अन्य

“काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य हुँदैन”

15 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारिक रुपमा महिला सशक्तिकरण नहुने बताए ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह गरे । उनले भने ‘एउटा माथिल्लो नीति निर्माताको तहमा, अर्को कार्यान्वयनकर्ताको तहमा, अर्को आम नागरिकलाई आफ्ना हकका कुराहरूको जानकारी चाहिएको छ त्यसको उन्मुलन हो नी त्यसैले प्रधानमन्त्रीले शुख र समृद्धि मात्रै भनेर भएन नी, रातभरी सुत्दाखेरी त्यसै त रजश्वला हुँदा रगत गएर मान्छे कमजोर हुन्छ । उसलाई हेरविचारको केयरको आवश्यकता हुन्छ अरु आरामको आवश्यकता हुन्छ त्यो बेलामा रातभरी सर्पले ठुँग्ने हो की अर्को कोही अपराधी आएर हातपात गर्ने हो भनेर चिन्तामा राख्नुपर्ने कुरा बस्नुपर्ने कुरा सुरक्षा भन्दा अर्को भय सिर्जना गर्ने कुरा कुन हक हो ? त्यसैले ठुलोठुलो क्रान्तिकारी बहस गर्नुभन्दा साधारण व्यवहारीक कुराबाट समाजको रुपान्तरण र परिवर्तन तर्फ लाग्नुपर्छ ।’ सूचनाको हक भन्नेकुरा आफ्नो देश, आफ्नो अधिकार र आफ्नो कर्तव्यको बारेमा पनि थाहा पाउने हो । तर अधिकार खोज्नेले कर्तव्य विर्षने परिपाटीले वास्तविक सूचना नआउने गरेको उनले बताए ।

कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खडकाले संविधानमा महिला अधिकारहरू सुनिश्चित भएपनि कार्यान्वयनमा समस्या रहेको बताए । उनले महिलाका लागि सूचनाको हकका विषयमा सूचना आयोग बेखबर भएको आफूलाई लागेको बताए । उनले महिला सशक्तिकरणका लागि काठमाडौंमा हुने सेमिनारले देशभर हुने गरेका महिलाको समस्याको समाधान गर्न नसक्ने बताए ।

‘सूचना हाम्रो अधिकारः सुशासन र विकासको आधार’ भन्ने नारासहित राष्ट्रिय सूचना आयोगले सूचनाको हकका लागि महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरूले महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित: २८ माघ २०७६ १८:५८ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी