तनहुँ पहिरो अपडेट, मृतकको सङ्ख्या ११ पुग्यो

तनहुँ पहिरो अपडेट, मृतकको सङ्ख्या ११ पुग्यो


तनहुँ ।

पहिरोले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव मंगलबार भेटिएको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए । निरन्तरको प्रयासपछि दिउसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । यो सँँगै तनहुँमा पहिरोले पुरिएर निधन हुनेको सङ्ख्या ११ पुगेको छ । यसअघि सोमबार दश जनाको शव फेला परेको थियो । व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन् । उनको पनि खोजी कार्यलाई जारी राखिएको छ ।

पहिरोले पुरिएर ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलेका एकै परिवारका पाँच, व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको छ ।

पहिरोले पुरिएर घाइते व्यास नगरपालिका–९ माझफाँटका ५० वर्षीय केशव थापा, सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवर र ऋषिङ गाउँँपालिका–८ भैँसीकिलोका ६० वर्षीय ज्योतिमाया थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस

Logo