काठमाडौं ।
चितवन प्रहरीले जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ । बन्दाबन्दीका कारण रोकिएको अभियान बन्दाबन्दी हटेसँगै पुनः शुरु गरिएको हो ।
रात्रिकालीन जाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्तरूपमा सडक सुरक्षा जाँच कार्ययोजना कडाइका साथ लागू गर्दै रात्रिकालीन सवारी जाँचलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा ट्राफिक प्रहरी र जनपद प्रहरीले गत वर्ष माघ २० गतेदेखि सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना, ०७६ लागू गरी रात्रिकालीन सवारी जाँच शुरु गरेका थिए ।
प्रहरी प्रमुख गुरुङले भने, “सवारी व्यवस्थापनदेखि सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्ययोजनासहित प्रहरीले काम गरिरहेको छ, रातको समयमा भएको दुर्घटनामा मानवीय क्षति बढी भएको पाइएकाले जाँचमा कडाइ गरिएको हो ।” उनले जाँचमा आफैँ फिल्डमा खटिएको पनि बताए । मुलुककै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाइअलर्ट’मा बस्नु पर्ने भएकाले सम्भावित दुर्घटनाको न्यूनीकरण गर्न योजनाबद्ध तरिकाले सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा रातिको समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै चितवन ट्राफिकले चालक सचेतना अभियान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।
नारायणगढ–मुग्लिन सडक र नारायणगढ–लोथर सडकमा रातिको ७ देखि १२ बजेसम्मको समयमा आलोपालो गर्दै लोथर, खैरहनी, टाँडी, गोन्द्राङ, आँपटारी र मुग्लिन गरी आठ स्थानमा जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भट्टले जानकारी दिए। उनका अनुसार रातको समयमा भएका दुर्घटनामा मानवीय क्षति बढी भएको र चालकको लापरवाही, तीव्रगति, चालकले मादक पदार्थ सेवन गरी चलाउने, एउटै चालकले लामो दूरीको सवारी चलाउने लगायतका कारण दुर्घटना हुने गरेका छन् ।
विगतको तथ्याङ्क हेर्दा रातको समयमा बढी दुर्घटना हुने गरेकाले रात्रिकालीन समयमा झनै जाँच कडा पारिएको भट्टको भनाइ थियो । यसलाई न्यूनीकरण गर्न रात्रीकालीन समयमा कडाइ गर्न लागेको बताउँदै भट्टले भने, “‘रात्रिकालीन समयमा मापसे गरी सवारी चलाउने, चालक निदाउने, तीव्रगतिमा चलाउने र ट्राफिक नियम मिच्ने जस्ता घटना बढी हुने गरेका छन् ।” जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा कार्ययोजना लागू भएपछि दुर्घटनाको दरमा कमी आउने बताउँदै भट्टले जिल्लामा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको बताए ।रासस





























प्रतिक्रिया