२० मंसिर २०७८ सोमबार

मेलम्ची आयोजना जतिसक्दो छिटो सक्न संसदीय समितिको निर्देशन

काठमाडौं,

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको काम सक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाका विषयमा छलफल गर्न बुधबार आयोजित बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची नआउने समयसम्मका लागि वाग्मतीको पानी प्रशोधन गरी वितरण गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभयो । गत पुसमै इटालियन निर्माण व्यवसायी कम्पनी सिएमसीले ठेक्का तोडी काम छोडेर हिँडेपछि आयोजना अझै अलपत्र छ ।

बैठकमा सांसद लेखराज भट्टले मेलम्चीको पानी वितरण गर्न बिछ्याइएको पाइप फुटेर सडकमा पानीले असर गर्दा पनि व्यवस्थापन हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । जनताले धारा जडान गरेबापत महसुल तिरिराखे पनि ट्याङ्करबाट पानी किनेर पिउन बाध्य हुनुपर्ने अवस्थाका बारेमा सरोकार भएका निकाय सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

सांसद राजेन्द्रकुमार केसीले सिएमसीले नै राखेका ‘सव कन्ट्याक्टर’ लाई कामको जिम्मेवारी दिने भए नौ महीनासम्म के हेरेर बसेको भनी प्रश्न राख्नुभयो । सिएमसीले काम छोडेर हिँडेपछि काम सम्पन्न भएको तथ्याङ्क फरकफरक प्रस्तुत भइरहेकाले वास्तविक कति हो भन्ने जिज्ञासा पनि उहाँले राख्नुभएको थियो ।

सांसद विरोध खतिवडाले सडकमा बिछ्याएको पाइपमा मेलम्चीबाट पानी आउँदा चापमा आउने भए पनि हाल सामान्यरुपमा मात्र हालेर परीक्षण भइरहेकाले पछि हुनसक्ने समस्याका बारेमा अहिल्यै ध्यान दिनेतर्फ सचेत गराउनुभयो । सांसद शरद्सिंह भण्डारीले प्राविधिकले जनप्रिय नाराका रुपमा मेलम्चीको पानी आउने समय अनुमान गर्दा पटकपटक समस्या आएकाले अब मिति घोषणा गर्दा विचार गर्न माग गर्नुभयो । सांसद पार्वतीकुमारी विशङ्खेले आफूले दैनिक तीन जार पानी १५० का दरले महीनामा ६ हजार ५०० पानीमै खर्च गर्ने गरेको सुनाउनुभयो ।

“मेरो त सांसदको तलब भत्ता आउँछ, तिरौँला, सामान्य जनता, विद्यार्थीले कसरी निर्वाह गर्छन्, अन्यत्रको पानी खाँदा स्वास्थ्यमा सङ्कट आउँछ, जनस्वास्थ्यको यो गम्भीर विषयमा सरोकार भएका निकायको ध्यान जानु जरुरी छ”, उहाँले भन्नुभयो ।

सांसद धर्मशीला चापागाईंले राष्ट्रिय गौरवको आयोजना भए पनि मेलम्चीका बारेमा समन्वय नहुँदा काममा ढिलाइ भइरहेको बताउनुभयो । सांसद सूर्य पाठकले आफू १६ वर्ष हुँदादेखि मेलम्ची खानेपानी आयोजनाका बारेमा सुने पनि ४४ वर्ष पुग्दासमेत सम्पन्न हुन नसकेको सुनाउनुभयो ।
रासस

प्रकाशित: १९ भदौ २०७६ ०६:२० बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी