काठमाडौं ।
सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ ।
नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी सीमावर्ती क्षेत्रमा सडक तथा अन्य संरचना खडा गरिएका कारण वर्षाको समयमा ठूलो क्षति हुने गरेको छ । यस्तै पानीको प्राकृतिक बहाव रोकिने गरी निर्माण भएका संरचनाले पनि सीमावर्ती क्षेत्रमा समस्या पर्दै आएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार मानव निर्मित संरचनाका कारण सीमावर्ती क्षेत्रमा परेको समस्या समाधानका लागि पहल थालिएको छ । सोही पहल अनुसार नै भारतसँग वार्ता गर्न लागिएको हो । ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई समस्या समाधानका लागि तत्काल पहल थाल्न निर्देशन दिएका हुन्।
मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआईएफएम) को बैठक तत्काल आयोजना गर्न भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिएको उनका सचिवालयले जनाएको छ ।
दुवै देशका सह–सचिवस्तरीय उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन् । “बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ”, मन्त्री पुनले भने “समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर बैठक आयोजना गर्नुस् ।”
उनले मनसुनको समयमा बाढी पहिरोको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन् । “बाढी, पहिरो र डुबानका कारण मानवीय तथा अरू क्षति नहोओस् भन्नेमा सचेत भएर काम गर्नुस्” मन्त्री पुनले भने, “अकल्पनीय अवस्था आएमा जनशक्ति र साधन स्रोतको समेत कमी हुनु भएन ।”
उनले मन्त्रालयको राजनीतिक नेतृत्वका हिसाबले साधनस्रोतको कुनै कमी हुननदिने स्पष्ट गर्दै आपतकालीन अवस्थामा मन्त्रिपरिषदबाट निर्णय गरेर भए पनि उद्धार तथा प्रकोप रोकथाममा लाग्न कर्मचारीलाई आग्रह गरे । बाढी पहिरोको अवस्थाबारे जिल्लास्थित मन्त्रालय अन्तर्गतका निकायबाट सूचना सङ्कलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि उनले निर्देशन दिए ।
नियमित कार्यतालिका अनुसार संयुक्त समितिको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठले जानकारी दिए । “नियमित बैठक हरेक वर्षको नोभेम्बरमा बस्ने कार्यतालिका हो” सचिव श्रेष्ठले भने, “मन्त्रीज्यूबाट निर्देशन भए अनुसार हामी तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गर्छौं ।”
सचिव श्रेष्ठले भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको जानकारी दिए । छलफलमा सचिव श्रेष्ठ, विभागका महानिर्देशक राजभण्डारी, उप–महानिर्देशक प्रदीप थापा लगायतले बाढी, पहिरो र डुबानको अवस्थाबारे जानकारी गराएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।रासस





























प्रतिक्रिया