भारतलाई नेपालको जवाफ, ‘गौतम बृद्धको जन्मभूमि बहसको विषय हैन’

भारतलाई नेपालको जवाफ, ‘गौतम बृद्धको जन्मभूमि बहसको विषय हैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेको विषयमा नेपालमा विरोध हुन थालेको छ । परराष्ट्र मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो विवादको विषय नभएको र ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्थापित र अकाट्य तथ्य भएको जनाएको हो ।

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित र अकाट्य तथ्य हो, बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनु भएको थियो ।’

विश्व समुदायलाई समेत बुद्धिज्म नेपालबाट विश्वका मुलुकमा फैलिएको थाहा भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

एस जयशंकरको उक्त अभिव्यक्तिपछि नेपालमा उनको विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एस जयशंकरको यो भनाइ आपत्तिजनक रहेको बताएको छ । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि उनको भनाइ तथ्यहिन तथा आपत्तिजनक रहेको बताएका छन् ।

नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्धलाई भारतले यसअघि पनि पटक–पटक आफ्नो देशमा जन्मिएको बताउँदै आएको छ ।

Logo