गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउन माधव नेपालको माग

गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउन माधव नेपालको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनु पर्ने आवाज फेरि एक पटक उठेको छ । वि.सं.०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले शिलान्यास गरेको तथा वि.स.०७६ साल जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेको गणतन्त्र स्मारक र निर्माणको क्रममा रहेको गणतन्त्र संग्रहालय नारायणहिटीबाट हटाउनु पर्ने आवाज सत्तारुढ दलभित्रैबाट उठेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनु पर्ने बताए । नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भए पनि गलत तरिकाले बनाइएको उनको भनाई छ । राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाएर अन्य ठाउँमा निर्माण गर्नुपर्ने नेता नेपालको भनाइ छ ।

पटक पटक गणतन्त्र स्मारक हटाउनु पर्ने धारणा राख्दै आएका नेता नेपालले बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नु पर्ने बताए । नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरुको पुरानो जग देखिने गरी विकास गर्नु पर्ने धारणा उनको छ ।

यता नारायणहिटी दरबार संग्रहालय भने स्मारकको निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने समय कुरिरहेको छ । लकडाउनका कारण तत्काल सम्भव नभए पनि सरकारले संग्रहालयहरु खुला गर्ने निर्णय सरकारले गरेपछि सर्वसाधारणका लागि खुला गरिने नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विभागले स्मारक निर्माण सम्पन्न गरी गत माघ ३ गते नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरिसकेको छ ।

गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने व्यक्तिहरुको सम्मानमा स्मारक निर्माण भएको र गणतन्त्र संग्रहालय डेढ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए । सहिदहरुप्रति गरिने सम्मान, श्रद्धाञ्जलीका कार्यक्रम यसअघि सहिद गेटमा गरिँदै आएकोमा अब गणतन्त्र स्मारक भित्रै गरिने उनले बताए । ९ वर्ष मुनि र ७० वर्षमाथिका नागरिकहरुका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिने उनले बताए । स्मारकभित्र निर्माण भएको स्टेडियममा हरेक शुक्रबार कार्यक्रम गर्ने योजना अनुसार गृहकार्य भइरहेको पनि उनले बताए । उपत्यकामा बसोबास गर्ने नागरिक र विदेशबाट आउने पर्यटकहरुको प्रमुख गन्तव्यस्थलको रुपमा विकास गरिने उनले बताए । एउटै टिकटले नारायणहिटी संग्रहालय, गणतन्त्र संग्रहालय र गणतन्त्र स्मारकको अवलोकन गर्न पाइने उनले बताए ।

स्मारकमा हिमाल, पहाड र तराई झल्किने गरी बालुवा, गिट्टी, सिमेन्ट लगायत सामग्रीले नेपालको नक्सा बनाइएको छ । यद्यपी नेपालको अद्यावधिक नक्सा अनुसार त्यसलाई परिमार्जन गर्न बाँकी रहेको छ । कालापानी, लिपुलेक र लिम्यिाधुरा सहितको भूमि जोड्ने काम छिट्टै सुरु हुने उनले बताए । स्मारकको छानाबाट प्रकाशका राता किरण खसाइएको छ । आन्दोलनका क्रममा मृत्यु भएका, बेपत्ता पारिएका, हराएका र अंगभंग भएकाहरूको स्मरण गराउने गरी स्मारकमा चारवटा स्तम्भ निर्माण गरिएका छन् ।

स्मारकमुनिका दुई तलामध्ये पहिलोमा गणतन्त्र प्राप्तिका क्रममा खिचिएका तस्बिर राखिनेछन् । दोस्रो तलामा नेपालको संविधान सम्बन्धी विभिन्न विषयवस्तु संग्रह गरिनेछन् । स्मारक वरिपरि बगैँचा निर्माण गरिएको छ । दरबार क्षेत्रको पूर्वी भागमा बनाइएको स्मारकभित्र पार्क र भूमिगत हल पनि छ । स्मारकले ३५ रोपनी क्षेत्रफलमा ओगटेको छ । वि.स. ०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको तथा वि.सं. ०७६ साल जेठ ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

Logo