कोरोना व्यवस्थापनमा थाहा नगरपालिकाको ४५ लाख ८१ हजार खर्च

कोरोना व्यवस्थापनमा थाहा नगरपालिकाको ४५ लाख ८१ हजार खर्च

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ व्यवस्थापनका क्रममा भएको आम्दानी र खर्चको हिसाब सार्वजनिक गरेको छ । नगरप्रमुख लवशेर विष्टले दैनिक रूपमा आम्दानी र खर्चको हिसाब सार्वजनिक गर्ने गरिएको जानकारी दिए ।

“आर्थिक सुशासन र पारिदर्शिताका लागि हामीले यसो गरेका हौँ, पहिले थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टले पनि भित्तामा टाँसेर हिसाब सार्वजनिक गर्नुहुन्थ्यो, हामी पनि उहाँकै बाटो हिँड्दैछौँ”, नगरप्रमुख विष्टले भने । नगरपालिकाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नगरको विपद् व्यवस्थापन कोषमा हालसम्म रु ५८ लाख ९३ हजार ९१४ जम्मा भएकामा खर्च गरेर रु १३ लाख २२ हजार रहेको छ ।

पछिल्लोे विवरणअनुसार विपद् व्यवस्थापन कोषबाट कोभिड–१९ व्यवस्थापनमा रु ४५ लाख ८१ हजार ८९२ खर्च भएको थाहा नगरपालिका कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिका सचिवालय प्रमुख विवेक बिंडारीले जानकारी दिए । गत चैतको दोस्रो साता बसेको नगरपालिकाको बैठकले कोभिड–१९ व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा नगरका तर्फबाट रु ४० लाख जम्मा गरेको थियो भने वाग्मती प्रदेश सरकारले पठाएको रु १२ लाख पनि सोही कोषमा राखिएको थियो ।

नगरपालिकाले अहिलेसम्म कोभिड–१९ व्यवस्थापनअन्तर्गत स्वास्थ्य संस्था तथा क्वारेन्टिनका लागि आवश्यक औषधि, उपकरण, क्वारेन्टिनका लागि खाद्यान्न, भाँडावर्तन, सरसफाइ सामग्री, प्रचारप्रसार, स्वास्थ्य परीक्षण, यातायात र पैदलयात्रीको रसदपानी आदिमा खर्च गरेको छ । कोभिड–१९ व्यवस्थापनका क्रममा सामग्री खरिद गर्न नगरपालिकाले कार्यपालिका सदस्य वडा नं ६ का वडाध्यक्ष शशिधर सुवेदीको संयोजकत्वमा खरिद समिति गठन गरेको छ ।

“ससाना खरिदबाहेक ठूलो आकारको खरिदमा हाम्रो स्वीकृति अनिवार्य गरेका छौँ । हामी मितव्ययिताको मान्यताअनुसार खर्च गरिरहेका छौँ”, खरिद समितिका संयोजक सुवेदीले भने । नगरपालिका कार्यालयका अनुसार अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाहरुबाट स्यानिटाइजर, भिटिएम, पिपिई, मास्क, राहत सामग्री, ¥यापिड टेस्ट किट, पञ्जा आदि प्राप्त गरेको छ ।

राहत, स्वास्थ्य तथा सरसफाइ सामग्री वितरणमा थाहा नगरपालिकाले एकद्वार प्रणाली अपनाएपछि सोही बमोजिम नगरपालिकाको कोरोना नियन्त्रण समितिमा सहयोग प्राप्त भएको र सोहीअनुसार व्यवस्थापन गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । खरिद गरिएका तथा सहयोग प्राप्त भएका सामग्रीको खर्च भएको अवस्था र बाँकी रहेको विवरण पनि थाहा नगरपालिकाले दैनिक प्रतिवेदनमार्फत सार्वजनिक गर्ने गरेको छ ।

नगरपालिकाले लकडाउन घोषणापछिको अवधिमा १४ हजार ३०० किलो चामल जम्मा भएकामा अहिले तीन हजार २६५ किलो मौज्दात रहेको जनाएको छ । त्यसैगरी केही परिमाणमा दाल, नून, खाने तेल र साबुनसमेत नगरपालिकामा मौज्दात छन् । अनुसार कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न प्रयोग गरिने भिटिएम ५०२ वटा प्राप्त भएकामा २०२ वटा प्रयोग भएर ३०० वटा अझै बाँकी रहेका छन् ।

५०२ मध्ये १८० वटा नगरपालिका आफैँले खरिद गरेको थियो भने ३२२ वटा सहयोगस्वरुप प्राप्त भएको थियो । स्वास्थ्य शाखाका अनुसार नगरपालिकामा सात हजार ४९५ सर्जिकल मास्क, ६ हजार २०० पञ्जा, ७२८ बोतल स्यानिटाइजर र ४७ सेट पिपिई अझै बाँकी रहेका छन् ।

यसरी कोभिड–१९ को व्यवस्थापनका क्रममा भएका सम्पूर्ण विवरण सार्वजनिक गर्दा नागरिकको नगर कार्यपालिकाप्रतिको भूमिका सकारात्मक रहेको र नगर कार्यपालिकालाई व्यवस्थापकीय समीक्षा गर्न सजिलो भएको नगरप्रमुख विष्टले बताए ।

Logo