पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी ठाउँमा पहिरो, चारकिलोको पहिरो अझै खुलेन

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी ठाउँमा पहिरो, चारकिलोको पहिरो अझै खुलेन

केन्द्रबिन्दु
0
Shares

चितवन ।

निरन्तर वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेपछि नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा सोमबार दिनभर पहिरो पन्छाउने काम शुरु गर्न सकिएन । मङ्गलबार बिहानबाट मात्र मौसम अनुकूल भएमा पहिरो पन्छाउने काम थालिने भएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार काम थाल्नै नसके पछि साँझबाट त्यहाँ भएका उपकरण र जनशक्ति पृथ्वी राजमार्गको पहिरो पन्छाउने काममा परिचालन गरिएको छ । चारकिलोमा ठूलो पहिरोसँगै साना पहिराहरु खसेका छन् । पहिरो पन्छाउन नपाउँदै माथिबाट थप पहिरो खस्ने समस्या भएपछि काम अघि बढ्न नसकेको हो ।

ईच्छाकामना गाउँपालिका–६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलब पाँच किलोमिटर दूरीमा पर्दछ । अधिकारीका अनुसार पहिरोले करिब ६० मिटर क्षेत्र ढाकेको छ । सो सडकको अन्य पहिरो खस्न सक्ने ठाउँमा नियन्त्रणको काम भइसकेको भए पनि त्यसस्थलमा काम गर्न शुरु गरे लगत्तै पहिरो खस्न थालेको हो । सो सडकखण्डमा ठाउँठाउँमा खसेका साना पहिरो भने पन्छाउने क्रम जारी नै छ । चार किलो नजिकै चोर खोलामा खसेको पहिरो भने पन्छाउन बाँकी रहेको कार्यालयका ई शिव खनालले जानकारी दिए ।

र याे पनि

पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी ठाउँमा पहिरो

लगातारको वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध छ । अधिकारीका अनुसार सो सडकखण्डका २०० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो रहेका छन् । चितवन र धादिङ जोड्ने मौवा खोलाको धादिङतर्फको पुल र राजमार्ग जोड्ने १२ मिटरभन्दा बढी भागमा खोला हिँडेको छ । उनका अनुसार सो खण्डको मौवा खोला, जोगिमारा, चेरेस, जवाङ्ग खोला, चुम्लिङ्टार लगायतका ठाउँमा पहिरो खसेका छन् ।

ई खनालले मौवा खोलाको पुल र सडक जोड्ने एप्रोज मर्मत सम्भार निकै कठिन भएको बताए । उनले भने, “त्यो काम गर्न केही दिन लाग्छ ।” साना–ठूला पहिरो हटाउन धेरै समय नलागे पनि मौवाखोलाको पुल नजिकैको बगेको भाग मर्मत गर्न समय लाग्ने उनले बताए । सडक ठाउँठाउँमा अवरुद्ध भएपछि अत्यावश्यक कामले हिँडेका यात्रु, बिरामी र मालवाहक सवारी रोकिएका छन् ।रासस

Logo