियो । नेपालका दुई गाउँ मात्र हैन, भारतले अतिक्रमण गरेको भूगोलमा रहेका नावी, गुञ्जी र कुटी गाउँका नागरिकसमेतको अवस्था बुझ्ने प्रयास गर्यो । जति नक्साको कुरा कम हुँदै गयो, अहिले भने यहाँका जनताले भन्न थाले, सरकारले छांगरु तिंकर विर्से जस्तो छ ।

व्यासका युवा सुरज ऐतवाल भन्छन् , “छांगरु र तिङ्करलाई राज्यले भुले जस्तो छ, जति बेला कालापानीको मुद्धा चर्किन्छ, सरकारले हाम्रो नागरिक छन् भनेर छांगरु र तिंकर गाउँ सम्झिन्छ, तर वर्षौंदेखि सीमाको रक्षा गरि बसेका नागरिकको अवस्था के छ, के खाँदैछन् कसरी बसेका छन् भनेर सरकारले फर्केर हेर्दैन ।”

“चामल पुर्याएपछि खै सरकारले व्यासीको कुरा सुनेको ?”, गीता बोहरा भन्छिन् , “कुञ्चा सरेपछि छांगरु र तिङ्करका नागरिकले कसरी बसेका छन्, सोधेका छैनन्, अहिले छांगरु र तिंकरमा रहेका नागरिकले सदरमुकाम खलंगा जान पाएका छैनन्, खलंगामा रोकिएका छांगरु र तिंकरका बासिन्दाले बाटो नहुँदा गाउँ जान पाएनन् ।”रासस

Logo