‘ओलीसँग मिलेर अगाडि बढ्नुको विकल्प छैन’–प्रचण्ड

‘ओलीसँग मिलेर अगाडि बढ्नुको विकल्प छैन’–प्रचण्ड


काठमाडौं ।

पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र देखिएको विवाद मिलाउन ओलीसँग सहमति गर्नुपर्ने धारणा राखेका छन् । प्रचण्डले सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्दै त्यस्तो धारणा राखेका हुन् । प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो–‘सहमति ठ्याक्कै बनिसकेको छैन । समझदारी केपी ओलीसँगै गर्नुपर्छ । कि पार्टी फुट्नु पर्यो होइन भने त्यही गर्नुपर्छ । समझदारी, असमझदारी, झगडा जे गरे पनि आखिर त्यही हो । अरूसँग कुरा मिलाएर त हुदैन । अन्तिममा ओलीसँगै सहमति गर्नु नै छ ।

आजको खुमलटार छलफलमा प्रचण्डले आफूले माधवकुमार नेपाल पक्षको साथ नछोडको स्पष्ट पारेका थिए । अर्लि महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई स्वीकार गरेर नेपाल पक्षलाई धोका दिएको भन्ने समाचार विवरणहरु सार्वजनिक भए पनि आफूले ओलीसँग कुनै सम्झौता नगरेको प्रचण्डले ब्रिफिङ गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । त्यस्तै प्रचण्डले करिब १ महिना भन्दा बढी समयसम्म पार्टीभित्रको विवाद कायमै रहेकाले पार्टी एकता बलियो बनाउन जसरी पनि ओलीसँग सहमति गर्नुपर्नेमा जोड दिएका थिए । साथै उनले पार्टी एकतालाई टुंगोमा पुर्याउन अंकगणितलाई मात्र हेर्न नहुने धारणा राखेका थिए । महाधिवेशन आगामी मंसिरमा नहुनेमा आफू स्पष्ट भए पनि दुवै पद नछाड्ने अडान कसेका ओलीले कमसेकम एउटा पद अर्लि महाधिवेशनमार्फत छोड्न तयार भएकाले आफूलाई उपयुक्त लागेको प्रचण्डले धारणा राखेको अर्का स्थायी कमिटी सदस्यले जानकारी दिए ।

सोमबार बिहानको बैठकमा करिब तीन घण्टा भन्दा बढी छलफल गरिएको स्रोतले जानकारी दियो । नेकपाभित्रको विवाद साम्य पार्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नै बढी अग्रसर देखिनु पर्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।
नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नु पर्ने माग राख्दै आएका थिए । तर ओलीले कुनै पनि हातलमा दुवै पद नछाड्ने बरु पार्टीले आफूलाई कारबाही गरे पार्टी फुटाउने चेतावनी दिएका थिए । दुवै पक्ष आ–आफ्नो अडानमा अडिक हुँदा गत असार १० देखि जारी स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

पार्टीभित्र देखिएको विवाद साम्य पार्न दुई अध्यक्ष पटक पटक वान टु वान वार्तामा जुट्दै आए पनि कुनै ठोस निष्कर्ष भने आउन सकेको थिएन । जसरी पनि ओलीले दुवै पद छाड्नु पर्ने माग राख्दै आएका प्रचण्डले शनिबारको सचिवालय बैठकमा ओलीसँग मिल्नु पर्ने मत राखेका थिए । शनिबारको सचिवालय बैठकमा ओलीले प्रधानमन्त्रीको कार्यकाल पूरै अवधि चलाउने र अर्लि महाधिवेशन मार्फत आफूले पार्टी अध्यक्ष छोड्ने र प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै प्रचण्डले दुवै पक्ष मिल्नुको विकल्प नभएको मत राखेका थिए ।

Logo