काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको साधारण सभा स्थगित भएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहेका ढकालले असन्तुष्टि व्यक्त गरेका हुन् । कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलिएको उनको आरोप छ । साधारण सभा गर्न सक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाई निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएको उनले बताए । यसले महासंघमा गलत प्रवृति विकास भएको र स्यालले कुखुरा लग्योभन्दा पनि स्याल पल्कियो भन्ने चिन्ता बढेको उनको भनाइ छ ।
साधारण सभा स्थगित गरेर अर्को मिति तय नहुँदा कानुनी मात्र नभई नैतिक र सामाजिक जग समेत कमजोर भएको ढकालले बताए । उनले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी समेत गरे । असामान्य परिस्थितिमा महासंघलाई सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता रहेको भन्दै आवाज उठाउँदा पदमा पुग्न हतार गरेको आरोप आफूमाथि लागेको ढकालको गुनासो छ । उनले कोभिड–१९ को महामारीको अवस्थामा महासंघका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारण सभाका लागि सरकारलाई निवेदन दिएको तर सरकारको जवाफ नआउँदै अनिश्चित कालका लागि निर्वाचन धकेल्ने निर्णय हुनु दुःखद भएको उनले बताए ।
कोभिडका कारण गत चैतमा साधारण सभा हुन नसकेपछि महासंघले साउन २६ र २७ मा निर्वाचन गर्ने निर्णय गरेको थियो । महासंघको पदाधिकारी बैठकले कोभिड संक्रमणको जोखिम अझै पनि रहेको भन्दै देशमा पूर्ण रुपमा सबै क्षेत्र खुलेपछि मात्रै साधारण सभा गर्ने निर्णय गरेको थियो ।





























प्रतिक्रिया