काठमाडौँ महानगरको अपिल-‘गाईजात्रा लगायत पर्वको विधि पूरा गरौँ, भिडभाड नगरौँ’

काठमाडौँ महानगरको अपिल-‘गाईजात्रा लगायत पर्वको विधि पूरा गरौँ, भिडभाड नगरौँ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । महानगरको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गरेका छन्।

‘पछिल्ला दिनमा काठमाडौँ महानगरसँगै उपत्यका भरी नै कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ,’ प्रमुख शाक्यले भने, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाए । लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेहरुको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।’

शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था भयावह हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘अहिलेसम्मको रिपोर्टलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी संक्रमण देखिएको छ,’ उनले भने, उनीहरुबाटै समूदायमा समेत कोरोना संक्रमण फैलिन सक्ने सम्भावना भएकाले सबै भन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ । कोरोना संक्रमण फैलिन नदिनका लागि घरधनी र सर्वसाधारण पनि सचेत हुनुको अर्को विकल्प छैन ।’

उनले संघीय सरकारले उपत्यका प्रवेश गरेपछि उनीहरुलाई पीसीआर गर्ने र उपचार गर्ने भन्दा पनि जथाभावी उपत्यका प्रवेश गर्ने कुरालाई नै प्रवेश विन्दुबाटै नियन्त्रण गर्नेमा ध्यान दिनु पर्नेमा जोड दिए । ‘हामीले पहिलादेखि नै जथाभावी उपत्यका प्रवेश गराएर शान्त तलाउमा ढुंगा हान्ने काम गर्नुहुन्न भन्दै आएका छौँ । हामी अहिले पनि त्यो अडानमा अडिक छौँ’ उनले भने ‘उपत्यका बढी जनघनत्व भएको ठाउँ हो । यहाँ कोरोना संक्रमणको जोखिम बढ्यो भने नियन्त्रण बाहिर जाने खतरा बढ्छ र हामी सबैलाई जोखिम बढी हुन्छ ।’

वैठक अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले काठमाडौँ जस्तो जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने जटिल समस्या आउन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे। उनले पछिल्लो समय भारतबाट विभिन्न कामका शिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा बढी संक्रमण देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले नाका–नाकामा पीसीआर गर्दै आएको स्मरण गराउँदै स्थानीय तहलाई पनि त्यस्ता व्यक्ति आएको थाहा पाए अनिवार्य रुपमा १४ दिन क्वारेन्टायनमा बस्न लगाउन आग्रह गरे। उनले त्योसँगै परिक्षणको दायरामा ल्याउन सहयोग पनि माग गरे ।

‘पछिल्लो समय लकडाउन खुलेसँगै रोग नियन्त्रणमा आयो भन्ने हिसावले लापरवाही गर्दा थप समस्या भएको छ,’ उनले भने ‘मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरीकाले प्रयोग नगर्ने गर्दा संक्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत वढी संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।’ गाईजात्रा लगायत पर्ववको विधि पूरा गरौँ, भिडभाड नगरौँ महानगरले गाईजात्रा लगायतका अन्य चाडपर्वलाई पनि विधि पुर्याउन घर–घरमै मनाए पनि भिडभाड भने नगर्न आग्रह गरेको छ ।

दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाउँदै आएको गाईजात्रा पर्वलाई यो पटकका लागि विधि पूरा गरेर आ–आफ्नो घरमा मात्रै मनाउन पनि उनले आग्रह गरेका छन् । उनले ‘यस्तो विषम परिस्थितिमा मेरो घरमा मात्रै होइन अन्यको घरमा पनि कोही न कोही दिवंगत भएको छ । त्यसैले यस्तो पीडा मलाई मात्रै होइन अर्को घर–परिवारलाई पनि परेको छ भन्ने महशुस गरी यो पटक भिडभाडका साथ नमनाई दिनुहुन महानगरवासीमा आग्रह गरे ।’

बैठकले महानगर विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि ०७७, मैतिदेवी मन्दिर व्यवस्थापन कार्यविधि, ०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधी, ०७७ पनि पारित गरेको छ । त्यसैगरी काठमाडौँ महानगरपालिका वडा–९ को भवन निर्माणको भेरिएसन स्वीकृत गर्ने लगायतलाई पनि स्वीकृत गरेको छ ।

Logo