बैतडी।
कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि जिल्लामा सोमबारदेखि निषेधाज्ञा गरिने भएको छ । सोमबार राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म लागू हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको हो । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्तुबाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ ।
यस्तै अत्यावश्यक कामबाहेक कसैले बाहिर हिँडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ । यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक जिल्लामा अन्य सवारीसाधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।
काठमाडौंबाट आएका प्रहरीमा कोरोना पुष्टि
काठमाडौंबाट बैतडी सरुवा भएका प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी छ महिनाकी छोरीमा पनि कोरोना पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एक प्रहरी जवानसहित जिल्लाका चार जनामा कोरोना पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । कोरोना पुष्टि भएका प्रहरी जवानको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ भने छ महिने बालिका आफ्नै आमासँग क्वारेन्टिनमा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिए।रासस





























प्रतिक्रिया