काभ्रेमा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम शुरु

काभ्रेमा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम शुरु

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रे जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको हो ।

असार ३१ गतेदेखि शुरु गरिएको विवरण भर्ने क्रममा आजसम्म ६१ जनाले भरिसकेको विवरण दर्ता अपरेटर सीता भण्डारीले बताइन् । “विवरण भर्नका लागि पहिला हामीले फोटो खिच्छौं, त्यसपछि औँंठाछाप, डिजिटल हस्ताक्षर लगायतका विवरण भरेपछि आधिकारिक प्रतिनिधिबाट स्वीकृत भएपछि हामीले सम्बन्धित व्यक्तिलाई एक प्रति दिन्छौँ र एक प्रति कार्यालयमा राख्छौँ”, उनले भनिन् , “माथिबाट परिचयपत्र तयार भएर आएपछि बोलाएर वितरण गर्नेछौँ ।” राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेहरुका लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको कक्षमा दुई जना विवरण दर्ता अपरेटरले काम गरिरहेको छ ।

व्यक्तिको सबै विवरण लिनका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको काभ्रे जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमार्गांइले बताइन् । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागबाट सो कार्य भइरहेको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालयलाई सिसिटिभी हस्तान्तरण

धुलिखेल नगरपालिकाले बजार क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले बजार क्षेत्रमा जडान गरिएको सिसिटिभी जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने गरी हस्तान्तरण गरिएको छ ।

बजारको विभिन्न क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने काम सम्पन्न भएपछि नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सिसी क्यामेरा विभिन्न शहरमा राखेको पाए पनि त्यसको अनुगमन, निगरानी र मर्मतसम्भार कहीँ पनि राम्रो नभएकाले त्यसको व्यवस्थापन र संरक्षण जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिएको बताए । धुलिखेलको मुख्य बजारक्षेत्र हुँदै मुख्य सडक अरनिको र बीपी राजमार्ग, पनौती जाने सडकमा भए गरेका गतिविधिलाई निगरानी गर्दै शान्ति सुरक्षाको व्यवस्था गर्नमा सहयोग पुग्ने उनले बताए । चालु आवमा थप ३० स्थानमा सिसिटिभी जडान गरिने उनको भनाइ थियो ।

कार्यक्रममा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सिसीटिभी जडानको कार्यले अब धुलिखेल नगरपालिकालाई अपराधमुक्त नगरपालिकाका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए । नगरपालिकाको करिब १५ लाखमा नगरका विभिन्न १० स्थानमा सिसी क्यामेरा जडान गरेको र त्यसको निगरानी जिल्ला प्रहरी कार्यालयबाट भइरहेको जनाइएको छ ।रासस

Logo