दुई महाशक्ति राष्ट्रबीचको कूटनीतिक टकराव

दुई महाशक्ति राष्ट्रबीचको कूटनीतिक टकराव

केन्द्रबिन्दु
0
Shares

  • केन्द्रविन्दु विशेष सम्वाददाता

विश्वका दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीचको कूटनीतिक तनाव यतिबेला सतहमा आएको छ । गत वर्षदेखि शुरु भएको दुई मुलुकबीचको ब्यापार युद्ध यतिवेला इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ ।

विश्वकै दुई ठूला आर्थिक शक्ति राष्ट्रबीच बढ्दो कुटनीतिक तनावकाबीच अमेरिकाले चीन सरकारको आदेश अनुरुप छेंन्दुमा रहेको आफ्नो वाणिज्य दुतावास औपचारिक रुपमा गत सोमबारबाट बन्द गरेको छ । यो संगै अब आउँदा दिनमा दुई महाशक्ति राष्ट्रबीच बढिरहेको कूटनीतिक संकटको मुल्य बाँकी विश्वले पनि चुकाउनुपर्ने विश्लेषण गरिंदैछ ।

अघिल्लो साता अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन शहरमा रहेको चीनिंया महावाणिज्य दूतावास बन्द गर्न अमेरिकाले दिएको आदेशको बदलामा चीनले पनि ७२ घण्टे कदम चालेको हो । छेंन्दुमा सोमबार समयसीमा सकिनु अगावै कर्मचारीले अमेरिकी दूतावास लेखिएको साइन बोर्ड हटाउनुका साथै त्यहां रहेको अमेरिकी झण्डा निकालेका थिए । कुनै पनि प्रतिस्पर्धी मुलुकबीचको सम्बन्ध यसरी झण्डा निकाल्ने तहसम्म पुग्नु पक्कै पनि सहज अवस्था होइन ।

त्यो तहको आक्रोश किन पनि देखिएको हो भने, अमेरिकाले आफ्नो दूतावास बन्द भए लगत्तै ह्युस्टनमा अमेरिकी सैनिक पछाडिको ढोकाबाट पसेको भन्दै चीनले आपत्ति जनाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले चीनमाथि अमेरिकाको बौद्धिक सम्पति र अमेरिकी नागरिकको ब्यक्तिगत सुचना चोरेको आरोप लगाएको छ । त्यसलाई जोगाउन यस्तो निणर्य लिनुपरेको अमेरिकी विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

यता, अमेरिकी आदेशलाई राजनीतिक उत्तेजना भनी बेइजिगंले प्रतिक्रिया दिएको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता वागं वेनवीनले पत्रकार सम्मेलनमार्फत अमेरिकी कदम घृणित र अनुचित भएको बताएका छन् । उनले अमेरिकी कदमको निन्दा गर्दै यो अन्तर्राष्ट्रिय कानुन विपरित भएको समेत बताए ।

गत वर्षदेखि शुरु भएको दुई मुलुकबीचको ब्यापार युद्ध र कोरोना भाइरसलाई लिएर एकअर्कामाथीको दोषारोपण जारी रहेकै बेला हगंकगं मामलालाई लिएर अमेरिका बेइजिगंसंग पुनः चिढिएको छ । चीनले हगंकगंमा हालै लागु गरेको सुरक्षा कानूनलाई लिएर दुई मुलुकबीच कूटनीतिक संकट बढिरहेकै बेला अमेरिकाले कन्सुलेट बन्द गर्न आदेश दिएको थियो ।

विश्लेषकहरुले दुई महाशक्ति राष्ट्रबीच देखिएको कूटनीतिक संकटले अन्तर्राष्ट्रिय राजनीतिलाई क्षति गर्ने विश्लेषण गरेका छन् । अमेरिकामा चीनका वासिगंटन डीसीमा दूतावाससहित अन्य पांच शहरमा महावाणिज्य दूतावास रहेको छ भने चीनको राजधानी बेइजिगंमा अमेरिकाको दूतावाससहित अन्य चार शहरमा महावाणिज्य दूतावास रहेको छ ।

दुई महाशक्ति प्रतिशपर्धी राष्ट्रले एक अर्काका देशमा रहेका वाणिज्य दूतावास हटाउनु पक्कै पनि सहज परिस्थिती होइन । तर, विश्वकै दुई ठूला मुलुकबीच आपसी अविश्वास र कूटनीतिक संकट कुन हदसम्म विफल हुदैछ भन्ने यी घटनाक्रमले छताछुल्ल पारेको छ ।

यति सम्मकी, जारी संकटले दुई मुलुकबीचको जनसम्पर्क पनि टुट्ने खतरा बढेको छ । किनभने, अमेरिकाले वाणिज्य दूतावासबाट आफ्ना सामान निकाल्दै गर्दा त्यसलाई हेर्न चीनिंया सर्वसाधारणको ठूलो भिंड लागेको थियो भने उनीहरुले अमेरिका पछि हटेको भन्दै नारा लगाउदै खुशियाली साटिरहेका थिए ।

छेंन्दुमा अमेरिकाले सन् १९८५ मा यो वाणिज्य दूतावासको स्थापना गरेको थियो । तीब्बतलाई नजिकबाट नियाल्न भन्दै अमेरिकाले छेंन्दुमा आफ्नो कार्यालय राखेको हो । साढे तीन दशक पुरानो यो कार्यालय बन्द भएको हेन हेनान, सियान, हुवेईलगायतका टाढाका प्रान्तबाट समेत सर्बसाघारण छेंन्दु पुगेका थिए ।

कति चीनिंया नागरिकले त समकालिन अन्तर्राष्ट्रिय राजनीतिमा यो निकै महत्व र दीर्घकालिन प्रभाव पर्नसक्ने विषय भएको ठानेका छन् । त्यसैले विश्लेषकहरुले महाशक्ति राष्ट्र अमेरिका र चीनको पछिल्लो टकरावको मुल्य आउंदा केही वर्षसम्म विश्वले नै चुकाउनुपर्ने बताइरहेका छन् ।

चार वर्ष अघि अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता चीनसंगको सम्बन्ध ओह्रालो लाग्न थालेको थियो । दुई मुलुकबीचको संकटग्रस्त सम्बन्धको प्रभाव अघिल्लो वर्षदेखि नै विश्व ब्यापारले भोगिरहेको छ । यी दुई मुलुकले आफुले एकअर्काका मुलुकबाट आयात गरिने सबै सामाग्रीमा अत्याधिक कर लगाएका छन् । दुई ठूला अर्थतन्त्र मुलुकको एकअर्का विरुद्धको यस्तो रबैयाले समग्र विश्व अर्थतन्त्रलाई नै प्रभाव पारिरहेको छ ।

यी दुई मुलुकबीच यतिसम्म सम्बन्ध बिग्रिएको छ की, अघिल्लो महिना अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले आफुलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न रोक्ने प्रयास गरिरहेको बताएका थिए । उनले सार्वजनिक मञ्चबाटै बेइजिगं आफुलाई हराउन लागिपरेको बताएका थिए ।
जवकी, अघिल्लो निर्वाचन पनि ट्रम्पले रुसका कारण जितेको भन्ने आरोप ब्यहोरीरहेका छन् । समग्रमा, अमेरिकामा अस्थिर राष्ट्रपतिको ह्वाइट हाउस प्रवेशसंगै विश्व राजनीति संकटमय बनिरहेको विश्लेषण गरिंदैछ ।

अमेरिकामा आउंदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । दोस्रो कार्यकालका लागि लडिरहेका ट्रम्प पुनः निर्वाचित भए यसले विश्व राजनीति र अर्थतन्त्रलाई थप क्षति गर्ने चीनको बुझाइ छ । त्यसैले पनि चीन डेमोक्रेटिक उमेद्वार जो बाइडेनले जितुन् भन्ने चाहिरहेको हुनसक्छ, जसले समग्र विश्व ब्यवस्थालाई पुनः ट्रयाकमा ल्यान मद्धत गर्नेछन् ।

Logo