काठमाडौं ।
सरकारले सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ ।
दैनिक चार, पाँच सयको संख्यामा सञ्चालनमा आएका सार्वजनिक सवारी साधनलाई सडकमै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको र ती सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताए । सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताए । अत्यावश्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी सहजिकरण गरिएको उनले बताए ।
पछिल्लो समय ट्याक्सी व्यवसायीहरु बैंकको किस्ता तिर्न र जीवन यापन गर्न गाह्रो भएको भन्दै ट्याक्सी चलाउनु पर्ने माग गर्दै आएका छन् । सरकारले उनीहरुको मागलाई सम्बोधन नगरेको अवस्थामा पनि सडकमा ट्याक्सीहरु देखिन थालेपछि प्रहरीले सवारीसाधनको जाँचलाई कडाई गरी सञ्चालनमा आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड गरेको हो । सरकारले जारी लकडाउनलाई असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधनलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न दिएको छ । सार्वजनिक यातायातका साधन भने सञ्चालनका लागि पूर्णरुपमा रोक लगाइएको छ ।





























प्रतिक्रिया