कोभिड–१९ को जोखिम बढेको भन्दै गृह मन्त्रालयले रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ ।
जोखिम बढेकाले दिउसोको समयमा समेत विहिबारदेखि उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्णरुपमा रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लाबाट उपत्यका आउने यात्रुको प्रवेश नाकामा परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएकाले कडाइ गर्न निर्देशन दिएको उल्लेख छ ।
यस्तै काठमाडौँ उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्नसमेत भनेको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा बिहिबार मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार काठमाडौंमा ४१, भक्तपुरमा ५ जना र ललितपुरमा २ जनामा संक्रमण देखिएको हो । उपत्यकामा गत बुधबार १५ जना र मंगलबार ५३ जना थपिएका थिए ।
यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ५३९ पुगेको छ । जसमा काठमाडौंमा ३९१ जना, ललितपुरमा ९२ र भक्तपुरमा ५६ जना रहेका छन् ।
यसैबीच कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सीसीएमसी निर्देशक समिति बैठकले लक डाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकता अनुसार संक्रमण देखिएको ठाउँ सिल गरेर पीसीआर परीक्षणको दायरा बढाइने बताए ।
भाद्र १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिएको छ । पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको पीसीआर परीक्षण गरिहेको सरकारले अब प्रवेश विन्दुमा नै क्वारेन्टिन व्यवस्थापन गर्ने भएको छ ।
काठमाडौं प्रवेश गर्ने नाकामा गरीएको परीक्षणमा संक्रमण देखिन थालेपनि प्रवेश नाकामै क्वारेन्टिनको व्यवस्था गरिने उनले बताए । बैठकले लक डाउन खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण रुपमा पालना नभएका कारण संक्रमणको जोखिम बढेको सीसीएमसीले ठहर गरेको छ । यस्तो अवस्थामा संक्रमणलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । बिहिबार मात्रै २७४ जना संक्रमित थपिएका थिए । त्यस्तै गत बुधबार २१० जना थपिएका थिए भने मंगलबार ३११ जना थपिएका थिए । गत सोमबार १३९ जना थपिएकोमा आइतबार १३० जना थपिएका थिए ।
बिहिवार कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु पुष्टि भएको थियो । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
यस्तै निको हुनेको संख्या १४ हजार २४८ जना पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ५ जिल्ला कोरोना मुक्त भएका छन् ।
सरकारले कोरोनाको जोखिम अनुसार स्थानीय निकायले सावधानी अपनाउने नीति ल्याएको छ । जस अनुसार कोरोनाको जोखिम बढेमा स्थानीय निकायले नै सो क्षेत्र सिल गर्न सक्छन् । संक्रमितको संख्या बढेसँगै अहिले विराटनगर, वीरगञ्जलगायतका शहरहरु सिल गरिएका छन् ।
कोरोना संक्रमितको ग्राफ एकाएक बढेको भन्दै जनस्वास्थ्यविज्ञहरुले पनि थप सतर्कता अप्नाउन आग्रह गरेका छन् । जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेले सरकारले कन्ट्याक्ट ट्रेसिंग तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको पहिचान हुने बताउँछन् ।
पछिल्लो समयमा तराइका बिभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेको अवस्थामा सुरक्षित हुनको लागि काठमाडौं उपत्याका प्रवेश गर्ने व्यक्तिहरुको संख्या उल्लेख्य रहेको उनको भनाइ छ । यसले गर्दा काठमाडौं उपत्यका थप जोखिमयुक्त बनेको छ । ४० लाख जनसंख्या रहेको कचौराजस्तो काठमाडौं उपत्याकामा कोरोना संक्रमण समुदायमा फैलियो भनेस्वास्थ्य प्रणालीले धान्न नसक्ने भएकाले सरकारले आवागमनमा भएको फितलोपनलाई नियमन गर्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै भारतसंग सिमा जोडिएको तराइ क्षेत्रमा परीक्षण निकै कम भएको र पहिले संक्रमणको चपेटामा परेका पहाडी क्षेत्र तथा अन्य सहरी क्षेत्रको परीक्षण दयनीय रहेकाले यी क्षेत्रमा संक्रमण बढ्दो गतिमा देखिएको उनले बताए । ‘परिक्षणको दर जति बढायो, त्यति धेरै संक्रमितको पहिचान हुनेछ, जति धेरै संक्रमित पहिचान भयो त्यति धेरै समाज सुरक्षित हुन्छ, संक्रमण नियन्त्रण हुन्छ ’ उनले भने ।
सिंगो देशमा ब्यापक परीक्षण गरेर रेड, एल्लो र ग्रीन जोन निक्र्याैल गर्ने हो भने कोरोना संक्रमण नियन्त्रण गर्ने रणनीति बनाउन धेरै सजिलो हुने उनको तर्क छ । यसरी रेड जोनलाई लकडाउन गर्ने वा आबश्यक परे कर्फ्यु लगाउने, एल्लो जोनमा कडाइ गर्ने तथा ग्रीन जोनमा जनस्वास्थ्यका मापदण्ड अपनाएर यातायात लगायतका गतिबिधि सुचारु गर्न सकिने उनको सुझाव छ ।
सरकारले हतार गरेर तथा बैज्ञानिक बिधि नअपनाएर हचुवाको भरमा सबै क्षेत्र खोल्यो भने ती क्षेत्र संचालन नहुने तथा जोखिम निकै बढेर दोहोरो खतरा हुन सक्ने उनको भनाइ छ ।





























प्रतिक्रिया