कोरोना नियन्त्रणमा १३ अर्ब खर्च, पीसिआर परिक्षणमै सकियो ३ अर्ब रुपैंया

कोरोना नियन्त्रणमा १३ अर्ब खर्च, पीसिआर परिक्षणमै सकियो ३ अर्ब रुपैंया

केन्द्रबिन्दु
0
Shares

सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडा १३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । डा. खतिवडाका अनुसार गत चैतबाट साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च भएको बताए ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको उनले बताए । जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट यस्तै १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको उनले बताए ।

यस्तै प्रदेशहरुबाट झण्डै डेढ अर्ब खर्च भएको छ । मन्त्री खतिवडाले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको बताए । उनका अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । यस्तै गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

यस्तै स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टिन व्यस्थापनमा खर्च भएको उनले बताए ।

सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा हालसम्म दुई अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ  । यसमध्ये करिब एक अर्ब रुपैयाँ खर्च भइसकेको सरकारी तथ्यांक छ ।

त्यस्तै, प्रदेश सरकारले स्थापना गरेको कोषमा कुल ८७ करोड ८६ लाख रुपैयाँ र स्थानीय तहले खडा गरेको कोषमा एक अर्ब ३५ लाख रुपैयाँ बाँकी रहेको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पीसीइ बाहेक पीसीआर परीक्षणमा मात्रै उक्त रकम खर्च भएको हो । एउटा पीसीआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको उनले बताए ।

३ अर्बभन्दा बढी खर्च गरेर ५ लाख ७९ हजार बढी पीसीआर परीक्षण गर्दा ३० हजार ४ सय २३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै उनले एउटा पोजेटिभ केस भेटाउन १ लाख ४ हजार ६ सय ३० खर्च सरकारले गरिरहेको बताए ।

एकजना संक्रमितलाई १ महिना आइसियुमा राखेर उपचार गर्दा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको प्रवक्ता डा. गौतमले बताए ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोना भाइरसबाट शुक्रवार मात्रै थप ११ जनाको मृत्यु भएको थियो । योसँगै मृतकको संख्या १ सय ३७ पुगेको छ ।

अहिले देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार ३९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९३, बागमती प्रदेशमा ३ हजार १ सय ६० र गण्डकी प्रदेशमा ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६७, कर्णाली प्रदेशमा ३ सय १० र सुदूरपश्चिम प्रदेशमा ९ सय ३८ गरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४६ जना रहेका छन् । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६८, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९७, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा २३ गरी देशभरी ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २ दिनयता आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढिरहेको छ । प्रदेश नम्बर १ मा १६, प्रदेश नम्बर २ मा ४६, बागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश नम्बर ५ मा १३ गरी १ सय ३३ जना संक्रमित आइसियुमा उपचाररत छन । यस्तै बागमती प्रदेशमा १५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

अहिलेसम्म क्वारेन्टिनमा १२ हजार २ सय ३४ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय १, प्रदेश नम्बर २ मा १ हजार ४ सय १, बागमती प्रदेशमा १ हजार १ सय ६२ र गण्डकी प्रदेशमा २ हजार ६ सय ९८ जना क्वारेन्टिनमा रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७९, कर्णाली प्रदेशमा ६ सय ३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना भाइरसको जोखिम बढेसँगै देशका ४० भन्दा बढी जिल्लामा कतै निषेधाज्ञा त कतै लकडाउन गरिएको छ ।

Logo