अभिनेत्री प्रियंकाको आक्रोश– के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सिमित छौँ ?

अभिनेत्री प्रियंकाको आक्रोश– के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सिमित छौँ ?

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय एकपछि अर्को गर्दै नेपाली अभिनेत्रीहरुले अनलाईन तथा युट्युब पत्रकारहरूले आफुविरुद्ध प्रशारण गरेका समाचार सामाग्रीहरुको खुलेर विरोध गर्दै आईरहेका छन् ।

केहि दिन अघि सिने पत्रकार तथा निर्देशक प्रकाश सुवेदीले आफुविरुद्ध दिएको अभिव्यक्तिप्रति खरो रुपमा उत्रिएर कलाकार संघमा उजुरी समेत दिन पुगेकी अभिनेत्री पुजा शर्माको ‘महानायिका काण्ड’ सेलाउन नपाउँदै फेरि अभिनेत्री प्रियंका कार्की एक अनलाईनविरुद्ध खनिएकी छिन् ।

एक अनलाईनले ‘संस्कारी प्रियंका’ नामक शिर्षकमा ‘छोरी बिग्रिए बिहे गरिदिनु” भन्ने उखान प्रियंकालाई पुरापुरी मिल्न गएको भन्दै समाचार सार्वजनिक गरेको थियो । उक्त समाचार सामग्रीमा विवाह अघि अर्धनग्न तस्विरहरू मात्र सार्वजनिक गर्ने प्रियंका विवाहपछि पुरै शरिर छोप्ने कपडा लगाउन थालेको भन्दै उनीमाथि व्यंग्य गरिएको थियो ।

समाचार सार्वजनिक भएको केही समयपछि नै प्रियंकाले उक्त समाचारको ‘स्क्रिन सट’को फोटो सेयर गर्दै सामाजिक संजालमा स्टाटस लेखेकी छिन् ।

उनले कहिले आफ्नो द्वेश त कहिले इर्ष्या  पुरा गर्न पत्रकारदेखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा महिला कलाकारहरु बाँचिरहेको लेखेकी छिन् । त्यस्तै उनले ‘के महिला कलाकार सम्मानका लायक छैनन् ?’, ‘के हामी बिक्ने समाचार र हट गसिपमै सिमित छौँ ?’ भनि प्रश्न समेत गरेकी छिन् ।

उनको स्टाटस जस्ताको तस्तै 

के तपाईका छोरीचेली संस्कारी छन् ? छैनन् ? बिहे गरिदिनुस, शरीर ढाकिदिनुस । चुलो–चौको गरे र शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन् । सपना नदेखाउनुस् । करियर र एम्बिसन जस्ता कुरामा नअल्झाउनुस । चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ । बिहे नटिके समाजले कुसंस्कारी भन्छ फेरी । धन्यवाद नागरिक परिवार, अब समाज साँच्चै सुध्रने छ, संस्कारी बन्नेछ । विगत केही समय यता हामी महिला कलाकारहरु निरन्तर यस्ता साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा चिन्ता त लाग्छ नै । साथै एक किसिमको डर पनि लाग्छ । डर यस कारण पनि कि, हामी बिच यस्ता साँघुरो सोच भएका मान्छे मात्र छैनन् । ति मान्छेहरु पुरै समाजलाई ईन्फ्ल्युएन्स गर्न सक्ने ठाउँमा समेत छन् । कहिले आफ्नो द्वेश पुरा गर्न त कहिले इष्र्या । केही पत्रकार देखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा हामी बाँचिरहेका छौँ । कहिले बिक्ने समाचार बनेर त कहिले हिजो आएकाले हेप्ने भन्दै हामी समाजलाई महिला कलाकारहरु तर्फ झनै नकारात्मक बनाउँदैछौँ । के हामिमा अब सोसल रेस्पोन्सिबिलिटी सकिएकै हो त ? आम जनमानसले त्यही बुझ्छ, जे देखाइन्छ । के महिला कलाकार सम्मानका लायक छैनन् ? के हामी बिक्ने समाचार र हट गसिपमै सिमित छौँ ?

Logo