प्रधानमन्त्री ओलीद्वारा बालकोट निवासमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन

प्रधानमन्त्री ओलीद्वारा बालकोट निवासमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका उनी बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि दिउसो बालकोटस्थित निजी निवासमा पुगेका हुन् ।

पत्नी राधिका शाक्यसहित बालकोट पुगेका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गरे। आफ्नो शेषपछि उक्त घरमा ट्रस्ट बनाउने घोषणा गरिसकेका प्रधानमन्त्री ओलीको जीवनकालका विभिन्न पक्ष समेटिएका विषय, तस्बीर, पुस्तक, महत्वपूर्ण दस्तावेजलाई पत्नी राधिका शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रुपमा गरेको व्यवस्थापनको उनले अवलोकन गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताए । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले अब बालकोट कहिले फर्किने भनेर जिज्ञासा राख्दा ओलीले अब अढाइ वर्षपछि फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बाँस्कोटा र पूर्वमन्त्री बस्नेतसँग राजनीतिक छलफलसमेत गरेका थिए । जनताको विश्वासलाई कायमै राख्न पनि अर्का अध्यक्ष प्रचण्डसँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको सांसद बस्नेतले जानकारी दिए । मुलुक र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको प्रधानमन्त्रीले बताएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले बालुवाटारमा आज प्रचण्डसँगको छलफलमा जेरी खाएर छुट्टियौं, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीते करेला खुवाएर कुरा गर्नुपर्छ भन्नुभएको सांसद बस्नेतले जानकारी दिए । बालकोट निवासमा प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्नेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोटका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतको टोलीसँग भक्तपुरको शान्ति सुरक्षाबारे जिज्ञासा राखेका थिए ।रासस

Logo