लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण शुरु

लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण शुरु

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामग्री ढुवानी गरिएको छ ।

बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जस अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णय बमोजिम शनिबार ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ ।

प्रदेशसभा सदस्य सरेश नेपाल, पूर्वसांसद सुवास कर्माचार्यसहितको टोलीले स्थलगत भ्रमण गरी स्थानीयवासीसँग छलफल गरेका थिए । आइतबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रबन्ध मिलाउने श्रेष्ठले बताए। नौ दिन अघि जुगल–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये ३२ को शव फेला परेको छ भने सात अझै बेपत्ता छन् ।

Logo