विदेशबाट आउँदै हुनुहुन्छ ? २ साता बस्नु पर्नेछ यी होटलमा, यस्तो छ शुल्क

विदेशबाट आउँदै हुनुहुन्छ ? २ साता बस्नु पर्नेछ यी होटलमा, यस्तो छ शुल्क

केन्द्रबिन्दु
0
Shares

सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छ ।

पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नसक्ने क्षमता भएका होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गर्न सूचीकृत गरिएको जानकारी दिए ।

सकभर आइसोलेटेड क्षेत्रमा भएका, कम्पाउण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, सामाजिक दूरी कायम गर्न सक्ने होटललाई सूचीकृत गरिएको उनले जानकारी दिए । होटल व्यवसायी महासङ्घ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टिन होटलको सूची सार्वजनिक गरिएको उनको भनाइ छ ।

पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गरिने छ ।

विभागले क्वारेन्टिमा प्रयोग गरिने पर्यटकस्तरका होटलको मूल्य र खानाको मेनु पनि सार्वजनिक गरेको छ । पाँच तारे होटलमा एकल नौ हजार रुपैंया र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति छ हजार रुपैंया तोकिएको छ । यस्तै चारतारे होटलमा एकल आठ हजार रुपैंया र दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार ५०० रुपैंया, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको छ हजार रुपैंया र दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार रुपैंया तोकिएको छ ।

यस्तै दुई तारेमा एकल पाँच हजार रुपैंया र दुई जना भएमा प्रतिव्यक्ति तीन हजार ५०० रुपैंया तोकिएको छ भने एकतारेमा एकल चार हजार रुपैंया र दुई जना भएमा प्रतिव्यक्ति दुई हजार ५०० रुपैंया तोकिएको छ । यस्तै पर्यटकस्तरको होटलमा एकल दुई हजार ८०० रुपैंया र दुई जना भएमा प्रतिव्यक्ति एक हजार ८०० रुपैंया शुल्क तोकिएको छ ।

पर्यटकस्तरको होटलले क्वारेन्टिनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ । तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ ।

Logo