श्वेता खड्काको पहलमा निर्माणधिन सिन्धुपाल्चोकको माझीबस्तीमा सानदार सभा भवन निर्माण हुने

श्वेता खड्काको पहलमा निर्माणधिन सिन्धुपाल्चोकको माझीबस्तीमा सानदार सभा भवन निर्माण हुने


काठमाडौं ।

नायिका श्वेता खड्काद्वारा स्थापित श्वेताश्री फाउण्डेशनको अगुवाईमा सिन्धुपाल्चोकमा निर्माण भईरहेको एकिकृत माझी बस्तीमा शानदार सभा भवन बन्ने भएको छ । बहुउद्देश्यिय कार्यको लागि प्रयोग हुने सो भवन निर्माणमा अग्रवाल सेवा केन्द्रले साथ दिने भएको हो । सामुदायिक पुस्तक, सामुदायिक स्वास्थ्य केन्द्र, आयमुलक तालिम केन्द्र, बाल शिक्षण केन्द्र लगायत बैठक हलको रुपमा निर्माण हुन लागेको सो भवनको लागि अग्रवाल सेवा केन्द्रले ५० लाख आर्थिक सहयोग गर्ने भएको छ ।

‘एउटी नारीले यत्रो आँट र साहस गरेर बस्ती निर्माण गर्ने अगुवाई गरिरहेकी छिन् भने हामीले पनि यो कार्यमा हात्तेमालो किन नगर्ने भन्ने हाम्रो केन्द्रको सामुहिक निर्णय मार्फत सभा भवन निर्माणको कार्यमा अग्रसर भएका हौं’ सेवा केन्द्रका कोषाध्यक्ष पंकज जलानले भने । माझीहरुको लागि बन्दै गरेको नमुना बस्ती भित्र बन्ने अन्य संरचनाहरु पनि नमुना नै हुनु पर्छ भन्ने सोच अनुरुप सभा भवनको डिजाइन तयार गरिएको बताउँदै केन्द्रका प्राविधिक सल्लाहकार श्रवन बजाजले भने, ‘यो भवनको निर्माण पश्चात माझी बस्तीको सौदर्यमा थप निक्खरता आउनेछ।’

भवन निर्माणको लागि द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गर्दै फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बस्ती विकासको परियोजनाको लागि निजी क्षेत्रको तर्फबाट आएको सो सहयोग अहिले सम्मकै सबैभन्दा ठूलो सहयोग भएको बताईन् । अग्रवाल सेवा केन्द्रका अध्यक्ष तथा उद्योगपती राजेन्द्र खेतानको अग्रसरतामा सो सहयोग प्राप्त भएको बताउँदै नायिका खड्काले अग्रवाल सेवा केन्द्रलाई आफूले साझेदार संस्थाको रुपमा ग्रहण गर्न पाएकोमा खुशी ब्यक्त गरिन् ।

प्राविधिक डिजाईन अनुसार भवन निर्माणको लागि ७४ लाख अनुमानित लागत देखिए पनि उपभोक्ता समितिमार्फत सो भवनलाई ५० लाखभित्रै सम्पन्न गर्न सकिने बताउँदै श्वेताश्री फाउण्डेशनका ब्यवस्थापक यज्ञराज कार्कीले भने, ‘ठेकेदारलाई काम दियो भने लागत पनि बढी लाग्ने र कामको गुणस्तर पनि खस्किने भएकोले स्थानीय उपभोक्ता समितिमार्फत नै कम लागतमा गुणस्तरीय काम गर्ने योजना बनाएका हौं ।’ भर्खरै मात्र उपभोक्ता समितिलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ करोड ३० लाख र बाग्मती प्रदेशले १ करोड गरी जम्मा २ करोड ३० लाख प्रदान गरेको र सो मार्फत ३ करोड बराबरको सडक निर्माण र रेटेनिङ्ग वाल निर्माणको काम गरेको अनुभव सुनाउँदै कार्कीले थपे, ‘उपभोक्ता समितिले गरेको कामको गुणस्तर निक्कै राम्रो र लागत पनि कम देखिएको छ ।’

बस्ती बिकासको हरेक प्रकृयामा स्थानीय जनताको सहभागितालाई आत्मसाथ गरेको देखेर आफ्नो फाउण्डेशनसँग धेरै संघसंस्था जोडीन आएको बताउँदै कार्कीले हालसालै सनराईज बैंकबाट रु ५ लाख र रक्षा नेपालका मेनुका थापाबाट रु ५ लाख सहयोग प्राप्त गरी ढल निर्माणको काम समेत सुरु भईसकेको जानकारी दिए ।

माझी समुदायका युवाहरुमा देखिएको जोश, जाँगर र सकृयताले आफूलाई आकर्षण गरेको बताउँदै केन्द्रका अध्यक्ष राजेन्द्र खेतानले समुदायको प्रत्यक्ष सहगीता हुने परियोजना नै सफल र दिगो हुने भएकोले आफू पनि सो परियोजनामा जोडीन हौसिएको बताए । खेतानका अनुसार श्वेताश्री फाउण्डेशन र अग्रवाल सेवा केन्द्रबीच भएको द्विपक्षिय सम्झौता बमोजिम सो सामुदायिक सभा हलको निर्माण कार्य आगामी असोज महिना भित्र सम्पन्न हुनेछ ।

Logo